Wednesday 31st December 2025

उसले मलाई मार्‍यो भने तपाईंहरू बोल्नुहुन्छ नि, हैन?


शोभा शर्मा -उनी जहाँ बसेकी थिइन्, त्यहाँ परिचयको कुनै दरकार थिएन। ठाउँले नै परिचय बोल्थ्यो। फेरि त्यहाँ आउने सबै यति हतारमा हुन्थे, कसैलाई नाम सोध्ने फुर्सद नै हुन्थेन।

उसले भने उनको नाम सोध्यो।

आफ्नो पनि बतायो। चिनापर्ची पछि धेरैबेर कुरा गर्‍यो।

निकैबेरपछि मात्र उनलाई छोयो, सुस्तरी!

उनी अचम्म परिन्।

यति बिस्तारै छुने लोग्ने मान्छे पनि हुन्छन्!

कान्छीमायाको १७ वर्षे शरीरमा यौवनाको जस्तो कोमलता बाँकी थिएन। कुतकुति थिएन, उत्सुकता पनि थिएन।

दिनहुँ हुने बलात्कार र यातनामा छट्पटाउँदा छट्पटाउँदै उनको शरीर कठोर भइसकेको थियो। मन मरिसकेको थियो।

त्यो रात उनी छक्क परिरहिन्।

ओमाङले छुँदा कान्छीमायाको कठोर शरीरले ‘अर्कै र केही सजिलो’ महशुस गर्‍यो।

भारतको पञ्जाब बस्ने ‌ओमाङ बिहान उठेर गयो।

फेरि कठोर शरीर लिएर कान्छीमाया पल्टिरहिन्। ओमाङ गएपछि धेरै आए, कान्छीमायाको कठोर शरी लुछेर गए।

सात दिनपछि ओमाङ फेरि आयो। यसपालि पनि उसलाई हतार थिएन। उनीहरूले निकैबेर गफ गरे।

ओमाङसँग भेट हुनुअघि कान्छीमाया कसैसँगै यसरी गफ गर्थिनन्, उनीसँग पनि कोही गफ गर्न जरूरी ठान्दैनथे।

ओमाङका कुराले उनको रूखो मन थोरै पग्लियो।

‘उसलाई मसँग कुरा गर्न मन हुन्थ्यो, मलाई पनि रमाइलो लाग्थ्यो,’ कान्छीमायाले सेतोपाटीसँग भनिन्।

ओमाङ धेरै पटक कान्छीमायाकहाँ आयो।

एकदिन भन्यो, ‘यहाँ नबस। म तिमीलाई लिएर जान्छु।’

मालिक्नीको डरले कान्छीमायाको मन गह्रौं भयो।

ऊसँग गएँ भने पनि आफ्नो गाउँ जान पाइने हो कि होइन? भन्ने दोधारमा परिन्।

एक दिन ओमाङले उनलाई सानो मोबाइल ल्याएर दियो।

मोबाइल आउनुअघि कान्छीमायाका लागि फुर्सद पट्यार लाग्दो हुन्थ्यो। बेफुर्सद अत्यास लाग्दो।

त्यो मोबाइलले उनको सपाट दैनिकीमा थोरै रङ भरिदियो।

फुर्सद हुँदा उनले ओमाङलाई फोन गर्न थालिन्।

मोबाइल साथी बन्यो। त्यो सानो ‘साथी’ लुकाउन उनलाई कम्ती हम्मे हुन्थेन। लुगाभित्र लुकाएर राख्थिन्, रातिराति ओमाङसँग सुस्तरी बोल्थिन्।

समयको कुनै अर्थ नहुने त्यो ठाउँमा उनी समय कुर्न थालेकी थिइन्- ओमाङसँग फोनमा बोल्ने समय र ऊ आउने दिन।

ओमाङ उनका प्रेमी थिएनन्। उनका श्रीमान थिएनन्। केवल एक ग्राहक थिए।

उनको श्रीमान त टीकाराम थिए। जसले उनलाई मुम्बईको कोठीमा बेचिदिए।

कान्छीमायाको गाँउ नुवाकोटको घ्याङडाँडामा टीकारामको घर थियो, पाँच मिनेट हिँडे पुगिने। कान्छीमाया र उनको परिवारबारे सबै कुरा उसलाई थाहा थियो।

कान्छीमायाले स्कुल जान पाइनन्, स्कुल गाउँबाट निकै टाढा थियो। कहिलेकाँही त त्यहाँ जाने बाटो नै हुन्नथ्यो।

स्कुल जाने उमेरमा बाख्रा, गाईवस्तु चराउन जान्थिन्। घरमा आमाबुबा, एक दाइ र तीन दिदी थिए।

गाउँमा कान्छीका दामली केटी कोही थिएनन्।

कम्मरमा गाग्री बोक्न सक्ने भएपछि केटीहरू ‘तल जान्छन्’ भन्थे।

कान्छीमायाले पनि त्यो सुनेकी थिइन् तर बुझेकी थिइनन्।

एक दिन गाउँका कुनै आफन्तको घरमा पूजा थियो। पूजा सकेर कान्छीमाया घर फर्किँदै थिइन्। बीच बाटोमै उनलाई कसैले च्याप्प हात समात्यो। आफूतिर तान्यो।

फर्केर हेरिन्- हात समात्ने टीकाराम थियो। उसको साथमा अरू केटा पनि थिए।

टीकारामले उनलाई बीच बाटोमै यसरी च्याप्प समातेको त्यो दोस्रोपटक थियो। पहिले त आमाबुबाले झगडा गरेर उनलाई फुत्काएका थिए।

यसपालि आमाबुवा आएनन्।

‘मन परेकी’ केटीलाई यसरी तानेर लैजानु उनको गाउँ र समुदायमा अपराध मानिन्नथ्यो।

टीकारामले पनि उनलाई तानेर आफ्नो घर लग्यो। सिन्दुर हाल्यो। आफ्नी श्रीमती बनायो।

त्यो बेला उनी भर्खर १३ वर्ष टेकेकी थिइन्।

कानुनका नजरमा १३ वर्षकी केटी बिहे गर्नु बालविवाह हुन्थ्यो। १६ वर्षमुनिका बालिकासँग यौनसम्पर्क राख्नु बलात्कार।

कानुनका यी दफा र धारा कान्छीमायालाई थाहा थिएन। आमाबुबा पनि अन्जान थिए। गाउँ बेपर्वाह थियो।

टीकारामलाई कानुनको कुनै बन्देज थिएन। उसले कान्छीमायालाई सात महिनासम्म बलात्कार गरिरह्यो। बालखा कान्छीमायासँग त्यो यातना सहनुको विकल्प थिएन।

सात महिनापछि टीकारामले अचानक उनलाई भन्यो- काठमाडौं घुमाउन लैजान्छु।

नुवाकोटको घ्याङडाँडाबाट काठमाडौं धेरै टाढा होइन। तै उनका लागि त्यो एकादेशको सहर थियो- सुनेको तर कहिल्यै नपुगेको।

टीकारामले तानेर लगेपछिका सात महिनामा उनी पहिलो पटक खुसी भइन्, काठमाडौं जाने सम्झेर।

केही समयमै एकादेशको सहर जाने दिन आयो। बिहान झिसमिसेमै उठेर तयार भइन्। तीन-चार घन्टा हिँडेर टीकाराम र उनी बजार पुगे। बजारबाट काठमाडौं जाने गाडी पाइन्थ्यो।

त्यही दिन कान्छीमायाले जिन्दगीमा पहिलो पटक नजिकबाट गाडी देखिन्। धेरै परबाट बाटोमा ढलकढलक हिँडेका स-साना गाडी देखेकी थिइन्। नजिकबाट हेर्दा त ती गाडी आफ्नो घरजत्रै हुँदा रै’छन्! उनलाई खुब रमाइलो लाग्यो।

उनले बजार पनि पहिलो पटक त्यही बेला देख्न पाइन्। बजारमा थरिथरिका पसल थिए, होटल थिए। के के थिए, के के!

एउटा होटलमा लगेर टीकारामले खाना खुवाए। त्यसपछि त्यही घरजत्रो गाडी चढे। कान्छीमायालाई त्यो सब सपनाजस्तो लागिरहेको थियो। उता गाडी चल्यो, यता उनको मनमा थोरै डर र धेरै उत्सुकताको दौड।

जसै गाडी ढलकढलक अघि बढ्यो, सडक किनाराका रूख, घर, पारिपट्टिको गाउँ, डाँडाकाडाँ फननन्न घुम्दै, छुट्दै गए। उनको मन रोमान्चित भयो।

पाँच-छ घन्टापछि उनीहरू काठमाडौं पुगे। काठमाडौंमा त कति धेरै गाडी, कति धेरै मानिस, कति धेरै घर, कति धेरै आवाज! उनलाई लाग्यो काठमाडौ त संसार नै रहेछ।

टीकारामले उनलाई होटलमा ल्याएर राखे। भोलिपल्ट बजार घुमाए। कता-कता लगे। कान्छीमायाले मेसो पाइनन्।

एक दिन उनले होटलमै एक जना मान्छे लिएर आए। कान्छा काका भन्दै चिनाए।

काकासँग भेटेपछि टीकारामले कान्छीमायालाई भने- अब योभन्दा ठूलो सहर घुम्न जानुपर्छ। त्यहाँ काकाको ठूलो होटल छ। त्यहाँ त ‘आइमाई’ ले पनि काम गर्न पाउँछन्, कामको पैसा पाउँछन्।

काम गरेको पैसा पाउने कुराले उनी रोमान्चित भइन्। टीकारामबाट मुक्तिको आशाले पनि उनलाई लोभ्यायो।

अनि एक दिन काका ससुरासँग उनी झन् ठूलो सहर जान, अझै ठूलो गाडीमा बसिन्। छिट्टै भेट्न आउँछु भनेर टीकाराम फर्किए।

धेरै दिन लगाएर काका ससुराले उनलाई मुम्बई पुर्‍याए। त्यो लामो पट्यार लाग्दो यात्राका धेरै कुरा याद छैनन्। कसरी, कहाँकहाँ हुँदै मुम्बई पुर्‍याए सम्झना छैन।

काका ससुराको होटल पुगेपछि भने सुविस्तै भयो- जम्मा दुई दिन!

तेस्रो दिन राधा भन्ने मोटी ‘आइमाई’ले नयाँ लुगा ल्याएर लगाउन दिइन्। कोरीबाटी र श्रृंगार गरिदिइन्। अनि त्यो ठाउँमा लगिन् जहाँ पर्दाले बारिएका धेरै खाट थिए।

एउटा खाट उनको नाममा थियो।

कान्छीमायाले उनलाई त्यहाँ किन ल्याएको कुनै मेसो पाइरहेकी थिइनन्।

राधाले निर्देशन दिइन्- यहाँ मान्छे आउँछन् तिनीहरूलाई खुसी पार्नु।

केहीबेरमा एक जना आएर उनलाई झ्याम्मै आक्रमण गरे। उनी डराइन्। मानिनन्।

त्यसबेला पो उनलाई निकै नमज्जा लाग्यो। आफूलाई टीकारामले यस्तो गर्न पठाएको रहेछ भन्ने उनले थाहा पाइन्। बेस्मारी डर लाग्यो। पूरै शरीर कामिरहेको थियो।

त्यही बेला राधा आइन् र थप्पड लगाइन्।

‘जे गर्न मलाई किनेका थिए, मैले नमानेपछि कुटेका रैछन्,’ उनले त्यो पहिलो दिन सम्झिइन्।

त्यस्ता कुटाइ‍ उनले धेरै नै खानुपर्‍यो। दिन बित्दै जाँदा कुटपिट सामान्यजस्तै भए। बिस्तारै लोग्ने मान्छे आएर आफ्नो ज्यान गिजोलेको पनि उनले सहनुपर्‍यो। चुपचाप लाग्नुपर्‍यो। उनका आँशु पनि थामिन थाले।

धेरै समयपछि कान्छीमायाले उनलाई त्यहाँ पुर्‍याउने ‘काका ससुरा’लाई देखिन्।

गएर भनिन्- म घर जान्छु। जहाँबाट ल्याएको त्यहीँ लैजानू।

काका ससुराले सुनेनन्। राधा आएर कान्छीमायालाई घिसारिन्। पिटिन्।

कान्छीमायाले बिस्तारै थाहा पाइन्, राधा तिनै काका ससुराकी कान्छी पत्नी पो रहिछन्!

बल्ल कान्छीमायालाई काका ससुराको सबै राज थाहा भयो- टीकारामले उनलाई १३ वर्षमै घिस्याएर किन बिहे गर्‍यो, किन बिहे गरेको सात महिनामा काठमाडौं ल्यायो, किन काकासँग भेट गरायो।

पर्दा सबै खुल्यो। उनी छ्याङ्ग भइन्।

दिमाग पो छ्याङ्ग भयो, शरीर त बन्धकै थियो। उनले गर्न सक्ने केही थिएन।

कोठीमा काका सुसरालाई देखेको केही दिनपछि उनलाई ‘अन्तै’ जाने भनेर हिँडाए।

पछि थाहा पाइन्- दिल्लीको अर्को कोठीमा ल्याइएको रैछ।

ठाउँ नयाँ थियो, काम उस्तै। राक्षसजस्ता लाग्ने मान्छे!

एउटा कुरा फरक पाइन्, त्यो कोठीमा रसुवाको बोलङतिरका धेरै केटी थिए। नुवाकोटकै पनि एक/दुई जना रहेछन्।

एउटै गाँउठाउँमा ‘दिदीबहिनी’ भए पनि उनीहरूले आँत मर्ने गरी कुरा गर्न पाउँथेनन्।

‘त्यहाँ मनपेट खोल्ने गरी गफ गर्न कहाँ पाउँथ्यो र!,’ उनले भनिन्, ‘दिउँसो ११ बजेदेखि मध्यरातसम्म केटा मान्छे आउँथे।’

उनीहरूले कुरा गर्न समय निकाल्न थाले। नुवाकोटमै घर भएकी सुनमाया पनि थिइन् त्यहाँ। उनीसँग कान्छीमायाको दोस्ती बढ्यो। उनीहरू लुकीलुकी सुखदु:ख साट्थे। घरको कुरा गर्थे। त्यहाँबाट भाग्ने कुरा गर्थे।

नभन्दै एकदिन परिस्थिति यस्तो बन्यो, सुनमाया त्यहाँबाट उम्किइन्। त्यो दिन पुलिसले उनीहरूको कोठीमा छापा मार्‍यो। जब पुलिस आउँथ्यो राधा र उनका मतियारहरूले केटीहरूलाई लुक्न पठाउँथे।

ग्राहक पनि लुक्थे। लुक्न भनेर काठको बक्सा बनाइएको थियो। पुलिस आएको थाहा हुनेबित्तिकै सबैजना त्यो बक्साभित्र छिर्नुपर्थ्यो।

त्यो दिन सुनमाया भने कोठीको काउन्टरमै थिइन्। भाग्दाभाग्दै प्रहरीले पक्रियो। नेपालबाट त्यहाँ ल्याएको भनेपछि प्रहरीले नेपाल फर्काइदियो।

सुनमाया गएपछि कान्छीमाया एक्लै परिन्।

धेरै केटी भएको र लोग्ने मान्छे आउने त्यो घरमा उनले एक्लै निस्सासिँदै धेरै वर्ष बिताइन्।

कुरा गर्ने र मन खोल्ने मान्छे नभएपछि जतिसुकै ठूलो भिडको के अर्थ!

दिल्लीको त्यही कोठीमा एक्लोपनले खाइरहेको बेला कान्छीमायाको जीवनमा ओमाङ आएको थियो। जसले उनलाई सुन्न चाह्यो। जसले आफ्नो मनको कुरा सुनायो। उनीसँग धेरै कुरा गर्‍यो।

ओमाङ पनि ग्राहक नै थियो। तर ऊ मान्छे थियो, राक्षसजस्तो थिएन।

ऊ आएपछि त हो कान्छीमायाले धेरै वर्षपछि आफू मानिस हुनुको, युवती हुनुको अस्तित्वबोध गरेकी।

झन्डै साढे तीन वर्ष ओमाङ उनीकहाँ आयो। नआएको बेला पनि मोबाइलमा फोन गर्‍यो, कुरा गर्‍यो।

उसका कुराले कान्छीको मनको एउटा कुनालाई सिञ्चित गर्थ्यो।

२०७० साल जेठको अन्त्यतिर एक दिन एउटा भर्खरको लोग्ने मानिस उनको खाट घेरेको पर्दाभित्र लुसुक्क छिर्‍यो। मंगोल अनुहारको त्यो केटा आफ्नो गाउँलेजस्तो देखिन्थ्यो।

उनले आफैलाई तुरून्तै सम्झाइन्- कोठीमा आउने कोही मान्छे आफ्नो हुँदैन!

अचम्म, त्यो मान्छेले उनलाई झम्टिएन, ऊ त ओमाङले झैं गफ गर्न पो थाल्यो।

‘तिम्रो घर कहाँ हो?’

नेपालीमा यस्तो सोध्दा उनी झस्किइन्।

त्यो मान्छेको अनुहारमा उनका आँखा टक्क अडिए।

सुस्तरी भनिन्- नुवाकोट घ्याङडाँडा!

‘ओहो, मेरो पनि त्यहीँ पारि त हो!’

कान्छीमायाको छाती ढक्क फुल्यो। मुटु ढुकढुक गर्‍यो। उनले आफ्नो गाउँ सम्झिन्। आफू फुर्किँदै खेलेको आँगन सम्झिइन्। खेतपाखा सम्झिन्। आफूले चराउने गाईबाख्रा सम्झिइन्। सबभन्दा बढी बाआमा सम्झिइन्। कस्ता भए होलान् उनीहरू? कस्ता भए होला दाइदिदी! कस्तो भयो होला गाउँ?

पहिलो पटक देखेको गाडीको झ्यालबाट छुटेका सबै दृश्य उनको आँखामा आए। आँखा पूरै भरिए। नजिकैको त्यो मान्छेको अनुहार धमिलो भयो, तै उनले उसलाई एकनास हेरिरहिन्।

त्यो मान्छेले भन्यो- म यहाँ गाउँकै दिदिबहिनीहरू छन् भन्ने थाहा पाएर बुझ्न आएको।

ऊ धेरैबेर कान्छीमायासँग बस्यो। धेरै कुरा सोध्यो। कान्छीमाया धेरै बोल्न सकिनन्। कति प्रश्नका उत्तर उनका आँशुले नै दिए।

जाने बेला त्यो मान्छेले भन्यो- यहाँ बस्नुहुन्न, निस्कनुपर्छ। म फेरि आउँछु। कान्छीमायाको मन भक्कानियो।

ओमाङले दिएको मोबाइल सम्झिन्। भनिन्, ‘मलाई तपाईंको फोन नम्बर दिनू।’

उसले कागजको टुक्रोमा नम्बर लेखिदियो।

कान्छीमायाले फोनमा अंक भन्न र डायल गर्न सिकिसकेकी थिइन्।

राधा र उनका ग्राहकले दिएको यातनाले छिनेको उनको आत्मविश्वास त्यो दिन थोरै बौरियो।

‍मनमनै भागेर जाने योजना बनाउन थालिन्। ग्राहकहरूले दिएको ‘टिप्स’को एक्कासि माया लाग्न थाल्यो। जतनले जोगाउन थालिन्।

कोठीमा सामान बेच्न व्यापारी आउँथे। कुर्ता सुरूवाल, लिपिष्टिक, पाउडर ल्याउँथे। टिप्स आएको पैसाले केटीहरू आफूलाई चाहिएका सामान किन्थे। कान्छीमायाले यसपालि सर्ट-पाइन्ट किनिन्। उनीसँग १५ सयजति जम्मा भएको थियो। आधा त्यसमै खर्च गरिन्। आधा घर फर्किँदा चाहिन्छ भनेर राखिन्।

सबै जोहो गरिसकेपछि उनले केही दिनअघि नम्बर दिएर गएको मान्छेलाई फोन गरिन्- म भाग्न तयार छु।

सबै योजना फोनमै बन्यो।

राति बास बस्ने गरी आएका ग्राहक कोठीबाट बिहान झिसमिसै निस्कन्थे।

एक दिन बिहानै उनले सर्ट-पाइन्ट लगाइन्। झिसमिसै तीन-चार बजेतिर ग्राहकसँगै निस्किइन्। कसैले चालै पाएन।

बाहिर सडकमा ती मानिस कुरिरहेका थिए।

कान्छीमायाले ओमाङले दिएको फोनको गुन सम्झिन्।

सायद त्यही फोन दिन आएका थिए ओमाङ उनको जीवनमा जसले उनलाई नयाँ मान्छेसँग जोड्यो, जसरी पुलले खोलाको एउटा किनारलाई अर्कोसँग जोड्छ।

यो बीचमा एक दिन ओमाङ फेरि आएको थियो। त्यो दिन पनि उनीहरूले धेरै गफ गरे। तर यो ठाउँ छोडेर जाने मनको कुरा उनले ओमाङलाई भनिनन्।

त्यही उनीहरूको अन्तिम भेट भयो। र अन्तिम बातचित।

कोठीबाट निस्किएकी कान्छीमायालाई ती नयाँ मान्छेले नेपाली राजदूतावास पुर्‍याए। त्यहाँबाट काठमाडौंस्थित ल्याएर एउटा संस्थामा राखे। गाउँमा सम्पर्क गरेर कान्छीमायाका दाइलाई बोलाए। घर छाडेको सात वर्षपछि दाइसँग कान्छीमायाको भेट भयो। दुवै बोल्न सकेनन्। दाजुका आँखा रसाएको उनले देखिन्। उनका आँशु पनि कसरी थामिन्थे र?

धेरै बेरपछि दाइले सोधे- मसँग जान्छेऊ कि यहीँ बस्छेऊ?

‘म घर जाने,’ दाइको बोली भुइँमा झर्न नपाउँदै उनले भनिन्।

उनीहरू गाउँ जान गाडी चढे। गाडीको झ्यालबाट बाहिरको दृष्य फेरि फननन्न घुम्यो, जसरी सात वर्षअघि घुमेको थियो। सडक वारिपारिका रूख, घर उसैगरि पछाडि छुट्दै गए। फरक यति थियो- त्यसबेला उनको गाउँ छुट्दै थियो, यसपालि उनको विगत।

साँझपख एउटा बजारको बसपार्कमा झरेर उनी दाइसँग गाउँतिर लागिन्। गाउँ पुग्न अझै ४-५ घन्टा हिँड्नु पर्थ्यो। त्यो चार-पाँच घन्टा पनि वर्षजति लामो लाग्यो। साँझ छिप्पिँदै गयो, घर आउँदैन।

आमाबा भेट्न कति हतार थियो। घरभित्र छिर्न कति हतार थियो। निस्सासिने सपनाबाट ब्युँझिएर विपनामा पुग्न उनलाई कति हतार थियो।

मध्यरातमा उनीहरू घर पुगे। अँध्यारोमै उनले परबाट आफ्नो घरको छानो देखिन्। मन भरिएर आयो। मुटुको चाल विस्तारै बढ्यो। लामो सास फेरिन्।

आमाबा सुतिसकेका रहेछन्। दाइले बाहिरैबाट आवाज दिए। आमाले ढोका खोलिन्। टुकीको मधुरो उज्यालोमा आमाको अनुहार देखेर कान्छीमायाको मुटु जोडजोडले धड्कियो।

एकछिन त उनले आमा पनि भन्न सकिनन्। न आमाले छोरीलाई बोलाउन सकिन्। दुवैले एकअर्कालाई हेरिरहे। ती आँखा कतिबेर टिक्न सक्थे र, रसाइहाले। उनी आमाको नजिकै गइन्। आमाको शरीरको गन्ध उनको नाकमा ठोस्सियो। झन् जोडले रून आयो। आमाको मायाको तापले उनका दुःख आँशु बनेर झरे।

यतिन्जेल बा पनि उठेर आइसकेका थिए। उनी पनि आमाछोरीसँगै रोए।

आमा खाना बनाउन लागिन्। बा छोरीको छेउमा बसे। साग र भात खाएपछि कान्छीमाया त्यो रात आमासँगै सुतिन्। सात वर्षपछि आमासँग सात वर्षे नानीझैं लपक्क टाँसिएर सुतिन्। फेरि उनी आमाकी भइन्, बाकी भइन्। दाइकी भइन्। गाउँकी भइन्।

घरबारीको काममा मन लगाइन्।

दिल्लीको कोठीबाट काठमाडौंसम्म ल्याउने ती ‘नयाँ मान्छे’ बेलाबेला भेट्न आइरहन्थे। उनी पनि जान्थिन्। कान्छीमाया फर्केर आएको चार-पाँच महिना पछिको कुरा हो, एकदिन ती मान्छेले सोधे- मसँगै बिहे गरेर जान्छ्यौ त?

उनले मनमनै कामना गरेकै यही थियो। सुन्न चाहेकै यही थियो। कुरेकै यही थियो।

‘हुन्छ’ भनिन्। उनीहरूले बिहे गरे।

‘उसले मलाई त्यस्तो ठाउँबाट बचाएर ल्याएको हो। ऊ मनको मात्र राम्रो होइन, बानी व्यहोरा पनि राम्रो छ,’ उनले भनिन्, ‘मलाई उसको सबै कुरा मनपर्छ।’

उनीमात्रै होइन, उनको परिवार पनि राम्रो रहेछ। कान्छीमायाको विगत थाहा हुँदाहुँदै पनि पूरा परिवारले नै कान्छीलाई खुसीखुसी घरमा स्वागत गर्‍यो।

‘परिवारले मलाई कहिल्यै हेलाहोचो गरेको छैन,’ उनले भनिन्।

गाँउ फर्केपछि उनले सुनबहादुर भन्ने मानिसको चर्चा सुनिन्। कतिले उसलाई राम्रै मानिस भन्थे, कतिले बदमास। सुनबहादुर को रै’छ भन्ने उनलाई लागिरह्यो।

एकदिन सुनबहादुर उनको गाँउमा आयो। उनका श्रीमानले कान्छीमायालाई बोलाएर परैबाट देखाइदिए- ऊ… सुनबहादुर।

उनी खङरङ्ग भइन्।

उनलाई मुम्बई पुर्‍याउने टीकारामका काका नै सुनबहादुर रै’छ।

‘यही त हो नि मलाई बेच्ने,’ उनले एक सासमा श्रीमानसँग भनिन्।

‘पख, पुलिसमा रिपोर्ट गर्नुपर्छ,’ उनले भने।

श्रीमानसँग गएर उनले टीकाराम, उनका दाजु अवतार, सुनबहादुर, राधा, कोठीमा राधासँग काम गर्ने  पासाङ र कुमारलाई कारबाही गर्न भन्दै प्रहरीमा जाहेरी दिइन्।

जाहेरी दिएको थाहा पाएपछि सुनबहादुरले र उनका मानिसले धम्क्याउन सुरू गरे।

‘काट्ने र मार्ने भन्दै धम्की दिए,’ उनले भनिन्।

धेरै समयपछि प्रहरीले उनीहरूविरूद्ध अदालतमा मुद्दा लग्यो।

यता सुनबहादुरका मानिसहरूले कान्छीमाया र उनका श्रीमानलाई मार्ने धम्की दिन थाले। गाउँमा बाटो छेक्न थाले।

गाउँबाट निस्किसक्नु भएन। आफ्नै गाउँमा नजरबन्द परे।

जाहेरी दिएको केही महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुनबहादुरलाई पक्राउ गर्‍यो। मुद्दा अदालतमा पुग्यो।

२०७२ सालमा अदालतले बकपत्रका लागि आउन कान्छीमायालाई खबर पठायो। दुवै जना गाँउबाट निस्किए झनै डर मर्नु हुन्थ्यो। कान्छीमाया एक्लै जाने निधो भयो।

बिहान झिसमिसेमै उनी सदरमुकाम हिँडिन्। ओरालो झरेर अलि तल पुग्दानपुग्दै केही केटाहरूले उनको बाटो छेके।

‘कहाँ जान लागेको?’ उनीहरूले सोधे। केही भन्न नपाउँदै उनलाई जबरजस्ती उठाए। एउटा घरमा लगेर दिनभरि थुनेर राखे।

उनीहरू सुनबहादुरका मान्छे थिए। अदालत गएर साँचो साँचो बोलिस् भने फर्केर आउँदा मार्दिन्छौं भनेर कान्छीमायालाई धम्क्याए।

‘मेरी छोरी सानै थिई। उसलाई सम्झेर मलाई बेस्सरी डर लाग्यो। बुढालाई पनि मारिदिए भने भन्ठानेर झनै डर लाग्यो,’ उनले भनिन्, ‘मैले उनीहरूलाई जे भन्छौ मान्छु भनेँ।’

उनीहरूले कान्छीमायालाई अदालत गएर ‘सुनबहादुरले सुन दिन्छु भनेर दिएन, त्यसैको झोंकमा मैले मुद्दा लगाएकी हुँ’ भन्ने बयान दिने वाचा गराए। साँझ ५ बजेतिर उनलाई छोडिदिए। तीन दिनपछि कान्छीमाया अदालत गइन् र सुनबहादुरका मानिसहरूले सिकाएझैं बयान दिइन्।

उनी धरौटीमा छुटे।

सुनबहादुर कांग्रेसका स्थानीय नेता थिए। २०७४ सालको स्थानीय चुनावमा दुप्चेश्वर गाँउपालिका वडा नम्बर-१मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बने। चुनाव जितेर वडाध्यक्ष बने।

ऊ त निकै ठूलो पो मान्छे रै’छ भनेर कान्छीमाया डराइन्। गाउँभरि सुनबहादुरका मानिसको दबदबा थियो। उनी गाउँमा बस्न सक्ने वातावरण भएन। कान्छीमायाका दुई सन्तान जन्मिसकेका थिए। उनका श्रीमान र छोरी गाँउमै बसे। भर्खरै जन्मिएको छोरा लिएर काठमाडौंमा एउटा संस्थाको संरक्षणमा बसिन्।

२०७४ साल पुसमा सुनबहादुरलाई प्रहरीले पक्रियो। यसपालि उनलाई मानव बेचविखनसम्बन्धी अर्को पुरानो फैसलामा दोषी भएका कारण पक्रिएको थियो। त्यही साल कान्छीमायाको मुद्दामा जिल्ला अदालत नुवाकोटले सुनबहादुरलाई ३७ वर्ष जेल सजाय सुनायो। टीकारामलाई ३० वर्ष।

जिल्ला अदालतले सुनबहादुरकी कान्छी पत्नी राधा फरार रहेको भन्दै उनको मुद्दा अदालतले मुल्तबीमा राख्यो। फैसला सुनेपछि कान्छीमायाको मन ढुक्क भयो।

त्यो दिन कस्तो लाग्यो?

‘सबै कुरा ठीकठाक भएकोजस्तो लागेको थियो,’ उनले भनिन्।

हुन त त्यो बेला अदालतले उनलाई पनि सजाय सुनायो। कुरा फेरेर झुठो बयान दिएको भन्दै अदालतले कान्छीमायालाई पनि तीन महिना जेल सुनाएको थियो।

‘धन्न अदालतले मैले दिएको बयान मानेन। मैले ढाँटेको भनेर मलाई जेल तोकेछ। मैले कस्तो अवस्थामा ढाँट्नु परेको थियो, अदालतलाई थाहा छैन,’ उनले भनिन्।

यता सुनबहादुरले जिल्ला अदालतको फैसलाविरूद्ध जेलबाटै पुनरावेदन दिए। कान्छीमाया काठमाडौंबाट फर्किएर घर गइन्। सुनबहादुरका मानिसले निगरानी त गरिरहन्थे तर ‘मुखिया’ नै नभएपछि उति सारो डर थिएन।

डेढ वर्ष शान्तिसँग बित्यो।

एक महिनाअघि साउन १ गते उनले एउटा खबर सुनिन्- सुनबहादुर छुट्यो रे।

उनको हंसले ठाउँ छोड्यो।

पाटन उच्च अदालतले सुनबहादुरलाई निर्दोष भन्दै छाडिदिएको थियो। टीकारामलाई भने दोषी नै करार गरेको थियो। झुठो बयानमा जिल्लाले कान्छीमायालाई तोकेको सजाय भने उच्च अदालतले स्थगित गरिदिएको छ।

आफूलाई सुनबहादुरको जिम्मा लगाउने टीकाराम थुनिने, अनि सुनबहादुरचैँ छुट्ने कसरी भयो? कान्छीमायाको मनले भन्यो- ममाथि न्याय भएन।

उनले सोचिन्- न्यायाधीशले कस्ता आँखाले त्यो मुद्दा हेरे? कसरी यस्तो फैसला गरे?

उनले मुम्बई र दिल्लीका कोठीमा आफूले पाएको यातना सम्झिइन्। सुनबहादुरकी श्रीमती राधाले आफूमाथि गरेको अत्याचार सम्झिइन्। अझै पनि कान्छीमाया कहिलेकाहीँ आफू दिल्लीको त्यही कोठीमा भएको सपना देख्छिन्। धेरै केटा मान्छेहरू सलबलाएको देख्छिन्। कैंयन् पटक उनलाई ऐंठन हुन्छ। ब्युँझिन्छिन् र आफूले भोगेका कहर सम्झेर धेरै बेर अतासिरहन्छिन्। श्रीमान् छेउमै देखेपछि भने मन सम्हालिन्छ। उच्च अदालत पाटनको फैसला सम्झ्यो भने सम्हालिएको उनको मन फेरि अतालिन्छ।

‘कहिलेकाहीँ कस्तो नर्कमा म पुगेछु भन्ने सम्झेर रून मन लाग्छ, जिन्दगी कस्तो पो भयो है मेरो भनेजस्तो लाग्छ,’ उनले भनिन्, ‘सुनबहादुर जेलमै भएको भए मन बुझाउन सजिलो त हुन्थ्यो।’

सुनबहादुरलाई उच्च अदालतले छाडेपछि कान्छीमायाले एउटा कुरा भने निधो गरेकी छन्- अब उनी डराउने छैनन्। सुनबहादुरले आफूलाई कसरी बेचेका थिए भनेर बोल्नेछिन्।

‘उसले त हामीलाई बस्नखान दिने छैन, अहिले पनि तिमीहरूलाई मार्छ त्यसले भन्ने कुरा सुन्छौं,’ उनले भनिन् ‘तर अब म डराउन्न। जहाँ गएर भए पनि म बोल्ने छु।’

उच्च अदालत पाटनले सुनबहादुरलाई दिएको सफाइविरूद्ध उच्च सराकरी वकिल कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।

‘उच्च अदालतले सुनबहादुरलाई दिएको सफाइको पूर्णपाठ आउनेबित्तिकै हामी सर्वोच्चमा त्यसविरूद्ध पुनरावेदन दिन्छौं,’ उच्च अदालत पाटनका प्रमुख सहमहान्यायाधीवक्ता लोकराज पराजुलीले भने।

कान्छीमाया सर्वोच्चमा कहिले मुद्दा जान्छ र आफूले न्याय पाउँछु भनेर पर्खेकी छन्।

‘अब त सर्वोच्चमा गएर पनि साँचो बोल्छु, डराउन्न,’ उनले भनिन्, ‘उसले मलाई मारे पनि मारोस्, तर म डराउन्न।’

सुनबहादुरले उनलाई केही गरे ऊ अपराधी भएको प्रमाणित हुन्छ भन्ने कान्छीमायालाई लागेको छ।

उनले हामीतिर हेर्दै सोधिन्, ‘उसले मलाई मार्‍यो भने तपाईंहरू बोल्नुहुन्छ नि, हैन?’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...