नेपाल सरकारका गृहमन्त्री सुधन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा गरेपछि उनले “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन ।” भन्दै फेसबुक स्ट्याटस लेखेका छन् । उनले सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका विवादस्पाद व्यवसायी दिपक भट्टको ‘व्यवसायिक साझेदार’ भएको आरोप लागेपछि गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा दिए लगत्तै उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्:
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिकस्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु।
अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदी हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ। कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
छोटो समय गृहमन्त्री हुँदा के के गरे त उनले ?
गृहमन्त्री नियुक्त भएलगत्तै आफूलाई आक्रमकरुपमा प्रस्तुत गरेका गुरूङले गृहमन्त्रीको कार्यभार सम्हालेको भोलिपल्ट २०८२ चैत १४ गते नै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न आदेश दिए ।
जेनजी आन्दोलनमा भएको जनधनको क्षति छानबिन गर्न गठित छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा ओली र लेखकलाई दोषी देखाइएको थियो ।
प्रतिवेदनमा ओली र लेखकसहित धेरैलाई कारवाहीको सिफारिस गरिएको थियो । सोही प्रतिवेदन तयार गर्ने सिलसिलामा गृहमन्त्रीको हैसियतमा गुरुङले ओली र लेखकलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
“प्रमिस इज अ प्रमिसः कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,” ओली र लेखक पक्राउ परेपछि जेनजी सहिदलाई पशुपतिनाथमा अन्तिम श्रदाञ्जली दिँदाको फोटो राख्दै गुरुङले लेखेका थिए ।
ओली र लेखक पक्राउ परेको भोलिपल्ट गुरुङको निर्देशमा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । खड्कालाई पक्राउ गर्न लिइएको पक्राउ पुर्जी समेत उनले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए ।
“पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ,” गुरुङले फेसबुक पेजमा लेखेका थिए ।
त्यसपछि गुरुङले फेसबुक पेजमा ‘काउन्ट डाउन’ पोस्ट गर्न थालेका थिए । जतिजना पक्राउ पर्छन् फेसबुक पेजमा संख्या बढाउँदै लगेका उनले १० सम्म पुर्याइ छोडेको देखिन्छ । ‘काउन्ट डाउन’ पोस्ट गर्दा धेरै आलोचना भएपछि उनले पछि राख्न छोडेका थिए ।
गुरुङको निर्देशनमा व्यवसायी शंकरलाल अग्रवाल र दिपक भट्टलाई सीआईबीले पक्राउ गरेको थियो । सीआईबीले खड्कालाई झै अग्रवाल र भट्टलाई सम्पत्ति छानबिनको लागि सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।
गुरुङ गृहमन्त्रीमा रहँदा काठमाडौं उपत्यकाबाट मात्र करिब तीनसय जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यीमध्ये एक सय जनाजति विगतमा गुण्डागर्दी पृष्ठभूमि भएका युवाहरू थिए । पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केहीमाथि अझै अनुसन्धान चलिरहेको छ ।
गुरुङको निर्देशनमा केही सरकारी कार्यालयमा ‘स्विप अपरेसन’ चलाइएको थियो । यसको उद्देश्य सेवाग्राहीलाई दुःख दिने विचौलिया वा दलालहरूलाई पक्राउ गर्नुथियो । सेवाग्राहीको ठूलो भीड लाग्ने मालपोत, यातायात लगायतका सरकारी कार्यालयमा स्विप अपरेसन चलाउँदा थुप्रैलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको थियो ।
गृहमन्त्री भएलगत्तै गुरुङले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका थिए । विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राख्न पाउने व्यवस्था उनले मिलाएका थिए ।
गत चैत १९ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्रीका रुपमा गुरुङले तीनवटा अध्यादेश पेस गरेका थिए ।
‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ उनले प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।
आफ्नो छोटो कार्यकालमा गृह मातहतका विभिन्न कार्यालयमा छड्के गर्न समेत उनले भ्याएका थिए ।
उनी दुईपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) पुगेका थिए । विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले छड्केका क्रममा बताएका थिए ।
टीआइएमा सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन सम्बन्धित अधिकारीहरुलाई उनले निर्देशन दिएका थिए ।
बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि जेनजी सहिदहरुको सम्झनामा आयोजित द्विप प्रज्वलन कार्यक्रममा पनि उनी सहभागी बनेका थिए । फेवाताल जग्गा प्रकरणमा आफ्नो जोडिएर आलोचना भएपछि उनले स्पष्टीकरण दिनु परेको थियो ।
फेवातालको जग्गा अतिक्रमण गरेको सूचीमा गुरुङ पनि रहेका मिडियामा आएपछि उनले स्पष्टीकरण दिनुपरेको थियो । उनले उक्त जग्गा आफ्नो नभई अरुको भाडामा लिएको बताएका थिए । आफूलाई जग्गाधनीले झुक्याएर भाडामा दिएको र यसका कानुनी उपचार खोज्ने उनले जनाएका थिए ।
“हामीलाई पर्न गएको यो अन्याय र ठगीविरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभइ अगाडि बढ्ने व्यहोरा सबैमा अवगत गराउन चाहन्छु,” फेवाताल जग्गा प्रकरणमा गुरुङले भनेका थिए ।
गृहमन्त्री हुँदा गुरुङले काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गरेका थिए । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे उनले जानकारी लिएका थिए ।
गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका थिए । पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न नदिने दाबी उनले गरेका थिए ।
गृहमन्त्रीका रुपमा नेपालको स्वीट्जरल्यान्डकी राजदूतसँगको भेटवार्ता उनले स्वीस बैंकमा नेपालीले पैसा राखे वा नराखेको सम्बन्धमा छलफल गरेका थिए । अवैधरूपमा आर्जन गरेको पैसा नेपालीहरूले स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न उनले स्वीट्जरल्याण्डकी राजदूतलाई आग्रह गरेका थिए ।
स्थलगत निरीक्षण तथा अवलोकनका क्रममा गुरुङ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय पनि पुगेका थिए । निरीक्षणको क्रममा गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याड स्टेसन राख्न निर्देशन दिएका थिए ।
सोही क्रममा गुरुङले चितवनको घोप्टेभिरको अवलोकन गरेका थिए । हरेक वर्ष घोप्टेभिरमा बाढी जाँदा यात्रुहरूले समस्या झेल्नुपरेको भन्दै चितवनका सिडिओ गणेश अर्यालले समस्या राखेपछि गुरुङले उक्त जोखिम प्रभावित क्षेत्रलाई तत्काल समाधान गर्न निर्देशन दिएका थिए ।
अवलोकनका क्रममा गुरुङ चितवनको पहिरोबाट प्रभावित सडक क्षेत्र तुइन खोला पुगेका थिए ।
हरेक वर्ष मनसुनको समयमा तुइनखोलासँगै रहेको भिरमा पहिरो खस्दा यात्रुहरु घाइते हुने र घण्टौँ यातयात प्रभावित हुने भएको भन्दै स्थानीयले गुरुङलाई गुनासो गरेका थिए ।
त्यसपछि उनले सडक बिभागका अधिकारी र चितवनका सिडिओ गणेश अर्याललाई तुरुन्त उक्त पहिरो हटाउन निर्देशन दिएका थिए । जिल्ला भ्रमणका क्रममा गुरुङ नवलपुर पुगेका थिए । दूषित पानीको कारण नवलपुरमा गैडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले गुरुङलाई ध्यानाकर्षण गराएका थिए ।
गुरुङ नवपुरमा पुग्दा त्यहाँ सशस्त्र प्रहरीले उनलाई सलामी दिन खोज्दा रोकेका थिए । त्यतिबेला गुरुङले पिर्के सलामी नलिने जनाएका थिए । गृहमन्त्री हुँदा गुरुङसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा गुरुङले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउँदै नेपालको भुमिमा चीन विरोधी गतिविधिहरु हुन नदिन नेपाल सजग रहेको बताएका थिए ।
भेटको क्रममा गरुङले नेपालमा भिसा नवीकरण नगरी (ओभरस्टे गर्ने) अवैध रूपमा बसेका चिनियाँ नागरिकहरूलाई निष्काशनको कार्य अगाडि बढाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि अनुरोध गरेका थिए । ।
नेपालमा चिनियाँ सहयोगबाट सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि गुरुङले चिनियाँ राजदूतको ध्यानाकर्षण गराएका थिए ।
साथै, नेपाल चीन जोड्ने रेलमार्ग निर्माण र दुई देशबीच व्यापार सहजीकरणका लागि समेत पहल गरिदिन गुरुङले अनुरोध गरेका थिए । भेटको क्रममा नेपाल–चीन सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहकार्य गर्न गुरुङले प्रस्ताव गरेका थिए ।
जवाफमा चिनियाँ राजदूतले यस विषयमा चीन सरकार सकारात्मक रहेको र नेपालका सुरक्षा निकायको क्षमता विकासको क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गृहमन्त्रीका रुपमा गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका थिए ।
उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए । गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।
त्यसपछि ठेक्का कम्पनीका प्रतिनिधिहरूले १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गुरुङले मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुबीच सीमापार तस्करी नियन्त्रणसम्बन्धी विषयमा गृह मन्त्रालयमा छलफल समेत गरेका थिए ।
छलफलका क्रममा सांसदहरुले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्ने धारणा राखेका थिए । आफ्नो कार्यकालमा गुरुङले ज्येष्ठ नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिने प्रयास पनि गरेका थिए ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा एकजना वृद्ध मानिसलाई कुटपिट गरेको भिडियो विभिन्न माध्यमबाट सार्वजनिक भएपछि कुटपिटमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै, ललितपुर महानगरपालिका लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ गरिएको थियो ।
पीडित ज्येष्ठ नागरिकलाई गुरुङले घरमै गई भेटेका थिए । त्यसपछि गुरुङले आफ्नो फेसबुक पेजमा लेखेका थिए, “हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ । कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन ।”