Thursday 18th April 2024

रास्वपाका अध्यक्ष रवि लामिछानेलाई श्रमिकको खुल्लापत्र


रविजी नमस्कार ।
आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला । म अब पत्र अगाडि बढाउने अनुमति माग्द छू ।

यो पत्र लेख्नुको केही कारणहरु छन् । राजनीतिमा आउन भन्दा पहिला हजुर सञ्चार क्षेत्रमा जानेमाने हस्थि हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ त्यसमा दुईमत छैन । हजुर टेलिभिजनका कार्यक्रम मार्फत आवाज उठाउँदै गर्दा म परदेशी श्रमिक भएर श्रम बेच्दैथिए । त्यो बेला हजुरको आवाज सबै परदेशीहरुले हेर्ने, सुन्ने गर्थे । मेरो मात्र होइन सबैको हजुरबाट ठूलो आशा थियो । कती ठाउँमा ती आवाजले गर्दा परदेशीमा बिचल्ली परेकाहरूको उदार पनि भयो । यस्ता कामले परदेशीहरुको आँखामा हजुर नायक हुने अवसर पाउनु भयो । म पनि यो कुरालाई स्वीकार गर्दछु । हजुर मात्र होइन जसले जति चिच्याए पनि अहिलेसम्म परदेशीहरुको हालत हेर्ने हो भने पहिला भन्दा झन जटिल बन्दै छ । त्यो कुरो मलाई मात्र होइन हजुरलाई पनि प्रस्ट थाहा छ ।

एयरपोर्टमा लागेको श्रमिकको लाइनले यो कुरा राम्ररी दर्शाएको छ । विदेश जानेको सख्या घट्ने त कुरै छैन, दिन प्रतिदिन बढ्दै गएको छ । सन दुई हजार छ तिर म अरबमा पुग्दा नेपाली कताकति भेटिन्थे, अहिलेको अवस्था उल्टो हुँदै छ । नेपालको गाँउभरमा भन्दा विदेशमा धेरै युवा भेटिन्छन् जसले देशका नेता र आफ्नो परिवार पाल्न श्रम बेची रहेकाछन । अब त चुनावको बेलामा परदेशी श्रमिकहरुको समस्या नै राजनीतिक मुद्धा बन्ने अवस्था छ । यो चुनाबमा हजुरको पार्टीको मुद्धा यो देखियो ।
के तपाईं साँच्चै सञ्चार क्षेत्रबाट आफूलाई तयार गरी राजनीतिमा आउने सोंच बनाउनु भएको थियो की तपाईंलाई पनि कुर्सीले तान्यो ? की यही मौका हो परदेसीहरुका समस्या देखाएर राजनीतिक विरासत पाउने भन्ने कुराले मदत गर्यो । अहिले नै म यसको बारेमा भनिहाल्न सक्ने अवस्थामा छैन । आशा छ, जसरी सञ्चार क्षेत्रमा साच्चै रवि बनेर किरण दिनुभयो त्यसरी नै राजनीतिमा पनि छाउनु हुनेछ ।

मेरो पत्र अझै सकिएको छैन । परदेशी न हु, अहिले नेपालमा बस्दा पनि सरकार नै नभएको महसुस गर्दछु । मेरो मात्र होइन परदेशबाट नेपाल आउने धेरै जसो श्रमिकको समस्या हो ।
सञ्चार माध्यममा विदेशबाट सीप लिएर आउनेलाई सरकारले उचित सुविधा दिन्छ भन्ने हल्ला चलाए पनि सत्यता त्यो छैन । यहाँ त परदेशिएका श्रमिकलाई ढाँटी रहेको अवस्था छ । यस्तो जटिल अवस्थामा तपाईंको चुनावी भाषाण परदेसीहरुले कान ठाडा पारेर सुनेका छन तर तपाईं एउटा कुरामा चुक्नु भएको छ । लाखौं परदेशीलाई एयरपोर्टमा भित्रिएर स्वागत गर्छु भन्नु त भयो। परदेशबाट विस्थापित ठूलो श्रमिकको एकहुल नेपालमा आफ्नो सीप सदुपयोग गर्न नपाएर छटपटिँदा परदेशबाट श्रमिक फर्काएर अहिले नै काम दिन्छु भन्ने कुरामा संका गर्ने ठाउँ छ है,रविजी । तपाईंले जति राजनीति बुझ्नु भएको छ त्यो भन्दा बढी श्रमिकको समस्या म जस्ता परदेशबाट नोकरी छोडेर आउनु पर्ने अवस्था भएका बुझ्दछन् । आईसके पछि यहाँको अवस्थाले कुनै काम सुरुगर्न त्यति सजिलो नै छैन । यस्तो अवस्थामा कसरी लाखौं परदेशी श्रमिकको श्रमको नेपालमा सुरक्षित गर्नु हुन्छ । कि भोट बिना कुर्सी नपाइने हुँदा यसरी चाल चल्दै हुनुहुन्छ । यस्तो सोच हो भने पुरानै हजुरको सञ्चार क्षेत्र नै उपयुक्त होला ।

पत्र सिध्याउँछू भन्छु मनमा अरु कुरा आइहाल्छन् । अब त हजुर संसद भवनमा प्रवेश गरिसक्नु भएको छ । सक्नु हुन्छ भने म लगायत म जस्ता परदेशबाट फर्केर सीप लगानी गर्न चाहनेको आवाजमात्र बुलन्द गरेर होइन व्यतिगत रूपमा पनि केही त गरेर देखाउनुस् । अनि बल्ल हजुरले टिकट काटेर परदेशी श्रमिकलाई बोलाउनु नै पर्दैन । आफै देशमा परदेशी श्रमिकले शिकेको सीप सदुपयोग हुन थाल्यो भनेर परदेशबाट परदेशी श्रमिकको एयरपोर्टमा ओइरो लाग्ने छ । त्यो बेला टेलिभिजनमा बोल्ने रवि राजनीतिमा पनि झुट बोल्दैन भन्दै परदेशीको छाती खुसीले फुल्ने छ । हिमवत् छ रवि जी? छ भने गरेर देखाई दिनु होला । भोलिका दिनमा पुरानै राजनीतिक दल झै दलदलमा फस्नु भयाे भने तपाईं र अरूमा कुनै अन्तर हुने छैन । तिनै परदेशीले रवि पनि जनताको लागि नभई आफ्नो स्वार्थको लागि राजनीति गरेको रहेछ भनेर श्राप दिने छन । आशा छ त्यो समय नआउला ।

शब्दहरू नसकिने भए तर पत्रको अन्त्य त गर्नु नै पर्छ । जसरी आकाशमा उदाउँदै गरेको सुर्यले सगै मान्छेका आशाहरु उदाउँछन् । रवि र सूर्यको अर्थ एउटै हुनेहुँदा देश विदेशमा रहेका श्रमिकको लागि यहाँको राजनीति धर्तीमा प्रकाश छर्ने सुर्यको जस्तै होस । आसाको किरण बनेर संसारभर फैलियोस् । पत्र बन्द गर्ने अनुमति चाहें ।
हजुरको शुभ चिन्तक,

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकानब्बेऔंमा…

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार…

लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रको अध्ययन गर्नु छ यो देशले आफ्नो भू-भागको अध्ययन गर्नुपर्छ  लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै…

प्रतिकृयाहरू
...