Thursday 25th April 2024

दस स्रष्टाका खोरियाहरू


खोरियाहरू

तिमीले माने आँटौँला
मायाको डोरी बाधौँला
पिरती चोखो छ हाम्रो
जूनझैँ राम्रो ।।

बाआमा वूढा भैसके
जवानी खाडी गैसके
फर्कौ हे युवा स्वदेश
बचाऊँ भेष ।।

साहित्य जगत् चम्कियो
नेपाली वीर लम्कियो
मर्दैन कला सँस्कृती
हटोस् विकृति ।।

स्पन्दन विनोद
भक्तपुर दधिकोट
हाल पोर्चुगल

खाेरिया

विकास फुल्छ आँखामा
विनास खस्छ काखमा
साेचेकाे रम्य जिन्दगी
भयाे गण्डकी ।

अशान्त मन बनेछ
प्रेमले मन खनेछ
उर्लेर अायाे सम्झना
बग्याे चाहना ।

घामलाै झुल्क्याे पूर्वमा
विहानी लाली छरेर
बेर भाे कर्म जुट्नु है
अब उठ्नु है ।

जनार्दन अधिकारी धड्कन
नैकाप,काठमाडाै ।

तीन खोरिया

सनातनी देवस्थल
ऋषिमुनी तपोस्थल
सृष्टिको शुभारंभ यो
नेपाल अहो !

धर्ती यो जोगाउनु छ
स्वर्ग हो सजाउनु छ
स्वाभिमानी भई बाँचौ
अस्तित्व साँचौं !

समृद्ध देश बनाऔं
संस्कृति भाषा जोगाऔं
सुन्दर शान्त विशाल
देश नेपाल !

पुष्कर अथक रेग्मी
पाल्पा

केही खोरिया

कलाको रुप हरायो
खिचडी मात्रै गरायो
विकृति तिर उन्मुख
धुर्त सम्मुख

छहारी खोज्न बिर्सिए
गमला तिर थन्किए
मकुण्डो हेर लाएका
दुःख पाएका

सक्कली छैन चाहना
नक्कली मात्रै तिर्सना
पूर्वीय पन टाटा भो
सबै छाडा भो

खगेन्द्र बस्याल, रुपन्देही

🌹खोरिया🌹

कोइली रोयो बनमा
पिर ब्यथा छ मनमा
रुन्छ यो मन धर्केर
आमा सम्झेर

साउने झरी सकियो
चाड पर्व नि भित्रियो
कोरोनाको कहर छ
धेरै डर छ

माइत जान्छु पियारा
बालबच्चा नि स्याहार
फर्किन्छु दर खाएर
तिज मानेर

शोभा कडरिया कोइराला
माथागढी रुप्से पाल्पा

हिमाल चाँदी टल्केको
पुर्वमा घाम झुल्केको
कर्णाली कोशी बगेको
हावा लागेको

कस्तुरी मृग सारस
राष्ट्रिय फूल गुराँस
यार्सा गुम्वा पाईन्छ
बुटी खाईन्छ

नेपाली बनी बाँचेर
देशको मायाँ साँचेर
स्वाभिमानी म नेपाली
मायाँ संगाली🙏

शारदा आचार्य,ललितपुर ।

खोरियाहरू

पर्दैन केही नगर
झुक्याई घर नभर
जनता लाई नमार
सेखी नझार ।

दिन ररात घुम्दै छ
समय अघि सर्दै छ
कोरोना त्रास गएन
साम्य भएन ।

कुराले काम चल्दैन
बसेर चुल्हो बल्दैन
निकास अब खोजौन
अघि बढौन ।

समुन्द्रा शर्मा
सुनसरी

खोरियाहरू

खुलेन बुद्धि यिनको
पुच्छर भए तिनको
के गरि खान्छौ हरामी
ज्यूँदै मलामी

संस्कार हाम्रो बाल्ने हो
विकृति आए फाल्ने हो
विदेशी बन्यो चलन
मनै जलन

वारि र पारि सुसेले
आफ्नाले आफ्नै उखेले
जराको छैन मर्यादा
टुप्पो पाउँदा

चन्द्रकला अधिकारी, पाँचथर

मेरा ३ खोरिया

१ नजाउ भाइ कोरिया
यहीँ नै खन खोरिया
फल्दछ अन्न पाटोमा
आफ्नै माटोमा ।।
२ देशको माया नतोड
आमाको काख नछोड
खेतको आलि तासेर
बस हासेर ।।

सुनौला दिन गनेर
प्राकृति सङ्गै रमेर
पसिना झार देशमा
आफ्नै भेषमा ।।

जानुका थापा,काठमाडाै ।

खोरियाहरु

कोरोना ज्यादै बढ्दै छ
एक अर्को मा सर्दै छ
अर्को घरमा नजाउ
घरै रमाउ।

बाहिर जानु परेमा
मास्क लगाउ मुखमा
घस सेनिटाइजर
जग जाहेर।

बाहिर गइ आउदा
कोरोनाको डर हुदा
धोउ साबुन पानीले
भन्छे सानीले।

लक्ष्मी बस्याल
बर्दिया


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...