Wednesday 24th April 2024

नेपालको आफ्नै रेल जनकपुर आइपुग्यो


तितोपाटी – नेपाल सरकारको आफ्नै रेल शुक्रबार जनकपुर आइपुगेको छ । नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी -सरकार टू सरकार)मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा किनिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार १६०० एचपी डेमु रेल २ वटा नेपाल आइपुगेका हुन् । रेलको अगाडि र पछाडि दुईवटा इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।

एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्छ । रेल सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ ।

नेपालमा रेलसेवा बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा नेपाली झण्डा अंकित रेल सेवा सुुरु हुन लागेको हो । यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिबाससम्म सञ्चालन गर्न किनिएको हो तर हाल जनकपुरदेखि जयनगरसम्म मात्र लिक निर्माण भएकोले शुरूवातमा जनकपुर-जयनगर मात्र रेल सेवा सञ्चालन हुनेछ । रेल नेपाल आइपुगे पनि कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सेवा सञ्चालन हुने छैन । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने रेल विभागले जनाएको छ ।

रेल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आइपुगेसँगै कोकन रेल्वे कर्पोरेसन लिमिटेडका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेको पत्र बुझाएका छन् । रेललाई शुक्रबार जनकपुरधाममै राखिएको छ । रातभर दुबै रेलको परीक्षण गर्ने र शनिबार भारतको जयनगर पठाउने योजना छ । दुबै रेललाई सञ्चालनमा नल्याउँदासम्म जयनगरको नेपाल प्लेटर्फममा पार्किङ्ग गरी राखिने छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...