Wednesday 15th May 2024

षड्यन्त्रै षड्यन्त्रको राजनीति


जय नारायण माझी थारू – जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले पृथ्वीनारायण शाहको सालिक ढाल्छ भने कहिले उनलाई एकताको प्रतीक हो भनेर सम्मान गर्छ । हाम्रो देशको राजनीति कहिले महेन्द्रलाई राष्ट्रवादी भन्छ भने कहिले उनी अराष्ट्रवादी हो भनेर संज्ञा दिन्छन् । हुँदा हुँदा महा मानव गौतम बुद्धको मुर्ती ढ्लाउन पछि पर्दैन । अर्थात हामी बुझौं कि नेपाली राजनीतिक (नेतृत्व)कर्मीहरुको रथ हकाई कति आश्चर्य लाग्दो छ । कहिले यिनीहरु संसदमा कुर्सी तोड्छन त कहिले सडकमा टायर बाल्छ्न, त कहिले जङ्गलमा पसेर बन्दुक बोक्छन र हजारौं जनता लाई परिवर्तनको नाममा सहिद बनाउछन । एक अर्काको अँखामा दुश्मनीको भाव भएकाहरु रातारात मिलन बिन्दुमा सिंहदरवारमा देखिन्छन् ।
जनताको अधिकार सँग होली खेल्दै जनताको मासुको सुकुटी सँगै मदिरापान गर्न पछाडी हट्दैनन । जसले जे गरे पनि हुने नेपालको राजनितिमा राजनितीलाई बिशुद्ध समाज सेवामा होइन मागी खाने भाडो बनाएका छन् । राजनैतिक शिक्षाको खुड्किलो उक्लदा जब षड्यन्त्रकारीको प्रामण पत्र प्राप्त हुन्छ तब यी कुरा राजनितीकर्मीहरुले पार्टीहरुलाई फुटाइ आफ्ना बिचारहरु लाद्न थाल्दा रहेछन ।

अडोल्फ हिटरले आफ्नो जिवनीमा लेखेका छन -शक्ति र सत्तामा टिकाई राख्न काल्पनिक दुष्मन बनाउ र देश खतरामा छ भन्ने हल्ला फिँजाउ । त्यसले जनताको मनमा डर उत्पन्न हुन्छ । जब जनता डराएका हुन्छ्न उनीहरुलाई आफ्नो पोल्टामा पार्न सजिलो हुन्छ । हाम्रा देशका राजनीतिकर्मीहरु यही सिद्धान्तबाट अभिप्रेरित छन । जनताको मौनतालाई कम्जोरी सम्झनु क्यान्सर पालेर आफुहरुलाई स्वास्थ सम्झनु हो । जनताको हक अधिकार, कानुनी राज्यको स्थापना विकास, समृद्धि, रोजगारको अवाजलाई बहिरोपन तरिकाले नाटक गर्दै नसुन्ने झैं गरिरहनु जस्तै भएको छ हाम्रा देशका छोटेराजाहरुको ब्यवहार । के राजनीतिको अन्तिम बिन्दु प्रधानमन्त्री वा मन्त्रीको कुर्सी नै हो त ? के जनताको हरेक अघिकारहरु प्रत्याभूत गराउन प्रधानमन्त्री वा मन्त्री नै बन्नु पर्दछ त ? यस्ता खालको कमि कमजोरीको करकतत्व को हुने ? आलिशान गाडीमा नेपालको झन्डा फहराउँदै हिड्ने मानिसहरु कि खेतमा हलो जोत्ने किसान । वा नदीको बगरमा ढुङ्गा फुटाउने कि रोजगारीको लागि विदेशमा बेल्चा हान्ने मानिस ।

देशमा तमाम आसमान सम्बन्धको साङ्लो फेरिनु पर्दछ अथवा प्रगतिशील र दुरदृस्टि तरिकाले समस्या अन्त्य नगरेसम्म राष्ट्र विकास र समृद्धि हुदैनन्,हस्तक्षेपको अन्त्य हुदैनन् । मुखले मात्र गर्छु भन्यो भने झन प्रत्युत्पादक हुन्छ । हाम्रो देशको राजनितिकर्मीमा एउटा तितो याथार्थ छ – “आफै खानेk आफै लगाउने र जसरी पनि सत्ताको भोग गर्दौ सातपुस्ता सम्म सम्पती जोड्ने।” देशलाई समृद्धि र विकास गर्नु भन्दा पहिला आफ्नो समृद्धि गर्नु पर्छ भन्ने होड चलेको छ . देश र जनताको भलाईको लागि सोच्ने नेताको कमि छ । दुईचार जना बिभीषणले गर्दा देश दिनानुदिन भड्खालोमा जाँदै छ .

वर्तमानमा विश्व लगायत हाम्रो देशपनि covid-19 को सङ्क्रमणबाट आक्रान्त भएको छ । देश र जनताको स्वास्थलाई मध्यनजर गर्दै लकडाउनको अवस्थामा जनता जीवन रक्षाको लागी ऋण खोजेर पनि बाच्ने अवस्था आएको छ । यस्तो विषम् परिस्थितिमा पनि अपारदर्शी रूपमा आफ्नो पार्टीलाई समेत छलेर भित्रभित्र आफ्नो गुटको स्वार्थ बचाउने खेलमा विभिन्न गुट लागिपरेको अहिले पुष्टि भएको छ । अप्ठ्यारो अवस्थामा रहेका नेपाली जनतालाई गिज्याउने काम भैइरहेको छ । महामारीबाट आक्रान्त भइरहेका जनता राहत प्याकेज पर्खिरहेको बेला सरकारमा बसेका दल भित्र एकाएक षड्यन्त्र र विभाजनसम्बन्धी खेल बढो चाखलाग्दो पुर्ण तरिकाले खेलिंदैछ । यस्तो किसिमको षड्यन्त्रले नेपाली जनताको भावनामा ठेस पुर्याउने काम भैइरहेको छ । सरकार नागरिकको सरोकार र जीवन रक्षाका लागि गम्भीर र संवेदनशील नभएको पुष्टि भएको छ ।

राष्ट्रिय सङ्कटको यस घडिमा जनतालाई घरमा थुनेर र ब्यवस्थापिका संसदलाई नै बन्द गरेर आ-आफ्नो गुटको अभिष्ट पूरा गर्न असंवैधानिक तरिकाले कुर्सीको खिचातानी गर्न तल्लीन राजनैतिक उदण्डताको पराकाष्ठा हो । जनताको म्याण्डेट्लाई डुङ्गामा राखेर डुबाउन खोज्ने आत्मरती प्रवृत्ति नै लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा खतरनाक खेल हो ।
देशको यस विषम् अवस्थामा नेपाली जनतालाई राजनीतिक एकता सहितको निकास र विकास चाहिएको छ, विभाजन हैन । जनको भावना विपरीत महामारीको सन्त्रासबीच पनि व्यक्तिगत सत्ता सवार्थ केन्द्रित राजनीतिले वर्तमान सत्ता संचालकले ल्याएको धारणा सुखी नेपाल र समृद्ध नेपाल बनाउने नारालाई अर्थहीन बनाउने कोशिसमा छ । भ्रष्टाचार र कुशासनका विभिन्न काण्डैकाण्डमाथि यो षड्यन्त्रको महाकाण्ड बिभीषण हरुले थप्न खोज्दै छन् । यसको मूल्याङ्कन इतिहासमा जनताले गर्ने नै छ । चेतना भया !!

स्रोत – विभिन्न पत्र पत्रीका


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...