Friday 19th April 2024

साउने सक्रान्तिः एक जानकारी – सुशिल बस्याल


सुशिल बस्याल – साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना ! साउने सक्रान्ति पर्व प्रायःजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर-तरिकाहरू पनि केही भिन्न छन् । संस्कृति अनुसार कतै लुतो फाल्ने पर्वको रूपमा र कतै इष्टदेवतालाइ सम्मान गर्ने रूपमा यो पर्वलाइ मनाइन्छ । साउने संक्रान्ति किराती समुदाय बीच ‘सिसेक्पा तङ्नामको नामले मनाईन्छ । किरातीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानि ल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको जुम्ला जुम्ला तिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रूपमा मान्ने आइडी जातिहरूले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधहरू सबै हटि जाऊ, दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभ लक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुराहरू खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् । यस लेखमा साउने सक्रान्तिमा लुतो फाल्ने विषय समावेश गरेको छु ।

साउने सक्रान्तिको परिचयः

आज बाट पवित्र साउन महिना शुरु भएको छ ।बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहिता महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् । विभिन्न व्रत ,धार्मिक क्रियाकलाप हुने र बोलबम पनि साउन महिनामै जाने गरिन्छ । साउने सक्रान्ति लाई लुतो फाल्ने दिन पनि मानिन्छ ।साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । कृषिप्रधान देश नेपालमा मानो खाइ मुरि उब्जाउने कथन नै छ । साउने सोमबार शिबजी लाई जल चढाइ दर्शन गर्दा मनले चिताएको पुग्ने धार्मिक बिश्वास छ । असार महिना भर गरेको खेतीपाती को कामबाट थकित किसानहरु हिलो मैलो पखाली आराम लिने गर्दछन । सङ्ग सगै मिठा मिठा परिकार खाने चलन पनि छ । तुलसी मठमा कटेरी निर्माण गर्ने चलन छ । कतिपयलाइ “कटेरी” भनेको थाहा नहुन सक्छ त्यस बारे केहि चर्चा गरेको छु।

कटेरी निर्माण र लुतो फाल्ने विधिः

तुलसी मठ अगाडी ४ वटा चोके भएका लठ्ठी गाडेर टाड बनाई कागती, निबुवा, अम्बा, अनार, नास्पाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ । लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ । भलायो या औषधि जन्य बनस्पतिको पात राखी चोखो माटो राखेर जौ, तिल, मास, धान, मकै छरेर साउने फल राख्ने चलन छ । विशेष रुपमा दियो,अगरबत्ती बालेर,घण्ट शङ्ख बजाएर प्राथना गर्ने चलन छ। प्राथना गर्दै कुनै वनस्पतिहरु बालेर बेलुकी घरको आगनबाट चारै दिशामा “लुतो, पिलो, खटिरा, रोग, ब्याध, लैजा, लैजा” भन्दै अगुल्टो फाल्ने चलन पनि छ । लुतो फाले त्यस बर्ष शरीरमा लुतो ,घाउ घटिरा नआउने बिश्वास पनि रहेको छ।कतिपय स्थानमा यो चलन नहुन पनि सक्छ ।सबै ठाउमा गर्छन नै भन्ने पनि छैन । गरि राखेको ठाउँमा पनि बिस्तारै लोप हुँदै गएको छ ।विभिन्न संस्कार ,संस्कृति विकास सँग हराउँदै गएको हुँदा “खोज विधि “प्रयोग गरेर भावी पुस्ताहरुमा पनि यी ज्ञान समाजबाट हराए पनि मस्तिष्कबाट हराएर नजाहोस भनी यस बारे अग्रज ब्यक्तिहरुबाट केही जानकारी लिई शब्दमा उतार्ने जम्रको गरेको हु ।

भगवानको सेवा गर्दा हुने केही अपराधहरुः

साउन महिनामा शिव मन्दिरमा श्रद्धालुको घुईचो हुने गर्छ।शिव भगवानको बिश्वेष पुजा गरि जप गरिन्छ ।साउन महिनामा भगवानको सेवा , धर्म गर्दा हुने अपराध तल प्रस्तुत गरेको छु ।
१.साउन महिनामा बेलको वृक्ष काट्नु ।
२.मासु,मदिरा,लसुन,प्याज खानु ।
३.अशुचि भएर दर्शन गर्नु ।
४.भेन्टा ,मुला खानु (साउन महिनामा भेन्टा ,मुलालाई अशुद्ध मानिन्छ )
५.देवताहरुको निन्दा गर्नु ।(देवताको निन्दा कहिल्यै नगर्नु)
६.नकारात्मक कार्यको बिकास सँगै अस्लिल शब्द बोल्नु ।

झुक्किएर पनि यस्ता कार्य नगरि, शिव भगवानको प्राथना गरे, अत्यन्त लाभ मिल्ने जनबिस्वास रहेको छ । घर आगन सरसफाइ गरि शिव भगवानलाई प्रसन्न बनाई लाभ लिन सकिन्छ ।

ॐ नंम शिवाय ॐ नंम शिवाय !!!!

बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...