Thursday 23rd April 2026

आउँछन् कि चेली भनेर माइती दोबाटो कुरेका


तीतोपाटी- भूकम्पले भत्किएको घर फेरि उठ्दैछ । यतिका वर्ष टहरोमा बस्दा पनि उनले हिम्मत हारेनन् तर भूकम्पलगत्तै हराएकी छोरी फर्किने बाटो हेर्दा हेर्दै सुकलाल सुनारले हरेश खान थालेछन् । दिल्लीको कोठीबाट उद्दार गरिएकी छोरी आश्रयस्थलबाटै फेरि हराएको खबर सुनेपछि उनले ‘खुइय’ गर्न बाहेक कुनै जवाफ दिन सकेनन् ।

मेलम्ची बजारबाट करीव १४ किलोमिटर माथि तालामाराङको बतासे डाँडामा हामी पुग्दा ४८ वर्षीय सुकलाल भुकम्पले भत्काएको ठाउँमा नयाँ घर बनाउन व्यस्त थिए । वडाध्यक्ष जयराज थापासँगै केही महिलाको टोली आफ्नो घरतर्फ अघि बढेपछि पर्खालको प्वालबाट चियाएर हेरे–कतै छोरी भेटेर जिम्मा लाउन पो आएका हुन् कि ?

चरिमाया तामाङ र सुनिता दनुवार जस्तै उनकी छोरी शर्मिला पनि कोठीमा बेचिएकी थिइन् । कोठीबाट उद्दार भएपछि शक्ति समूहकी चरिमायाकै पहलमा उनी एक वर्षअघि दिल्ली पुगेर छोरीलाई आश्रयस्थलमा भेटेका पनि हुन् । त्यतिबेला छोरीले दिल्लीमै केही काम गरेर पैसा कमाएर आउने भन्दै बुबासँग फर्किन मानिनन् । यसपटक पनि चरिमाया र सुनिता रित्तो हात उनको घरमा पुगे,छोरी फेरि हराएको खबर लिएर ।

कोठीबाट उद्दार गरिएकी छोरी आश्रमबाट हराएको सुनेपछि सुकलाल पुर्पुरोमा हात राखेर सुस्ताए । छेउमा अर्की छोरी निर्मला र काखे छोरा थिए । उनले अलिकति आफ्नै छोरीलाई धिक्कारे अनि आफ्नो कर्मलाई । करीव आधा दर्जन छोराछोरीको जिम्मेवारी सम्हालिरहेका सुकलालकी पत्नी पाठेघरको उपचार गर्न काठमाडौंमा छिन् । यस्तो दुःखका बेला हुर्केकी छोरी फर्किने बाटो हेर्दा हेर्दै उनी दोबाटोमा सुस्ताउन विबश छन् ।

शर्मिला त्यसबेला १६ वर्ष पुगेकी थिइन् । दुई कक्षा पढेपछि उनले स्कूल छाडिन् । २०७२ साल बैशाख १२ को भूकम्पकै छेक उनले गाउँ र परिवार छाडेर बेपत्ता भइन् । काठमाडौं दिदीकोमा जाने भनेर उनी बहिनी निर्मला सहित गएकी थिइन् । बाटोदेखिनै उनलाई एकजना साथीको फोन तारन्तार आइरहेको थियो ।

बहिनी निर्मलाका अनुसार त्यस दिन उनी बौद्धस्थित दिदीको घरमा भएका बेला ट्याक्सी आयो लिन । दिदी नजाऊ भन्दा भन्दै उनी ट्याक्सी चटेर अपरिचित व्यक्तिसँग गइन् । उनलाई ट्याक्सीमा लैजाने को थियो र साथी भनिने महिला को थिइन् भन्ने थाहा छैन । तर त्यस दिनदेखि हराएकी शर्मिला करीव २ वर्षपछि दिल्लीको एक यौन अखडाबाट उद्दार भएकी थिइन् ।

१६ वर्षमा बेचिएकी शर्मिला अहिले २० वर्ष पुगिसकिन् । उनलाई कोठीबाट उद्दार गरेपछि दिल्लीको महिला आयोग र संघ संस्थाले शक्ति समूहमार्फत घरमा खबर गरे । शक्ति समूहकै पहलमा सुकलाललाई दिल्ली लगिएको थियो । त्यसबेला शर्मिलासहित १७ जना नेपाली युवती र किशोरी कोठीबाट उद्दार भएका थिए । तीमध्ये तीनजना सिन्धुपाल्चोककै थिए ।

दिल्लीका कोठीबाट डेढ वर्षअघि उद्दार गरिएका ती किशोरीलाई स्वदेश फिर्ता गर्ने कानुनी प्रक्रिया पूरा नहुँदा आश्रममा राखिएको थियो । आश्रमबाटै गत डिसेम्बर १ तारिखमा ८ जना किशोरी रहस्यमय ढंगले बेपत्ता भए । ती आठजना मध्ये सुकलालकी छोरी शर्मिला पनि थिइन् । एक वर्षअघि आफूले ल्याउन खोज्दा आउन नमानेकी छोरी फेरि हराएको सुनेपछि उनी शिथिल भए ।

उनले भने–हारेको कर्म रहेछ हजुर,काखकी छोरी आफ्नै मतिले हराई । सन्तानको माया कसलाई लाग्दैन र । कसैले अपहरण पो गरे कि ? कहाँ लगे होलान् ? आमा उसैलाई सम्झेर रुँदा रुँदै आधा ज्यानकी भइसकिन् । अब त फर्केर पनि आउली कि नआउली ? आएपनि आब्रुक लुटाएर आउने होली । यस्तो सन्तान दुःख अरुलाई नपरोस भगवान ।

साभार अनलाईन


सम्बन्धित शीर्षकहरु

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

दृढता, विश्वव्यापी स्रोत क्षमताको बलियो पक्ष तथा उपभोक्ताको पुनः सक्रिय गतिशीलतालाई उजागर गरेका छन्। -युसुफअली एम.ए. लुलु समूहले जीसीसी-व्यापी ‘वर्ल्ड…

प्रतिकृयाहरू
...