Friday 20th February 2026

बालेन र हर्क बौलाउन हुदैन


तोयानाथ उपेक्षित, बालेन शाह र हर्क साम्पांग नेपालका आईडियल मेयर हुन पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक दलहरुको असफलतालाई थप बल पुग्दछ । अहिले आएर आँखा बन्द गरेर बालेन बालेन भन्नेहरु एक कदम पछि सर्न थालेका छन र हर्क हर्क भन्दै श्रमदान गर्न जानेहरुले पनि सोच्न थालेका छन । यसो हुनका पछाडी केही कारणहरु छन ।

हर्क साम्पांगले श्रमदानका नाममा सधै भरी जनतालाई दुःख दिन हुदैन । उहाँको साप्ताहिक श्रम दानको कामलाई अब बन्द गर्न पर्दछ । धरानमा पानीको कोकोहला सकिएको छ । यो उहाँको महान काम हो । अब साप्ताहिक श्रमदानका लागि भिर पहरामा जनतालाई बोलाई रहन जरुरी छैन । कम से कम महिनामा एक पटक बोलाउने हो भने जनता खुशी खुशी रमाईलो मानेर आउने छन् र गुणात्मक काम हुनेछ ।

हर्क साम्पांगले आफूलाई जसरी कुल्ली मेयर भन्नुहुन्छ त्यसरी नै कुरामा लगाम लगाउनु पर्दछ । साना कुरा गर्न पर्दछ । म सँग जति भिजन अरु सँग छैन भनेर बोल्नु राम्रो होईन । नत अरु मेयरको आलोचना गरेको शोभनिय हुन्छ । अहिले उहाँको बोली कै कारणले धेरै मानिसले उहाँको आलोचना गर्न थालेका छन । महान मानिसहरु काम गर्दछन कुरा होईन । हर्कले विरोध गर्नेहरु सिद्धिन्छन भन्नुहुन्छ तर त्यो निर्णय जनतालाई छाड्न पर्दछ आफैले घोषणा गर्दै हिड्ने होईन । यसलाई भेटे दिनभरी श्रम गर्न लगाउथे भन्ने जस्ता कुरा गरेर घोचपेचको शैली पनि त्याग्नु पर्दछ । विरोधीहरुलाई श्रम गर्न आउने वाताबरण बनाउने जिम्मा उहाँको नै हो । उहाँले सामाजिक सञ्जालमा वडाध्यक्ष र सदस्यहरुलाई तोकेर किन आएनन भन्दै पछि भविश्यमा पनि आउन नमिल्ने गरी नंग्याएर कुरा गर्न हुदैन । समाजिक काममा उहाँहरु आफैले बुझेर आए आउनुहुन्छ नआए आउनु हुन्न त्यो जनताले मुल्यांकन गर्ने कुरा हो । कस्ता कस्ता मानिसलाई धराने जनताले चुनेर पठाएछन भन्ने भाषा पनि शोभनिय होईन । मेयरका लागि सवै समर्थक मात्र जितेर आउन भन्ने लाग्दो हो तर विरोधी विना न विकाश गर्ने हुटहुटी जाग्छ न त गल्ती सच्याउने सुझाव पाईन्छ । यसर्थ विरोधी विना विकाश सम्भव हुदैन ।

बालेन शाहा शालिन छन । कम बोल्दछन तर उनले अहिले काठमाण्डौमा जे गरिरहेका छन त्यसले उनका कद घटाउदैछ । जसजसले अतिक्रमण गरेर टहरा वा पर्खाल बनाए तिनलाई बालेनले राम्रै सवक सिकाएका छन तर जो कानूनी रुपमा गलत छैन तिनको हकमा बालेनको एक्सन फरक हुन पर्ने थियो । उनैले चलाएको महानगरबाट प्राप्त आधिकारिताको जाँच गर्न छाडेर अगाडी जे पनि भयो त्यो सँग मलाई मतलब छैन भनियो भने भोलीको मेयरले पनि बालेनका निर्णय र कामलाई त्यसै गर्न खोजे के हुन्छ ? को भू माफिया हो को निर्दोष हो भनेर अध्यायन गर्न जरुरी हुन्छ की नाई ? तत्काल दुई चार सालको बिषयमा दोषी पत्ता लगाउन सजिलो होला तर पचास वर्ष पुराना कुराहरु हेर्ने सयन्त्र बनाउन पर्दैन र ? बालुवाटार प्रकरण जस्ता कुराको किनारा लगाउन राज्यलाई हम्मे हम्मे छ भने त्यो टुकुचा माथिको बस्तीमा अनुसन्धान हुन पर्दैन ? कयौले यसबीचमा बेचेका छन किनेका छन । राजस्व तिरेका छन, घरनक्सा पास गरेका छन । सरकारले दिएको लाल पुर्जा लिएका छन । उनीहरु कसरी दोषी हुन ? दोषी भए तत्कालिन सरकार दोषी होला, तत्कालिन नापी र माल दोषी होला, त्यसलाई उत्खनन नै गर्ने हो भने विना मुआवुजा भत्काई दिन्छु भन्ने कुरा त दादागिरीपन मात्र हो ।

सवै कुरालाई एउटै डालोमा हाल्नु र डोजर नै समाधान हो भनेर हिड्नु बालेनको अदुरदर्शिता हो । बैयाक्तिक सम्पतीको सुरक्षा गर्ने जिम्मा राज्यको हो र त्यो जिम्मा बालेनको पनि हो । जहाँसम्म दशै मनाउन देउ भनेर सार्है धेरै फुटपाथका व्यापारीहरु रोए कराए । घरधनीले अतिक्रमण गरेर बनाएका टहरा भाडामा लिएर व्यपार गर्ने व्यपारीले विन्ति विसाए तर उनले गोर्खापत्रको ३५ दिने सुचनालाई हतियारको रुपमा प्रयोग गरे । विवेक भन्ने कुरा कतै देखिएन । कानूनका आँखा त बन्द हुन्छन तर न्यायधिसका हुदैनन । अर्थात विवेक भन्ने चिजको पनि ठुलो अर्थ र महत्व हुन्छ । स्वविवेकिय अधिकार त्यसकारणले कानूनमा हाकिमहरुलाई दिएको हुन्छ । तजविजी अधिकार कानूनको आँखा नपुग्ला की भनेर नै दिईएको हो । बालेन त्यही कारणले अहिले कमजोर हुदै गएका छन ।

बालेन र हर्क कमजोर हुनु भनेको यी राजनैतिक दलहरुको अर्कमन्यताको विरुद्धमा विद्रोह गर्ने तमाम स्वतन्त्र उमेद्वारलाइ धक्का लाग्नु पनि हो । यिनै बालेन र हर्क देखाएर स्वतन्त्र उम्मेदवार मैदानमा बर्गेल्ती निस्किएका छन तर स्वतन्त्र उमेद्धारको लोकप्रियता र शाख गिराउने काम हर्क र बालेन बाट भैदियो भने यसले अन्तत्वगोत्वा सवै लाई असर गर्ने छ । अत हर्क र बालेनको बेसमा उठ्ने देशभरीका स्वतन्त्र उमेद्धारहरु ले पनि बालेन र हर्क लाई सम्भाउन जरुरी छ । हर्क र बालेन बौलाउन हुदैन ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...