Tuesday 10th March 2026

नेपाललार्इ गुणस्तरिय शिक्षाको हब बनाउँछाैं – प्रधानमन्त्री अोली


तितोपाटी – शिक्षा क्षेत्रमा सरकारी, निजी, समुदाय र अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट बर्सेनि अर्बौं लगानी भइरहेको छ । तर लगानीअनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्मको गुणस्तर अपेक्षित रुपमा सुुध्रन सकेको छैन ।

निजी र सरकारी शिक्षालयहरुको गुणस्तरको खाडल गहिरिँदो छ । शिक्षा क्षेत्र चरम राजनीतीकरणको चपेटामा परेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालय र विश्वविद्यालय तह अध्ययनका लागि नेपाली युवा विदेशिइरहेका छन् । यसै सन्दर्भमा शिक्षा क्षेत्रको सुधार र सरकारको भावी योजनाबारे प्रधानमन्त्री केपी ओलीसँग पत्रकार दुर्गा खनाल र मकर श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

नेपालको शिक्षा प्रणाली र यहाँबाट उत्पादन हुने बुद्धिजीवीहरूप्रति तपाईं बेलाबेला टिप्पणी गर्दै आउनुभएको छ, तपाईंको बुझाइमा नेपालको शिक्षा प्रणाली कस्तो छ ?
नेपालको शिक्षा प्रणाली र नीति ढुंगा समातेर खसाल्दा जहाँ खस्छ, त्यहीँ निसाना लागेजस्तै छ । जो पढ्न विद्यालय गयो ठीकै छ, गएन भने नगएको नगयै हुन्छ । जुन विषय पढाउने विद्यालय भेट्यो, त्यहीं पढ्यो । त्योबाहेक अन्य विषय पढ्ने विकल्प छैन । व्यक्तिगत अवस्था (आर्थिक) राम्रो छैन भने पढ्न पाउँदैनन् ।

पढाउनुपर्छ भन्ने चेतना छैन, चेतना जगाउने जिम्मेवारी कसैको होइनजस्तो अवस्था छ । कसैले परम्परागत रूपमा जे जानेको छ, त्यही शैलीमा त्यही व्यवसाय गरेको छ । आजको दुनियाँमा त्यही व्यवसायबाट अरूले कति प्रगति गरिसके तर हामीकहाँ नयाँ तरिकाले कसरी अघि बढाउने भन्ने कुनै जानकारी छैन । व्यावसायिक ज्ञान छैन । शिक्षालाई जीवन, समाज, आवश्यकता, रोजगारी र आम्दानीसँग जोडेर लानुपर्नेमा हामी त्यसमा पछि परेका छौं ।

शिक्षा क्षेत्रको मुख्य कमजोरीचाहिँ के रहेछ ?
प्राविधिक शिक्षामा कमजोरी छ । २००८ सालदेखि आधुनिक विद्यालय र पठनपाठन सुरु भयो । दरबार हाईस्कुल, त्रिचन्द्र क्याम्पसलगायत केही विद्यालय र कलेज पहिले नै खुले पनि ती खास घरानियाँका लागि थिए । नेपालमा २०१६ सालमा एउटा विश्वविद्यालय खुल्यो । त्यसपछि नि:शुल्क र अनिवार्य प्राथमिक विद्यालय भनेर अघि बढाइयो । नयाँ शिक्षाको कुरा गरियो । तर शिक्षाको गुणस्तर बढ्ने स्थिति रहेन । पछि २०४२/४४ सालमा बल्ल मेडिकल र इन्जिनियरिडजस्ता प्राविधिक शिक्षा सुरु भयो । आधुनिक शिक्षाको इतिहास सुरु भएको बल्ल ३०/३५ वर्ष हुँदै छ ।

देश प्रकृति र जनसंख्यालाई ध्यानमा राखेर यसको समुचित व्यवस्थापन, विकास, समृद्धि, सुरक्षा र प्रगतिमा शिक्षालाई कसरी जोड्ने भन्नेतिर हाम्रो ध्यान गएन । शिक्षा धर्तीअनुसारको र मान्छेअनुकूल हुनुपर्छ । हाम्रो जनसंख्या र भूगोल कस्तो छ भन्ने आधारमा कस्तो शिक्षा र कस्तो जनशक्ति भन्ने यकिन हुनुपर्छ । मान्छे सक्षम र योग्य बन्नुपर्‍यो । कुन कुन क्षेत्रमा कति जनशक्ति कस्तो उत्पादन गर्ने टुंगो हुनुपर्‍यो ।

डाक्टर बनाउने भनेर मुटु स्पेसलिस्ट मात्र उत्पादन भयो भने कान दुखेका बेला के गर्नुहुन्छ ? दाँत र हडडीको पनि उपचार गर्नुपर्ला । बाटो पनि बनाउनुपर्ला । शिक्षक पनि चाहिएला, पाइलट पनि आवश्यक पर्ला । अर्थात् धर्तीको इकोसिस्टम सन्तुलित गर्ने शिक्षा चाहियो । शिक्षा जसले लिन्छ, उसका लागि जीवन सहज बन्ने खालको हुनुपर्‍यो । शिक्षाले ज्ञान र उसको आन्तरिक गुणलाई स्तरीय बनाउन सक्नुपर्‍यो । शिक्षा पाए पनि कमसेकम कमाएर खान सक्ने हुनुपर्‍यो ।

यसका लागि सुरुमा हाम्रो समग्र शिक्षाको प्रोफाइल बनाउनुपर्छ । त्यसका आधारका कुन ठाउँमा कृषि, कहाँ इन्जिनियरिङ, कहाँ जडीबुटी वा कस्तो खालको वस्तु उत्पादन र त्यससँग सम्बन्धित जनशक्ति तयार गर्ने हो, त्योअनुसार योजनाबद्ध रूपमा अघि बढ्नुपर्‍यो । तर अहिलेसम्मको हाम्रो शिक्षा त अन्धाधुन्ध छ । आवश्यकता एउटा शिक्षा अर्कोतिर छ ।

घरखेत बेचेर पाइलट पढेर आउँछन्, उडाउने प्लेन नै छैन । पाइलट नपढेको भए त टेम्पो चलाएर पनि गुजारा गथ्र्यो होला नि ? पाइलट पढेकाले टेम्पो चलाउन जान्दैन । हाम्रो शिक्षाले टेम्पो चलाउन पनि दिएन र पाइलट भएर प्लेन चलाउन पनि पाएन । परम्परागत काम पनि छुटे र नयाँ व्यवसायमा पनि जान नसक्ने खालको शिक्षा भयो ।

वर्षौंदेखि शिक्षामा अर्बौं लगानी भइरहेको छ । सरकारले गरेको यत्रो लगानी कहाँ गइरहेको छ त ?
सरकारी मात्र होइन, शिक्षा क्षेत्रमा अन्य धेरैको ठूलो लगानी छ । जस्तो मैले पढेको विद्यालय सरकारले बनाइदिएको होइन । मलाई पढाउने शिक्षकले सरकारको तनखा खाएका थिएनन् । अथवा मलाई पढाउँदा सरकारको कुनै लगानी छैन । सरकारले विद्यालय बनाइदिएर, शिक्षकको दरबन्दी दिएर, तनखा दिएर बनेको स्कुल होइन ।

मेरा बुबाहरूले स्कुल बनाउनुभयो । हामीभन्दा पाकाहरूले स्वयंसेवी रूपमा पढाउनुभयो, अलिकति आफ्नो स्रोतबाट केही शिक्षकलाई तनखा दिइयो । त्यसरी चले । मैले भन्न खोजेको के हो भने सरकारको भन्दा धेरै लगानी समाज र अभिभावक, निजी क्षेत्र, अन्तर्राष्ट्रिय दाताको छ । यो ठूलो लगानीअनुसारको प्रतिफल भने छैन ।

यसको कारण के हो भने योजनाविहीनता । योजनै नभएपछि ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भन्ने गीतझैं हाल भयो । गन्तव्य नै कहाँ भन्ने भएपछि कहाँ पुग्ने ? ठीकै हो, हामी अहिले जहाँ हुनुपर्ने हो, त्यहीँ छौं । अर्को कारण देश र जनताभन्दा आफूलाई बढी हेर्‍यौं । आफूलाई, आफन्तलाई हेर्न थालेपछि यस्तो भएको हो । जस्तो शिक्षक नियुक्ति कसरी भयो ? हेर्नुस् त ।

पहिले करारमा छ्यास्स झुन्ड्याइदिनुस् न, खाली रहेछ भन्दै लग्यो । झुन्ड्याउन मिल्दैन भन्दा होइन, गरिदिनै पर्छ, आर्थिक अवस्था अप्ठेरो छ भन्ने दबाब दियो । शिक्षा सेवा आयोगबाट परीक्षा लिनुपर्छ भन्दा पनि होइन, राखिदिनै पर्छ भन्यो । अनि त्यो प्रक्रियाबाट छिरेपछि त ‘वेल्डिङ भएजस्तो टाँसिइहाल्यो । विस्तारै शिक्षकलाई हटाउन पाइँदैन भन्दै दल, पार्टी, तालाबन्दी गर्‍यो । विद्रोहीजस्तो बन्यो । पढाउन जान्दैन तर निकाल्न पाइँदैन । अनि गुणस्तर कसरी हुन्छ ?

शिक्षामा केही पनि भएको छैन भन्ने मेरो धारणा होइन । यसै पनि हाम्रो शिक्षाको लामो इतिहास छैन । जम्माजम्मी २००७ सालपछि सुरु भएको हो । एउटा मान्छेको जीवनकाल जति पनि शिक्षा लिने अभ्यास भएको छैन । पहिले साक्षरता प्रतिशत थोरै थियो । अहिले बढेको छ । यसलाई अझै सुधार्दै लैजानुपर्छ ।

संसद् र सरकारमा तपाईंहरू पनि कुनै न कुनै रूपमा रहनुभएकै थियो । शिक्षामा यत्रो भद्रगोल थाहा पाउँदा पनि किन रोक्ने पहल गर्नुभएन त ?
कसैले थाहा नपाएको, नबुझेको होइन । ड्राइभर सिटमा बसेको हुन्छ । स्टेयरिङ गलत मोडदै छ भने ‘ए गलततिर मोडियो, त्यता नमोड्’ भन्दाभन्दै उसले खाल्डामा हालिसकेको हुन्छ । गलत भन्दाभन्दै बाटोबाट परतिर पुर्‍याइसक्छ । स्टेयरिङमा लामो समयदेखि को–को बस्यो ? के–के गर्‍यो ? लाइसेन्स भएका बसे कि नभएका बसे ? बलजफ्ती बसे कि ? छानिएर, चुनिएर बसे ? मनोनीत भएर बसे कि ? यस्तो अवस्थाबाट के नतिजा निस्कन्छ ?

अब सरकारले के गर्छ त ?
सरकारले अब नेपालको शिक्षा प्रणालीलाई देशको आवश्यकता परिपूर्ति गराउने हिसाबले विकाससंँग जोडेर जनताको जीवन, धर्तीको सुरक्षा र जनताको सुखसंँग जोडेर अघि बढाउँछ । शिक्षा नीति जनमुखी, विकासमुखी हुन्छ । दुनियाँका शिक्षा प्रणाली, नीतिमध्ये सर्वोत्तम नीति र प्रणाली छान्छौं ।

वाम गठबन्धनको घोषणापत्रमा ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण ज्ञान भएका जनशक्ति उत्पादन गर्ने भनिएको छ । तर, शिक्षाको बजेट त झन्झन् घट्दो छ ? तपार्इंहरूले केही गर्नुहुन्छ भन्ने विश्वास गर्ने आधार के हो ?
त्यो थोत्रो क्यालकुलेटरले गरेको हिसाब हो । त्यो क्यालकुलेटरको अब ब्याट्री फेर्नुपर्छ । स्थानीयमा पनि शिक्षामा कुन–कुन शीर्षकको बजेट जाने भन्ने व्यवस्था गरिसक्यौं । केन्द्रमा छुट्याएको बजेट हुने अनि स्थानीयमा छुट्याएको बजेटचाहिँ नहुने त होइन होला ? शिक्षामा सुधार गर्न आधारभूत कुरा बजेट हो । आवश्यक पर्ने बजेट गच्छेअनुसार, क्षमता अभिवृद्धि गरेर भए पनि बढाउँछौं । तर, एकैचोटि बजेटको सिलिङ र रकम बढाएर गुणस्तर बढ्ने होइन । गुणस्तर बढ्ने गरी मात्रै रकम बढाउँछौं ।

एउटा विद्यालयले एसईईमा एक जना पनि पास गराउँदैन, सिकाइ शून्य छ भने शिक्षकको तलब दोब्बर गर्दैमा गुणस्तर राम्रो हुन्छ ? त्यहाँ विद्यार्थीलाई पढ्ने वातावरण छैन कि ? पढाउने शिक्षकलाई तालिम पो छैन कि ? विद्यार्थीलाई परामर्शको आवश्यकता छ कि ? त्यो थाहा पाएर अघि बढ्नुपर्छ । हामीले खर्चको आकारभन्दा समस्या के छ ? समाधान के हुन सक्छ ? यसका लागि आवश्यक पर्ने खर्चको प्रबन्ध सरकारले गर्नेछ । ७० प्रतिशत प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्ने हाम्रो लक्ष्य हो ।

यो यस आर्थिक वर्षको कार्यक्रम होइन । यो त मोटामोटी प्रक्षेपण न हो । हामीले हेर्दा अहिलेको जस्तो व्यावहारिक प्राविधिक, व्यावसायिक शिक्षा जो छ, अनुपात मिलेको छैन । जे चाहिने हो त्यो हुन सकेको छैन । हाम्रो शिक्षा तीन प्रकारको हुन्छ । प्राविधिक, व्यावसायिक र साधारण ।

गैरप्राविधिक शिक्षा पढाएर बेरोजगार उत्पादन गर्ने होइन । सर्टिफिकेट र प्रमाणपत्रको पीडाको विषय नबनोस् । अहिले प्रमाणपत्र पीडाको विषय बनेको छ । पढेको छ, मास्टर्स, जागिर पाइँदैन । जागिर खोज्न हिँड्दाहिँड्दै कति जोर जुत्ता फाट्छ ? दरखास्त हाल्दाहाल्दै कति ठाउँमा हस्ताक्षर गर्दै बाबुको नाम, आमाको नाम लेखिन्छ । नागरिकता नम्बर लेख्दालेख्दै हैरान भइन्छ । जागिर पाइँदैन । पर्याप्त रोजगारीको अवसर छैन । तर अब सर्टिफिकेटबाहेक मसँग केही छैन भन्ने हुनुहुँदैन । विज्ञापन गर्दा सर्टिफिकेट खोजेको हुँदैन । काम खोजिएको हुन्छ । जागिर खोज्नेलाई के आउँछ भनेर सोध्दा केही आउँदैन । विश्वविद्यालय पास गरेर, सर्टिफिकेट मात्र लिएर काम चल्दैन ।

सार्वजनिक र निजीबीचको पढाइको गुणस्तरमा खाडल छ । यी दुईबीच कसरी सहकार्य गराउन सकिन्छ ?
त्यहाँ पढ्न पाइँदैन, यहाँ पढाउनै पर्छ भन्नेजस्ता कुराहरूको खास अर्थ हुँदैन । निजी क्षेत्रलाई छाडा छाड्नु हुँदैन । गुणस्तर शिक्षा दिन्छु भन्ने नाउँमा टाई झुन्ड्याइदिएपछि जति पनि शुल्क लिन पाइन्छ भन्ने हुँदैन । निजीले राम्रो परिणाम दिन्छ किनभने ऊ प्रतिस्पर्धा गर्छ । त्यहाँको शिक्षकले राम्रो पढाएन र विद्यार्थीको गुणस्तर राम्रो आएन भने उसले घर जानुपर्छ । त्यसकारण उसले राम्रो पढाउनुपर्छ । योग्य शिक्षक छानिएको पनि हुन्छ । तलब पनि राम्रै पाउँछन् ।

एकातिर यस्तो छ भने अर्कोतिर सामुदायिकमा शिक्षक स्थायी छन्, पढाउन जान्दैनन् । जे पढाउनुपर्ने हो त्यो पढाउन जान्दैनन् । त्यहाँ गुणस्तर छैन । सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि भएपछि मात्रै यी दुईबीचको अन्तरविरोध मिलान हुन्छ । सामुदायिक विद्यालयका शिक्षकलाई तालिम छैन भने तालिम दिनुपर्छ । अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नैपर्छ । विज्ञान पढाउनेले विज्ञान पढाउन जान्नै पर्छ । बालबालिकाको भविष्य बर्बाद गर्न पाइँदैन । स्थायी भनेर ठाउँ ओगट्न पनि पाइँदैन ।

सामुदायिक विद्यालयमा कक्षा छाडेर राजनीति गर्ने शिक्षक पनि छन् नि ?
विद्यालय समयमा पढाउनै पर्छ । कक्षामा जानै पर्छ । गुणस्तरीय शिक्षा दिएकै हुनुपर्छ । मेरो त संगठनको मिटिङ छ भनेर कक्षा छाड्न पाइँदैन । विद्यालय समय अघिपछि शिक्षकले घरमा टमाटर फलाउँछ भने केही फरक पर्दैन । राजनीति विकृत ढंगबाट आएको छ । यो राम्रो होइन । पढाउने समयमा गैरजिम्मेवार ढंगले संगठन र दलको नाममा राजनीति गर्न पाइँदैन । विद्यालय र विद्यार्थीलाई भविष्यमा असर गर्ने गरी राजनीति गर्ने छुट कसैलाई छैन ।

विश्वविद्यालयमा पनि त राजनीतीकरण छ नि ?
अब विश्वविद्यालय होस् वा विद्यालय, राजनीतीकरणको कुरा समाप्त भयो । अब जनकरण, विकासकरण र अग्रमुखीकरण मात्रै हुन्छ ।

पछिल्ला केही वर्ष विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढिरहेको छ । कान्तिपुर र हिसानले नेपालमै उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारा दिएर शैक्षिक मेला गरिरहेको छ ? विदेश जाने विद्यार्थी रोक्न के गर्न सकिन्छ ?
अन्यत्रभन्दा नेपालमै उत्कृष्ट शिक्षा पाउन सकिन्छ । हामी विद्वान् पुर्खाका सन्तान हौं । हाम्रा पुर्खाले सारा अनुसन्धान र खोजी गरे । यस वातावरणमा र तपोभूमिमा ज्ञान लिन नसके अन्यत्र सक्ने भन्ने हुँदैन । त्यसकारण ज्ञान प्राप्तिका लागि प्रकृतिले सिर्जना गरेको भूमि र वातावरण यहाँ छ । नेपाललाई गुणस्तरीय शिक्षाको ‘हब’ बनाइन्छ र बन्छ ।

त्यसका लागि त उपयुक्त लगानी पनि चाहिएला नि ?
लगानीको चिन्ता गरेको भए चीन र अमेरिका यो अवस्थामा पुग्दैनथे । पैसा भएर कसैले विकास गरेका होइनन् । विकास गरेर पैसा भएको हो । गर्छौं भनेपछि त्यसमा उपाय निस्कन्छ । राम्रो भवन हुँदैमा गुणस्तरीय शिक्षा पाउने होइन । टिनको छाना भएको भवनबाट पनि योग्य इन्जिनियर उत्पादन गर्न सकिन्छ ।

-कान्तिपुर


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...