आदरणिय अनी प्रिय डाक्टर गोबिन्द केसी ज्यू,
कुवेतको मरुभूमिबाट नमस्ते अनी धेरै-धेरै सम्झना ।
कुवेतको मरुभूमिमा पिल्सिएको यो जीबनलाई आरामै छु भन्न बिबस भए जस्तै नेपाली दुखी जनताहरुलाई सुलभ उपचार,सबैलाई सुलभ श्वास्थ्य तथा मेडिकल माफियाको अन्त्यको माग सहित भोक हड्तालमा बस्दाकै अवस्थामा दल-बल सहित जुम्लाबाट काठमान्डौको टिचिङ अस्पातल पुर्याईएको तिम्रो श्वास्थ्यको अवस्था कस्तो छ? भन्न बिबस भएको छु। यतिका दिन सम्म अनी पटक-पटक जनाताकै श्वास्थ्य सेवा र सुबिधाका लागि भोक हड्ताल बस्दै आएको तिम्रो आफ्नै श्वास्थ्य अवस्था बिग्रिएको भन्ने खबरले अत्यन्तै चिन्तित छु।
“अरबमा खरबको सपना”देखेर खाडी पसेका हामी यतै दिनरात हाड-मासु खीइसक्दा पनि आफु र परिवार पाल्न धौ-धौमा परेर गुजरा चलाऊन गार्हो भएर यतै फसे जस्तै तिमीलाई पनि तिम्रो बुढो शरीर अनी तिम्रो जायज मागहरु प्रती बिगत र हालका सरकारले वा भनौ जुनसुकै सरकार आए पनि नसुनेकाले पटक-पटक भोक हड्ताल गर्दा कति गार्हो भैरहेको होला है?कतै तिमीलाई पनि हामी खाडीमै फसेको जस्तो नेपालका फोहोरी राजनीति गर्न पल्केका नेताहरुले फसाउने त होइनन?मलाई भित्र-भित्र डर लाग्न थालेको छ।
प्रिय डाक्टर,
तिमी आँफै सोच त आज सत्तामा बसेकाहरुले हिजो तिमीलाई अघी बढाएर तिम्रै मागहरुलाई निहुँ बनाएर तिम्रै नाममा सत्ताको लागि लुछा-चुडी गरेका थिए तर उनिहरुले अहिले बल प्रयोग गरे।जुम्ला अस्पातल देखी टिचिङ हुँदै नयाबानेश्वर सम्म हेर त तिम्रै नाममा सरकारपक्ष र प्रतीपक्ष ब्याडमिन्टन खेल्दैछन।त्यसै गरी आज तिमीलाई बोकेर हिंड्ने वा भनौ तिम्रै नाममा सत्ताको लागि मोल-मोलाई गर्नेहरु हिजो सत्तामा हुँदा तिमीलाई झुटो वाश्वासनमा झुलाई राखे।नत उनिहरुले हुन्छ भनेर माग पुरा गरे,नत हुन्ननै भने, केबल जिब्रो चपाइ रहे।त्यसैले प्रिय डाक्टर, ख्याल राख, तिमी त टिचिङ अस्पातलमा भोको पेटमा छटपटाइ रहेको छौ तर तिम्रो नाम बेचेर आफ्नो खल्ती भर्ने तिम्रा दही चिउरे आसे-पासेहरुले तिमीलाई घात गर्न सक्छन।“प्रिय डाक्टर तिमीलाई राजनीतिको गोटी नबनाइयोस” भनेर यत्र-तत्र हामी सबैले खबररदारी गरे पनि माफियाकै पक्षधर केही नेताहरु र केही राजनीतिक पार्टीहरु अनी तिनिहरुका कार्यकर्ताहरु तिम्रै नाममा राजनीति अनी सात्ताको मोल-मोलाई गरिरहेका छन।
तिमी त जनताको प्रिय डाक्टर,चाहे तराइ डुब्दा होस वा पहाडमा पहिरो जाँदा वा देशका दुर-दराजमा बिपत्ती पर्दा, तिमी माग्नेले झोला बोके जस्तो आँफै झोला भरी औषधी बोकेर जान्थ्यौं।तिमीले न घाम भन्यौ न त पानी, कहीँ-कतै आपत-बिपत आयो कि, तिमी सिधैं गरीबकै बस्तीमा पुग्थ्यौ।तर अब त तिम्रो उमेर पनि ढ्ल्कदै गयो, शरीर पनि कमजोर छ र पनि जनताकै लागि भोक हड्तालमा छौ।हेर त आज तिम्रै नाममा देश-बिदेशमा समर्थन भई रहदा नेपालका प्राय सरकारी अस्पातलका धेरै डाक्टरहरु तिम्रै समर्थनमा सर्बसाधारणको उपचार सेवा ठप्प पारेर आफ्नो निजी अस्पातल र क्लिनिकहरुमा भिड बढाइ रहेका छन।
यता वीर अस्पातलमा खुट्टाको क्यान्सरको उपचार गराउन बैतडीबाट २ दिन बोकाएर अनी १ दिन बस चडेर आएका कटी भुल जस्तै धेरै गरीब अनी रोगले छटपटाइ रहेका जनताहरु आफ्नो रोगी शरीर काठमान्डौको खुल्ला आकाशलाई घर बनाएर गल्ली-गल्लीमा भोको पेटमा पोटुका बान्दै डाक्टरको आन्दोलन सकिए पछी उपचार गराउने आशामा घर फर्कने पैसा सक्दै भौतारी रहेका छन।डाक्टर अब भन तिम्रो नाममा सबै सरकारी डाक्टरहरुले सेवा नै ठप्प पारेर गरेको राजनीति र निजी अस्पातल सपार्ने र गरीब जनतालाई “खाए खा नखाए घिच”भने जस्तै गरी निजी अस्पातलमै उपचार गराउन बाध्य बनाएर रिण थोपार्ने काम कहिले सम्म हुन्छ?
चिठ्ठी लेख्दा-लेख्दै लामो भयो, प्रिय डाक्टर,
कृपया तिम्रो नाम बेचेर दाम कमाउने अवस्था आउन नदेउ।धेरै रोगी गरीबहरुलाई निजी अस्पातलको बिल थमाउदै उनिहरुको गरीबीमा रमाउदै हिंड्ने मेडिकल माफियाहरुलाई समाप्त पार्न सबै ठाउँको स्वास्थ्य सेवा सुचारु गराउ।तिम्रा मागहरु पुरा गराउन कुनै राजनैतीक पार्टी र कार्यकर्ता होइनन गाउ-गाउबाट आमा-बुवा, दाजु-भाइ,दिदी-बहिनीहरु सडकमा ओर्लन तयार छन।तिम्रा मागहरुमा १ नम्बरमा एउटा अर्को माग थप्न म पनि अनुरोध गर्दछु”नेपालका सम्पूर्ण मेडिकल कलेजहरु सरकारी करण गरिनु पर्छ,पैसा हुनेले मात्र डाक्टर पढन पाउने होइन जो पढाईमा तिख्क्ष्ण र तेजिला छन उनिहरुले पावर र भनसुनबाट होइन पढाई र लगनशिलताबाट डाक्टर पढ्न पाउनु पर्छ।”
अन्तमा,प्रिय डाक्टर तिमी महान छौ, महान रहिरहने छौ तर अरुको रिमोटमा चल्ने होइन आफ्नै अडानमा बस, आफ्नो श्वास्थ्यमा ख्याल गर अनी सम्झ तिमी बचेँ मात्र तिमीले अरुलाई बचाउन सक्छौ-तिमी हासेँ मात्र हामी हासेको देख्ने छौ र आफु श्वस्थ भए मात्र अरुलाई श्वस्थ राख्न सक्छौ।
तिम्रै शुभ-चिन्तक
हरी कृष्ण न्यौपाने
कुवेतको खाडीबाट
-पत्र प्रेशक नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष हुन।