Tuesday 28th April 2026

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सिता बादीले पदमा बस्दा १० काम “नगर्ने”


तितोपाटी-महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु।’ भन्दै  कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राखेको काम गरेको बताएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा ‘नगर्ने’ १० वटा कामहरूको सूची यस प्रकार रहेको छ ।
प्रिय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू,
जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको छ। यस अवधिमा म आफ्ना केही विचार र प्रतिबद्धता यहाँहरू सामु राख्न चाहन्छु। जिम्मेवारी सम्हालेपछिका कामबारे आगामी दिनमा अद्यावधिक गर्नेछु। अहिले भने मैले नगर्ने केही विषयहरू स्पष्ट गर्न चाहन्छु।
पद र जिम्मेवारीमा म निम्न कामहरू गर्दिनँः
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ।
२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ।
३. कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने/गराउने काममा संलग्न हुने छैन। त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु। यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन।
७. राज्यका कुनै पनि स्रोत–साधनको दुरुपयोग गर्दिनँ।
८. सरकारी सेवा छिटो गराइदिन shortcut खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन।
१०. “भोट दिएको हुँ” भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन; सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा भने सम्भव भएसम्म म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु।
मलाई विश्वास छ—सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ।
हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ।
आउनुहोस्,
सम्बन्ध होइन—नियमको सम्मान गरौं।
दबाब होइन—न्यायको साथ दिऔं।
व्यक्तिगत स्वार्थ होइन—समाजको हितलाई प्राथमिकता दिऔं।

सम्बन्धित शीर्षकहरु

तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन…

तितोपाटी- सैनिक जीवनबाट अवकाश पाएपछि धेरैजसो मानिसको जीवन शान्त, विश्राम र पारिवारिक दायरामा सीमित हुन्छ। कतिपय त सुख–सुविधा खोज्दै शहर…

तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले…

प्रतिकृयाहरू
...