Sunday 4th October 2026

लघुकथाः- पागल आइमाई -सुजाता बस्याल


सुजाता बस्याल – सिर्जना हिजोबाट निकै खुशी थिइ । भनौँ, उसको खुसी दोब्बर भएको थियो । भर्खर नि.मा.वि तहसम्म शिक्षणका लागि लाइसेन्स प्राप्त गरि । भोलि उसको बिहे हुँदै थियो, शिवसँग । शिव उसकै गाउँको युवक हो । उनीहरुले सात कक्षासम्म सँगै पढे । त्यसपछि शिव परिवारसँगै बसाई सरेर अर्कै ठाउँ गए । सामाजिक संजालको मदतले शिव र सिर्जनाको फेरि भेट भयो ।
बिस्तारै उनीहरुको मित्रताले प्रेमको रुप लियो । बालाई अख्तियारले पक्राउ गरेपछी सिर्जनाले घरको जिम्मेवारीलाई काँध दिएकी थिइ । उ परिपक्व, मिहिनेती र असल थिइ । दुवै परिवारको सहमतिमा उनीहरुको विवाह पक्का भयो । जब शिव सिर्जनाको सिउँदो रङ्ग्याउँदै थियो, आफ्नो जन्मघर , तीन वर्षसम्म अध्यापन गराउँदै आएको विद्यालय र साथीहरुप्रतिको प्रेम उसका आँखाबाट निरन्तर झरिरहेका आँशुका थोपाहरुले प्रष्ट हुन्थ्यो । सिर्जनाले कर्मघरमा पाइला टेकी ।आफन्तहरु जम्मा भएका थिए । सबै विधि राम्रैसँग सम्पन्न भयो । राती शिव र सिर्जनाले प्रेम साटासाट गरे ।
उनीहरुको बिहे भएको पनि एक हप्ता पुगिसकेको थियो । माइती पनि गाउँमै भएकोले सिर्जनाले घरको सबै काम राम्रैसँग गरिरहेकी थिइ । बिहान सबेरै उठ्नु, घर सफा पार्नु, लिपपोत , गोठमा गाईवस्तुको हेरचाह, चिया नास्ता इत्यादि काम उसलाई अह्राउनु पर्दैनथ्यो ।
शिवले काम गर्ने अफिस गाउँबाट टाढा थियो । घरबाट आउजाउ गर्न अलि सम्भव थिएन । उसको फर्कने दिन आयो । सिर्जना खुब रोइ ।
” म आमाबुबा र भाइहरुसँग सल्लाह गरेर तिमीलाई पनि चाँडै उतै लैजान्छु ।”, सिर्जनाका हात सुमसुम्याउँदै शिवले भन्यो । उ त्यही आशले मुस्कुराइ । शिव फर्कियो, सिर्जनालाइ पनि घरको कामले भ्याइनभ्याई थियो । हरेक रातको कुराकानीमा सिर्जना प्रश्न गरिरही , आफुलाइ कहिले लैजाने भनेर , शिवले शीर्षक बदलिरह्यो । दुरिले टाढा भएपनी उनीहरुबिचको प्रेम निकै गाढा थियो । एकाअर्कालाई खुब माया गर्थे ।
अचानक शिवको सरुवा भयो, राजधानीमा । घरमा सबै खुशी थिए । गाउँमै हुर्किएकी सिर्जनालाइ पनि राजधानीमा दिन कटाउने ठूलो धोको थियो, त्यसैले फुरुक्क थिइ । तर शिव राजधानी पसेपछि सिर्जनाले सोँचेजस्तो केही भएन । उनिहरुको कुराकानी पातलिँदै गयो । सिर्जनाले माइतीमा छँदाजस्तो घरमा पढ्न पाएकी थिइन । उ निकै चिन्तामा थिइ । शिवले महिनामा दुईतीन पटक मात्रै फोन गर्थ्यो । सिर्जनाले केही सोध्यो कि झर्किइहाल्थ्यो ।
आमा बा जिउँदै हुँदाहुँदै पनि सिर्जना टुहुरी भएकी थिइ । उसका सपनाहरू उसकै अगाडि मरिरहेका थिए । उ ती सपनाहरूलाई चाहेर पनि ब्युँझाउन सकिरहेकी थिइन । बिस्तारै सिर्जनालाइ मानसिक समस्या देखिन थाल्यो । उ आफैलाइ बिर्सन लागेकी थिइ ।
दशैँतिहारको विदामा शिव घर आयो । उसले सिर्जनालाइ बाहेक घरमा सबैका लागि कोसेली ल्याएको थियो । शिव घर फर्कँदा सिर्जनाका सपनाहरू फेरि जुर्मुराउन खोजे तर त्यसो भएन ।
उसले छोरा जन्माइ । आफ्नो ख्याल गर्न नसकेपनी उ छोरालाई भने खुब माया गर्थी । उसलाई राम्रोसँग हेरचाह गर्न सक्थी । तर मानसिक समस्याले भने सिर्जनालाइ गलाउँदै गयो । गाउँमा उसलाई पागल आइमाईको संज्ञा दिइएको थियो । शिवले काठमाण्डुमा अर्को बिहे गर्यो रे भन्ने गाइँगुइँ हल्ला सुनियो ।
सिर्जना जिउँदै मरेकी थिइ । आफ्नै ससुरा र साहिँला देवरबाट पटकपटक यौन हिंसा खेपेपछी बल्लतल्ल छिमेकी सीता काकीलाई सुनाइ तर वर्षौंदेखि पाएको ‘पागल आइमाई’ नामले उसको कुरामा विश्वास गरिदिने कोहि भएन । एक हप्ता भएको थियो, सिर्जना र छोरो हराएका थिए । घरमा कसैलाई वास्तै थिएन ।

महिनौँपछी गाउँभन्दा परको जङ्गलमा अलिकति हड्डिको थुप्रो थियो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...