Sunday 11th May 2025

नेपाली चेली खोज्न भारतमा ‘अपरेशन’


तितोपाटी-जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।

भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकाँश महिलाले नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् । भारतको कोठीबाट नेपाली चेलीको उद्धार गरेर फर्काउनु कम्ती चुनौतीपूर्ण छैन । बेचिएका र जोखिममा परेका चेली फर्काउन नेपाल र भारतबीच सन्धि सम्झौता छैन । त्यस्तै, कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने साँठगाँठका कारण उद्धारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने गरेको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालले भारतका विभिन्न ठाउँमा खोजी ‘अपरेशन’ सञ्चालन गरी एक वर्षमा ५४ जनालाई फर्काएको छ । माइती नेपाल नेपालगञ्जले आर्थिक वर्ष २०७५/७६ मा ५७ चेलीको विदेशी भूमिबाट उद्धार गरेको छ जसमा तीन जना तेस्रो मुलुकका रहेका छन् । माइती नेपाल चेलीहरुको उद्धार गर्न आफ्नै संयन्त्रमार्फत भारतको नयाँ दिल्ली, आगरा, मेरठ, इलाहाबाद लगायतका स्थानमा पुगिरहेको हुन्छ ।

माइती नेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइराला धेरै पटक चेलीहरु खोज्न भारत पुगेको बताउँदै भन्नुहुन्छ – “नेपाली चेली बेचिएका स्थानहरुमा रेकी गरेर चेली भएको सुनिश्चित भएपछि भारतस्थित सङ्घ, संस्था र स्थानीय प्रहरीको सहयोगमा छापा मार्ने गरेका छौं । सूचना चुहिँदा कतिपय बेला सोचेजस्तो सफलता हात नपर्ने पनि हुने गरेको छ ।” माइती नेपालले सूचना चुहिने जोखिमले स्थानीय प्रहरीभन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिने गरेको छ । भारतका कोठीमा छापा मार्दा माइती नेपालको टोली आफैं खोजीका लागि सक्रिय हुने गरेको छ । कोठीमा बेचिएका युवतीहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । संयोजक कोइराला कोठीमा छापा मार्दा उनीहरुलाई च्यानल गेटभित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाएमा सुरुङ्गभित्र लुकाएर राख्ने गरेको पाइएको अनुभव सुनाउनुहुन्छ । “कोठीमा भोगेको नारकीय जीवन सबैले थाहा पाउने भय र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्धारलाई अस्वीकार गर्न खोज्छन्,” उहाँले भन्नुभयो – “त्यसैले हामी उनीहरुलाई काउन्सिलिङ, कानूनी उपचार र पुनःस्थापनामा पनि सहयोग गर्छौं ।”

माइती नेपालले चेलीहरुको उद्धारपछि भारतस्थित सरकारी आश्रयस्थलमा राख्ने गरेको छ । “कोठी सञ्चालकविरुद्ध कानूनी कारवाही र क्षतिपूर्तिका लागि समेत भारतमा सहजीकरण गर्दर्छांै,” उहाँले भन्नुभयो । माइती नेपालले श्रम र यौनशोषणमा परेकाहरुको उद्धार गर्दैआएको छ । माइती नेपालले आव २०७४/७५ मा ५२, २०७३/७४ मा ५१, २०७२/७३ मा २६, २०७१/७२ मा १९, २०७०/७१ मा ३१, २०६९/७० मा १४ र २०६८/६९ मा चारजनाको उद्धार गरेको छ । माइती नेपाल नेपालगञ्जले भारत प्रवेश गर्ने नाकामा निगरानी गर्दै जोखिमपूर्ण यात्रा गर्नेहरुको उद्धार गर्दै आएको छ ।उद्धार गरिएकाहरुलाई आवधिक गृहमा समेत राख्ने गरेको छ । आव २०७५/७६ मा ९०२ जनालाई माइती नेपालले सीमाबाट उद्धार गरी आवधिक गृहमा पठाएको थियो । उसले आव २०७४/७५ मा ९३०, २०७३/७४ मा १ हजार १२७, २०७२/७३ मा ८५०, २०७०/७१ मा ४०४ जनालाई उद्धार गरी आवधिक गृहमा राखेको थियो । माइती नेपालले आव २०७५÷७६ मा ३५१ जनालाई नेपाल–भारत सीमाबाटै परामर्श दिई घर फर्कायो । त्यसअघिको आवमा २८८ जनालाई माइती नेपालले सीमा क्षेत्रबाट फर्काएको थियो । घरपरिवारलाई थाहा नदिएर वा कतिपय सल्लाहले गएकाहरू केही महिनापछि सम्पर्कमा नआउने र आफन्तले त्यस्ता महिलाको खोजतलाश तथा उद्धारका लागि निवेदन दिने गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो । विपन्न, निरक्षर, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुःख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडी मुलुकमा पु¥याउने गरेका छन् । आफ्नै ठाउँमा दुःखले बाँच्नुभन्दा खाडीमा गएर काम गरेमा पैसा कमाइन्छ भन्ने मानसिकताले दलालको पछि लाग्ने धेरै छन् । घरमा पनि दुःख पाएकै छौँ, खाडीमा गए त यहाँ भन्दा के नै दुःख होला र भन्ठानेर दलालको पछि लाग्नेको पनि कमी छैन ।
“त्यसरी अवैधानिक तरीकाले खाडी मुलुकमा जाँदा धेरै महिलाले दुःख पाएका छन्,” उहाँले भन्नुभयो – “भारतीय शहरमा बेचिने महिला पनि सामाजिक सञ्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएका धेरै छन् ।” खाडी जाने र नक्कली प्रेमको फन्दामा देश छाड्न खोज्ने अबोध महिलालाई छेक्न नेपालगञ्ज नाकामा प्रहरीसहित आधा दर्जन मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यति हुँदाहुँदै पनि महिलालाई यो नाकाबाट भारत र भारत हुँदै खाडी मुलुक पु¥याउने दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाइ छ ।
जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क हेर्दा नेपालगञ्ज नाका सधैं अगाडि देखिएको छ । भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकाँश महिलाले आफूहरु नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् ।
दलालको राम्रो काम र दामको झूठो आश्वासनमा परेर भारत तथा खाडी मुलुक गएका महिला लामो समय आफन्तको सम्पर्कमा नआएपछि घरपरिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने सङ्घसंस्था र प्रहरीमा खोजीका लागि निवेदन दिने गरेका छन् । पछिल्लो समयमा दिल्ली महिला आयोग, भारतीय प्रहरी, नेपाली दूतावास, मानव बेचबिखनविरुद्ध काम गर्ने सङ्घसंस्थाले भारतीय कोठीबाट उद्धार गरिएका अधिकाँश महिलालाई आफन्त तथा नक्कली मायाजालमा पार्नेले त्यहाँ पु¥याएको पाएका छन् ।
साभार नारायणी अनलाईन


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...