Friday 2nd October 2026

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यविधि


तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो ।

विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् । वैदेशिक रोजगारीमा हुने ठगी तथा गैरकानुनी कार्यको प्रभावकारी नियन्त्रण गर्न विभागले कार्यविधि निर्माण गरेको हो । कार्य विधिअनुसार बिदाका दिनमा पनि विभागले एजेन्सीको आकस्मिक अनुगमन गर्न सकिनेछ । एजेन्सीले बिदाका दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्तर्वार्ता लिनेजस्ता कार्य गर्न थालेको गुनासो आएपछि विभागले अनुगमन कार्यविधि बनाएको हो ।

वैदेशिक रोजगार विभागले विश्वस्त सूचनाका आधारमा मात्रै अनुगमन टोली परिचालन गर्नुपर्नेछ । विभागले जारी गरेको कार्यविधिअनुसार अनुगमन र पूर्वसूचना अध्ययन स्पष्ट भएपछि मात्रै अनुमगन टोली परिचालन गर्नुपर्ने व्यवस्था गरकोे छ । जोखिमको आकलन गरी सुरक्षाको आवश्यक प्रबन्ध मिलाउनुपर्नेछ । कारोबारस्थल सिलछाप गर्नुपर्ने भए मुचुल्का तयार गर्नुपर्नेछ । अनुगमनबाट फर्किसकेपछि २४ घन्टाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदन नबुझाउँदासम्म गोपनीयता कायम गर्नुपर्नेछ ।

अनुगमन टोलीमा खटिएका कर्मचारीले निष्पक्ष कार्यसम्पादन गर्नुपर्नेछ । अनुसन्धानका क्रममा सम्बन्धित व्यक्ति वा पक्षलाई सम्मानजनक व्यवहार गर्नुपर्नेछ । त्यस्तै, वैदेशिक रोजगार व्यवसायी वा वैदेशिक रोजगारमा अप्रत्यक्ष रूपले संलग्न शैक्षिक परामर्श दाताको प्रतिनिधि वा एजेन्ट भई काम गर्नुहुँदैन । अनुगमन गर्दा सम्बन्धित संस्थाले वैदेशिक रोजगारीका लागि विभागबाट पूर्वस्वीकृति लिए–नलिएको हेर्नुपर्नेछ । रोजगारीमा जान इच्छुक व्यक्तिबाट असुलको रकमको आधार, श्रम करारको कागजात, शुल्क, भिसामा उल्लिखित विवरणलगायतको चेकजाँच गर्नुपर्नेछ ।

प्याराडाइजमा आकस्मिक अनुगमन
वैदेशिक रोजगार विभागले आइतबार ललितपुरस्थित प्याराडाइज इन्टरनेसनलको आकस्मिक अनुगमन गरेको छ । अनुगमनमा कामदारबाट तोकिएको भन्दा १२ गुणा बढी सेवाशुल्क लिइरहेको अवस्थामा विभागले फेला पारेको हो ।

विभागले तोकिएभन्दा बढी रकम लिई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीमाथिको कारबाही तीव्र पारेको छ । बिदाको दिनमा समेत अवैधानिक तरिकाले कामदार छनोट गर्ने तथा झुटो सूचना फैलाई वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई अन्तर्वार्ताका लागि बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक अनुगमन सुरु गरेको हो ।

अनुगमनमा वैदेशिक रोजगारीका लागि उक्त प्रालिबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ, कुमार गुरुङ, सुमन सार्की र गंगा परियारलाई बुझाउन लगाइएको रकममध्ये कुमार गुरुङ र देवेन्द्र गुरुङबाट बुझ्दै गरेको क्रमशः १ लाख १५ हजार र १ लाख १० हजार रकम जफत गरेको छ । गंगा परियारले आइएमईबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले युएईमा क्लिनर पदका लागि जान पोखरामै सबिना गुरुङलाई १ लाख ३० हजार रकम बुझाएको विभागले बताएको छ ।

साभार नया पत्रिका


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...