Saturday 31st October 2026

बाढी–पहिरोले देशभरका सडक प्रभावित, पृथ्वी राजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध


लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द भएपछि यात्रु र सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने आवतजावतमा ठूलो समस्या भएको छ।

धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर क्षेत्रमा माथिबाट पहिरो झरेपछि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा पूर्ण बन्द भएको छ। यसले काठमाडौं, पोखरा र पश्चिम नेपाल जोड्ने मुख्य मार्गमा यातायात प्रभावित भएको छ।

त्यसैगरी बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ गिम्दीबेँसी र वडा नं. ९ पिनथली क्षेत्रमा खहरेखोलाबाट ढुंगा, माटो र लेदो बगेर आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसे स्थित कर्णाली राजमार्गमा पनि सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। यस्तै, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत यातायात प्रभावित भएको छ।

ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न स्थानमा पनि समस्या देखिएको छ। लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि केही सडक खण्डमा सवारी आवागमन रोकिएको छ।

त्यसैगरी कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको राक्से र पाल्पाको कासिबन क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। माथिबाट झरेको ढुंगा र माटोले सडक पुरिएपछि यातायात सञ्चालन हुन सकेको छैन।

यता मुगुको ताल्चा क्षेत्रस्थित नाग्म–गमगढी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। विभिन्न जिल्लामा सडक बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन्।

प्रहरी र सडक विभागका टोलीहरू सडक खुलाउने प्रयासमा जुटेका छन्। तर निरन्तर वर्षा जारी रहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको बताइएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा पहिरोग्रस्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई ५०० वटा Patriot PAC-3 MSE वायु प्रतिरक्षा मिसाइल बिक्री गर्न अनुमति दिएको छ। यी मिसाइलहरू रुसले…

प्रतिकृयाहरू
...