Saturday 31st October 2026

पहिरोले हेटौँडा–काठमाडौं जोड्ने दुई सडक बन्द, यात्रु अलपत्र


लगातार परेको वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्। यसले यात्रा गर्ने सर्वसाधारणलाई ठूलो समस्या भएको छ।

शनिबार बिहान इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी स्थित पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा बन्द भएको हो। सडक बन्द भएपछि सवारीसाधन चल्न सकेका छैनन् र यात्रुहरू बाटोमै रोकिएका छन्।

प्रहरी घटनास्थलमा पुगेको छ र पहिरो पन्छाउन जेसीबी ल्याउने तयारी भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले सडक खुलाउन समय लाग्न सक्ने बताइएको छ।

त्यसैगरी, कान्तिलोकपथ अन्तर्गत मकवानपुरको गंगटे र ललितपुरको पाङदुरे क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। शुक्रबारदेखि परेको लगातार वर्षाका कारण शनिबार बिहानदेखि नै यातायात सञ्चालन हुन सकेको छैन।

प्रहरीका अनुसार मकवानपुरतर्फको पहिरो पानी रोकिएपछि हटाउन सकिने अवस्था भए पनि ललितपुरतर्फ ठूलो पहिरो खसेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

सडक बन्द भएपछि हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन ठिंगन क्षेत्रमा रोकिएका छन् भने काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन छैमले आसपास रोकिएका छन्।

पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक समेत लगाएको छ।

दुवै छोटो दूरीका सडक एकैपटक बन्द हुँदा हेटौँडा र काठमाडौंबीच यात्रा गर्ने यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र मौसमको जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई ५०० वटा Patriot PAC-3 MSE वायु प्रतिरक्षा मिसाइल बिक्री गर्न अनुमति दिएको छ। यी मिसाइलहरू रुसले…

डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति भएको यो घटनापछि प्रहरीले…

प्रतिकृयाहरू
...