चक्रवात ‘अर्नब’ को प्रभावले मुस्ताङको उपल्लो क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भएको छ। हिमपातका कारण नेपाल–चीन सीमा जोड्ने कोरला नाका बन्द भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडक अवरुद्ध भएको छ।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड क्षेत्रमा शुक्रबार रातिदेखि लगातार हिमपात भइरहेको छ। कोरला नाका आसपास दुईदेखि तीन फिटसम्म हिउँ जमेकाले सवारीसाधन र पर्यटकको आवागमन रोकिएको छ।
यता, छुसाङदेखि तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा विभिन्न स्थानमा पहिरो खसेको छ। यसका कारण सडक यातायात ठप्प भएको छ र मालवाहक कन्टेनरहरू बीच बाटोमै रोकिएका छन्।
प्रशासनले स्थानीय बासिन्दा, पर्यटक र सवारी चालकलाई सावधानी अपनाउन तथा मौसम सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। हिमपात र वर्षाका कारण चिसो बढेकाले स्थानीय जनजीवनसमेत प्रभावित बनेको छ।