लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण सडकमा सवारीसाधन चल्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय ले वर्षा निरन्तर भइरहेकाले तत्काल सडक खुलाउन कठिन भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रे का अनुसार रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पनि पहिरो खसेको छ। एउटै राजमार्गका दुई स्थानमा पहिरो खसेपछि पूर्वी नेपाललाई राजधानीसँग जोड्ने महत्त्वपूर्ण सडकमार्गमा सवारी आवागमन ठप्प भएको छ।
प्रहरीले सडक अवरुद्ध भएपछि यात्रामा रहेका सवारीसाधन सुरक्षित स्थानमा रोक्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिए पनि क्षेत्रमा वर्षा निरन्तर भइरहेकाले तत्कालै बाटो खुल्ने सम्भावना कम रहेको बताइएको छ।
बीपी राजमार्ग बन्द भएपछि काठमाडौं र पूर्वी नेपालबीच यात्रा गर्ने यात्रु तथा मालवाहक सवारी प्रभावित भएका छन्। प्रशासनले आवश्यक सावधानी अपनाउन र यात्रा अघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।