Tuesday 16th April 2024

स्वतन्त्र भनेर नउफ्र साथी हो


तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक निर्वाचन प्रणालीको घातक पुच्छरबाट देशको राजनिती क्यान्सरको रोगी झै रुग्ण भएको छ यसलाई कसरी फेर्ने होला भनेर बहस गर्न जरुरी छ ।

जहाँ सम्म स्वतन्त्र लाइ जिताउदा केही होला भन्ने कसैको मनमा भ्रम छ भने बेलैमा निकाल्न जरुरी छ । हो उसले जिते जागिर पाउला भावी सरकारको अंक गणितको खेलमा तुलो बन्न पुग्ला र बेला बेला का सरकार फेरबदलका खेलहरुमा गतिलो झोला बोकेर निस्केला । नेपालमा सरकार बनाउने र विर्गाने खेल भारतिय दुतावासबाट हुन्छ र उसले सवै नेपालका राजनैतिक शक्तिमा पुगेका मनुवाहरुलाई सके पैसाले नसके धम्किले आफ्नो अनुकुल चल्ने बनाउछ । दलहरुमा त एउटा शक्ति र समुह हुन्छ उसलाई काबुमा ल्याउन केही असहज नै हुन्छ तर एक स्वतन्त्रलाई त एक करोड भए पुग्छ । यस्ता करोड होईन अरब को खेल पनि उसको स्वार्थ अनुकुल भएन भने खेली दिन्छ । यो ती स्वतन्त्रका उमेद्धारले पनि बुझेका छन । उनीहरुलाई सांसद हुन पाए आफ्नो मोल कति पुग्छ भन्ने पनि थाहा छ । दलहरुको अर्कमन्यताबाट, नेताहरुको क्रियाकलापबाट उत्पन्न वितिष्णा र कुण्ठा फेरी पनि स्वतन्त्र जिताउदा पुरा हुन्छ भन्ने होईन । यीनैलाई सच्याउने हो र यीनै दलहरु मध्ये को कम खराब छ छान्ने हो ।

सवै स्वतन्त्र हर्क वा बालेन हुदैनन । त्यस्तै हुन्छन भनियो भने पनि उनीहरुको भूमिका सरकार चलाउने, मन्त्री बनाउने र आफ्नो निती र योजना लागु गर्ने तहमा हुदैन । स्थानिय तहमा निर्वाचित पदाधिकारी जस्तो सांसदको पद होईन । एउटा सांसदले आफ्नो निर्वाचन क्षेत्रको एउटा पनि विकाश निर्माणको कामको अगुवाई गर्न सक्दैन र त्यो उसको काम होईन । उनीहरुले निती, थिती र देशमा शुसाशनका लागि भूमिका खेल्ने हो तर त्यो काम उनीहरुले नगरेर जसको सरकार बन्छ त्यसको पार्टीले गर्ने भएकाले स्वतन्त्रले केही असल काम गर्छ भनेर पत्याउन सकिन्दैन । हो यो पार्टीले गरेन उ पार्टीले गरेन भनिरहदा कुनै नयाँ पार्टीलाई राष्ट्रिय रुपमा सवल बनाउने हो भने त्यो बेग्लै कुरा हो । जस्तो भारतमा केजरीवाल उदाए । भन्नुस त अहिले का स्वतन्त्र उमेद्धारहरु भन्दा सयौ गुणा राम्रो सांसद नारायणमान विजुक्छे होईनर ? तर दुई चार सांसद भएको पार्टीले समेत केही गर्न सक्दैन भन्ने त सवैलाई थाहा छ नी । एक थरी मानिसले प्रधानमन्त्री भएको हेर्न चाहेको मानिस राजेन्द्र लिंगदेन पनि होईनर ? उनी सांसद थिए नी तर एक्लो बृहस्पति झुठा भने झै के गर्न सके त उनले ? यसर्थ केही स्वतन्त्र सांसदले जितेर जादैमा देशको कायापलट हुन्छ भन्ने छैन बरु देश अरु बरबाद हुन जान्छ । प्रदेश सरकारहरुमा कति किनबेच, सांसद अपहरण, दलबदल भए देखिएको कुरा होईनर ? तुलोको रुपमा स्वतन्त्र सांसदलाई जिताएर देशलाई अझै बरबाद गर्नु छ भने कुरा बेग्लै हो ।

यहाँ स्वतन्त्र उमेद्धार कस्ता छन हेर्नुस त । कुनै राजनैतिक दलबाट टिकट नपाएका, कारबाहीमा परेका, माफियागिरी, तस्करी , व्यपारी, ओभर महत्वाकांक्षी यस्तै यस्तै छन । गाउँमा बस्दै नबस्ने, विदेशमा परिवारको सदस्यलाई थान्को लगाएका, राजधानिमा कालोकोट लगाएर विचौलियाको काम गरेर पैसा जम्मा गरेका अनेक अनेक प्रकारका अनुहार गाउँमा पसेका छन, त्यसमा पनि नझुक्निुहोला अधिकांश त “सिआईए” र “रअ” का एजेन्ट हुन । केन्द्रमा पहुच र परिचय बनाएका अनि उग्र राष्ट्रबादी कुरा गर्ने आफू चाही भित्र भित्रै जासुसी गर्नेहरु बैधानिक लाईसेन्स खोज्दै गाउँ आएका छन । सवैलाई एउटै डालोमा त नहालौ तर विशुद्ध कमै छन । जनताको मत माग्न स्वतन्त्र भएर राजधानीको बास छाडेर गाउँमा छिर्ने तपाईको मान्छे हुनै सक्दैन । रातदिन जनतासँगै बसेर उनीहरुको दुःख सुख बुझेका कयौ युवा छन ती मध्ये कोही तपाईको क्षेत्रको स्वतन्त्र उमेद्धार बनेको भए तपाईको मर्जी नत्र टुरिष्ट स्वतन्त्र उमेद्धारले तपाईको मत लिएर बेपत्ता हुनेछैनन भन्ने कुनै ग्यारेन्टी छैन । टेलिभिजनमा मिठा कुरा गरेको वा माईतिघर मण्डलामा उफ्रेका भरमा उ तपाई को जनप्रतिनिधी हुन सक्दैन यो हेक्का हुन जरुरी छ । काठमाण्डौ मा त्यस्ता मानिसले उठ्ने हिम्मत किन गरेनन र गाउँ पस्दैछन ? त्यहाँ त तपाईको ठाउँका जस्ता सिधा मानिस कमै छन । को कस्तो उनीहरुले निहालिरहेका छन त्यसैले तपाई को सोझोपन खरिद गर्न गाउँ आएका हुन भनेर बुझे पनि हुन्छ । विगतका निर्वाचनमा त उतै बसेर भोट हाल्नेहरु अहिले उमेद्धार बनेर गाउँ पस्दा पत्याई दिने ?

दलको विकल्प दल नै हो । कोही भ्रम मा नपरौ । तितो पोख्नु छ पोखौ तर मत दिदा गल्ती नगरौ । दलका सवै नेताहरु खराव छन भन्ने हुईम छ त्यस्तो होईन । तपाईले जुन दलको उमेद्धार असल छ , चरिबवान छ , राष्ट्रवादी छ । हनुमान चालिसा मात्र जपेर बस्दैन त्यस्तो मानिस लाई सांसद बनाउनुस । तपाईको पार्टी ले दिएको उमेद्धार ठिक लागेको छैन भने अर्को पार्टीको उमेद्धार छान्नुस तर छाली खान आउने स्वतन्त्रहरु लाइ कदापी मत नदिनुस , किन उसले कुनै दल भित्र बसेर त्यहाँ काम गर्न चाहादैन सोध्नुस । रातारात कोही नेता हुन सक्दैन त्यसो गरियो भने त्यस्ता नेताले देश र जनता बुझ्दैन । नेपालका दलहरु ले काम गर्न नसकेको उनीहरुका मुख्य नेता दलाल भएर हो । सांसदहरु खराव भएर होईन । मुख्य नेताहरु असक्षम भएर हो । कुन दलको कुन मुख्य नेता ले काम गर्न सक्छ भन्ने खोजौ । र त्यही दल रोजौ । स्वतन्त्र स्वतन्त्र भन्दा देशमा छाडातन्त्र नफैलियोस ।


सम्बन्धित शीर्षकहरु

चित्रमा पञ्चाङ्ग =========== भाग: १०५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१२/१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद…

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

प्रतिकृयाहरू
...