Friday 19th April 2024

अर्थमन्त्रीको इन्डक्सनको अर्थ


तोयानाथ उपेक्षित, तीतोपाटी/अर्थशास्त्रको सामान्य ज्ञान पनि नभएका हामी जस्ताले अहिलेको बजेटका विषयमा धेरै चर्चा गर्न सकिन्न र गरे पनि त्यो अल्पज्ञानका कारण सतही र बकबासपूर्ण हुन सक्छ । तर यो पनि सत्य के हो भने हाम्रा बर्तमान अर्थमन्त्री पनि हामी जस्तै छन र उनको कमेन्ट हामीले गर्दा अचम्म मान्न हुदैन । विज्ञहरुले त उनको अर्थनितीको विषयमा बोल्नै लजाउछन । उनले देशको अर्थतन्त्र आफ्नो बुद्धिले चलाएका छैनन र उनको अर्थतन्त्रको ज्ञानले मुलुक बन्दैन यो सवैले बुझेको विषय हो ।

फरक यति हो, उनका वरिपरी राज्य संन्यन्त्रले जुटाई दिएका विज्ञ छन, पार्टीका शुभचिन्तक वा समर्थक अर्थशास्त्री होलान र उनीहरुले जे सिकायो, जे बतायो अर्थमन्त्री ले त्यही बोल्नु उनको लागि अहम विषय हो । के गर्ने नेपालको राजनैतिक संस्कार र उद्धण्ड कर्मले मानिसलाई पुरस्कृत गर्दो रहेछन । उनलाई त्यसैको पुरस्कार स्वरुप अर्थमन्त्री हात लागेको छ । कसैले रिस गरेर भयो र ? अझ हामी जस्ता भुईमान्छेका कुरा न त त्यहाँ सम्म पुग्छ न त कसैले सुन्छ । फेरी पनि आफ्नै स्तरका श्रोता, पाठक र जनताका लागि जिज्ञाशा, गुनासा र विरोध शेयर गर्न केही लेख्ने प्रयास गरिएको मात्र हो ।

यसअघि मिस्टर जर्नादन शर्माले पाएको मन्त्रालय राम्रै चलाएका भान सवैलाई भयो । कुलमान जस्ता मानिसको सतप्रयास उनको राजनैतिक उचाईका लागि खुडकिलो भैदियो । जसको श्रेयले अहिले अर्थतन्त्रमा हात गाडने ठाउँमा पुगे । उनको राजनैतिक आवरण जे भए पनि आफूलाई सर्वहाराको नेता, क्रान्तिका योद्धा भनेर चिनाउने शर्मा आफ्नो कार्यालयमा झुपडबस्तीका तस्बीरहरु सजाएरे अर्थतन्त्रको ज्ञानको श्रोत त्यही भएको विज्ञापन गराउन पछि परेका छैनन । भुपडीबाट जन्मिएको उनको अर्थतन्त्रको ज्ञान के यो बजेटमा तपाई देख्न सक्नु हुन्छ ? त्यो बर्गको प्रतिनिधीत्व उनको मन्त्रालयले कहाँ गरेको छ कसैले भन्न सक्नु हुन्छ ? कथनी र करनीको भिन्नता विद्धान महोदय लाई छाडिदिउ ।

हामीले उनलाई हेर्ने चस्मा जस्तो भए पनि उनले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९ को बजेटले उनको भित्र र बाहिर दुईवटा रुप देखाएको छ । भरखरै प्रस्तुत बजेट ले पनि त्यही भन्छ । बजेट मा पटक्कै चित्त बुझाउन नसकिने धेरै कुरा छन त्यस मध्ये एकाध विषय मेरो चर्चामा समावेश छन ।

ईन्डक्सन चुलो
-साठी लाख नेपाली घर परिवारमा निशुल्क बाढने भनिएको चुलो कति प्रतिशत नेपालीले प्रयोग गर्न सक्लान ?
-दैनिक विहान दुई घण्टा र बेलुका दुई घण्टा प्रयोग गर्दा एउटा ईन्डक्सन चुलोले कति युनिट विद्युत खपत गर्दछ ?
-उक्त चुलोलाई प्रयोग गर्दा घरमा विधुत वेरिंग र स्वीच बोर्डको क्षमता कस्तो हुन पर्दछ ?
-नेपालमा भएको विद्युतीकरणमा ९० प्रतिशत गाउँका घरहरुमा १५ सय वाटको भ्याकुम चल्दैनन । चलाए सवै स्वीच बोर्डहरु जल्छन । अब ईन्डक्सन चुलो बाल्न पुन विद्युतीकरणका लागि भएका संरचना फेर्न पर्ने हुन्छ त्यो कुरा बल्ल बल्ल बत्ति बाल्ने किसानले गर्न सक्छन ?
-ईन्डक्सन चुलो सित्तैमा पाई हाले पनि त्यसमा खाना पकाउने भाडा किन्न पर्दा कम्तिमा थप ५ हजार खर्च गर्न पर्ने हुन्छ के त्यो संभव छ ?
-विना पूर्वाधार बाँडिएको ईन्डक्सन चुला चलाउदा ईलेक्ट्रिसीटीको क्षमता के हो भन्ने ज्ञान नभै कसैले रहरले प्रयोग गरि हाले त्यसले घरका लाईनहरु जलेर आगो लाग्ने सम्भावना रहन्छ ।
-विद्युत महसुल नघटाई दिईनेचुला लाई धनी मानिस र घरमा त्यसका लागि पूर्वाधार भएकाले पनि खासै प्रयोग गर्ने संभावना रहदैन । किनकी त्यो भन्दा पचास प्रतिशत सस्तो ग्यास पर्न जान्छ ।

बृद्ध भत्ता
एमालेले सधै भरी बृद्धभत्ताको नारा भजाएर जनताको भोट लियो भन्ने खटपटी मन्त्री शर्मालाई लागेको रहेछ । उनले एक कदम बढेर भत्ता पाउने उमेर नै घटाई दिए । बृद्धबृद्धासँगको सामिप्यता देखाउन खोज्ने यो चाल सर्वग्राह्य हुन सकेन । कमसेकम रकम बढाई दिएर उमेर जस्ताको तस्तै राखेको भए पनि एक हदसम्म समर्थन गर्न लायक हुने थियो तर त्यसो भएन ।
६८ वर्षको मानिस भत्ता खाएर बस्ने उमेरको हो भन्ने बुझाइ सरकारको हो भने अब यो मुद्धा आफ्नो पार्टीमा लागु गर्न पर्यो । ६८ बर्ष नाघेका सवै बृद्ध बद्धाहरुलाई विदा दिन सक्नु पर्याे । त्यो उमेर समुहका कसैलाई पनि सार्वजनिक अहोदाका पदहरुबाट मुक्ति गर्ने प्रस्ताव आउन परर्याे । बहालवाला मन्त्री, राजदुत, संबैधानिक निकायका पदाधिकारी लगायत जति पनि पर्दछन सवैलाई सवैतिरबाट अनिवार्य अवकाश दिने र लिनै पर्ने घोषणा गर्न सक्न परर्यो । नत्र चुनाव लक्षित भत्ताको राजनितीले देशलाई कमजोर बनाउने भन्दा बाहेक अरु केही गर्दैन ।

शिक्षा र स्वास्थ्य
एकताका यी नै अर्थमन्त्रीको भिडियो आज भोली हेर्न पाईन्छ जहाँ उनले भनेका छन कि शिक्षा र स्वास्थ्यमा कमिशन खाना पाईन्दैन अनि किन बजेट दिने किन बजेट बढाउने । आखिर आफू अर्थ मन्त्री हुदा पनि उनले त्यसै गरे । शिक्षा र स्वास्थ्यमा बजेट बढाएनन । उनले यसमा कमिशन नपाउने भएर नै त्यसो गरेको हो ?

किशानका समस्या हुन वा वैदेशिक रोजगारीमा जानेहरुका समस्याहरु किन नहुन बजेट उत्साहजनक छैन । चुनावमुखी बजेट र चुनावी खर्च संकलन गर्ने कार्यक्रमले देशलाई केही दिने देखिन्दैन । आज साँच्चै भन्न पर्दा मन्त्री शर्मा विलकुलै असफल अर्थमन्त्रीका रुपमा ईतिहासमा देखिने छन । देशको अर्थतन्त्रको उनले जिम्मा लिए यता देश निरन्तर ओरालो लागि रहेको छ । महंगीले आकाश छोएको छ । सवै विकासका सूचांकहरु ओरालो लागेका छन । शेयर मार्केट अस्तव्यस्त छ । वास्तबमै भन्नु पर्दा यी अर्थमन्त्रीको बहिर्गमन जति चाँडो भयो त्यो मुलुकको हितमा नै होला ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...