Friday 19th April 2024

इजरायल रोजगारी खुल्दै


तितोपाटी- लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिए। यसअघि विभागले साउनको सुरुदेखि नै आवेदन खुलाउने भनेको थियो। तर इजरायल कामदार पठाउने प्रक्रियाबारे केही मिलाउनुपर्ने भएकाले ढिलाइ भएको विभागले जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारी सुचारु गर्न छनोट कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको लामो समयसम्म स्वीकृत नभएपछि ढिलो भएको बताइएको छ। पहिलो चरणमा पाँच सयलाई इजरायल पठाउने तयारी छ। तीमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्ने गरी आवेदनको तयारी गरिएको विभागले जनाएको छ।

केयरगिभरमा श्रमिक पठाउन ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८’ जारी भइसकेको छ। विगतमा पनि पटकपटक इजरायलमा केयरगिभर पठाउने प्रयास भए पनि अनेक कारणले रोकिँदै आएको छ। अनेक प्रयासपछि चार वर्षअघि केयरगिभर पठाउन सुरु गरिएको थियो।

पाइलट प्रोजेक्टको रूपमा त्यतिखेर तीन सय श्रमिक पठाउन दुई देशबीच सहमति भए पनि एक सयजना पठाइएपछि उक्त प्रोजेक्ट रोकिएको थियो। चार वर्षअघि पनि इजरायल रोजगारी सुरु हुने र बन्द हुने क्रम जारी रहँदै आएको थियो।

बसोबास र पारिश्रमिकको दृष्टिले इजरायल आकर्षक भए पनि सानातिना अवरोधले अपेक्षाअनुरूप कामदार जान पाएका छैनन्। इजरायलमा केयरगिभरको मासिक न्यूनतम पारिश्रमिक डेढ लाख रूपैयाँ हुने दुई देशबीचको सम्झौता छ। राम्रो मानिएको रोजगारी सुरु हुन नसकेपछि नेपाली श्रमिक जोखिमपूर्ण मानिएका र न्यून पारिश्रमिक पाउने खाडी मुलुक र मलेसिया जान बाध्य छन्।

विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जान्छन्। पछिल्लो समयमा नेपाल–इजरायलबीच २०७७ असोज १४ मा पुनः केयरगिभर पठाउने सहमति भएको थियो। विभागका अनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण लगायतका शुल्क रोजगारदाताले बेहोर्ने सम्झौता छ।

इजरायल जान तोकिएको मापदण्ड

रोजगारीका लागि अन्य मुुलुक जान १८ वर्ष पुगेको हुनुपर्ने भए पनि इजरायल जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड छ। त्यस्तै, उचाइ कम्तीमा १.५ मिटर (४.९ फिट) र तौल ४५ केजी हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा कम्तीमा १० कक्षा उत्तिर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको हुनुपर्नेछ।

साथै अंग्रेजी भाषामा दक्ष, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा असल चरित्र भएको हुनुपर्ने विभागले जनाएको छ। विगतमा इजरायल गई काम गरेर फर्किएकाहरू भने उक्त प्रक्रिया अनुसार जान पाउने छैनन्। त्यस्तै इजरायलमा बसोबास गरिरहेका व्यक्तिका आमा, बुबा, पति, पत्नी, छोरा, छोरीलगायत एकाघरका आफन्त पनि केयरगिभरमा जान नपाइने नियम छ।

इजरायलको रोजगारी खुल्ने आसमा १० हजारभन्दा बढी सीप सिकेर बसेको विभागका कर्मचारी बताउँछन्। इजरायल सरकारको तर्फबाट जनसंख्या तथा अध्यागमन निकाय र नेपालको तर्फबाट विभागले श्रमिक भर्ना, छनोट र अन्य काममा साझेदारी गर्नेछन्।

नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...