Friday 26th April 2024

‘आँखामा अमेरिका मनमा नेपाल’ एक समीक्षा


पुष्कर ‘अथक’ रेग्मी – अमेरिका संसारकै शक्तिशाली,सम्पन्नशाली एवं वैभवशाली राष्ट्र हो । उत्तरी अमेरिका महादेशमा अवस्थित संयुक्त राज्य अमेरिका भूगोलको दृष्टिकोणले रूस, क्यानडा र चीनपछिको विश्वमै चौथो ठूलो राष्ट्र हो । अमेरिका जान मात्रै पाए भनेपनि विश्वका जुनसुकै मुलुक, बर्ग,भाषा , धर्म र सिद्धान्तका मानिसहरू आफूलाई यस लोकमा जन्म लिएको धन्य सम्झन्छन् ।

विभिन्न सन्दर्भमा अमेरिका पुगेर अाउने नेपालीहरूले उपन्यास, कथा, कविता, खण्डकाव्य, महाकाव्य, नियात्रा,संस्मरणहरूद्वारा अमेरिकाका अनुभवहरू व्यक्त गरेका छन् । यही क्रममा बि. सं. २०७२ भाद्र २४ देखि २०७२ कार्तिक १७ सम्मको अमेरिकी यात्राको संक्षेपिकृत गर्दै कृष्णप्रसाद बश्यालले यात्रा संस्मरण “आँखामा अमेरिका र मनमा नेपाल” प्रकाशित गरेका छन् ।

लुम्बिनी प्रदेश पाल्पा जिल्ला ,बराङ्दी बासस्थान भइ हाल चावहिल काठमाडौंमा बसोबास गर्दै आएका कवि, लेखक,साहित्यकार कृष्णप्रसाद बस्यालको जन्म पिता होमकान्त बस्याल र माता द्रौपदीदेवी बस्यालको पुत्ररत्नको रूपमा बि. सं. २००३ साल माघ १५ गते मंगलबार भएको हो । त्रिभुवन विश्वविद्यालयबाट एम ए, बी एल उत्तीर्ण गरेका बस्याल करिव चार दशकसम्म नेपाल सरकारको न्याय सेवामा कार्य गरि सेवा निवृत्त भएका राष्ट्र सेवक कर्मचारी हुन् ।

बस्याल सुप्रबल गोरखा दक्षिणबाहु (२०४२),राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), वीरगन्ज साहित्य परिषद सम्मान (२०५८), बगर सम्मान काठमाडौ (२०६२), वाणी पुरस्कार (२०६३), महाकवि देवकोटा शताब्दी काव्य पुरस्कार ( २०६६),भानुभक्त शतवार्षिकी पुरस्कार ( २०७१), शान्तिदूत पुरस्कार ( २०६२) लगायतका पुरस्कारहरूद्वारा सम्मानित भइसकेका छन् ।

बस्यालका कविता संग्रह सुस्केरा (२०३४), दण्ड सजाय र फैसला कार्यान्वयन (२०३९), शोककाव्य परिणति (२०४३), कविता संग्रह अभिसप्त सडकको मौन अावाज (२०५६)यात्रा संस्मरणहरू आफ्नै यात्रा आफ्नै अनुभुति (२०५९) र अाँ खामा अमेरिका मनमा नेपाल (२०७३) लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् ।यस्का साथै स्थानीय, जिल्ला एवं राष्ट्रिय स्तरका पत्र पत्रपत्रिका एवं संगालोहरूमा फुटकर सिर्जनाहरू प्रकाशित भएकन छन् ।

‘आँखामा अमेरिका मनमा नेपाल’ कृतिभित्र भिसाको किस्सा देखि लिएर स्वदेश फर्कने क्रममा शीर्षक गरि २९ वटा शीर्षकमा संस्मरणहरू रहेका छन ३० अौ संस्मरण ‘ फर्केर आएँ घर’ पद्यमा लेखिएको छ ।

अमेरिकाको मूलथलो न्युर्योकलाई केन्द्रबिन्दु मानी यात्रा गरिएको छ र संस्मरण लेखिएको छ। अवलोकनको क्रममा देखिएका, भोगिएका, महसुस गरिएका कुराहरूलाई उठान गरिएको छ । लेखकले पलपल माटो सम्झेका छन् । अमेरिका र नेपालको तुलना गरेका छन् । एकदिन उनी क्रिष्टोफर कोलम्बसको शालिकनेर पुगी नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई खोजेका छन् ।

न्युर्योक, हडसन पार्क, वासिङटन डि सि, पेन्टागन, ह्वाइटहाउस, अरेगन, टेक्सास, डालास, स्टकयार्ड, ओक्लाहामामा देखिएका, भोगिएका, वर्णन गरिएका सुन्दरतम् पक्षहरू र ग्रहणयोग्य कुराहरूको जानकारी लिनका लागि पाठक वर्ग कृति भित्र पसेर यात्रा अध्ययन गर्नुपर्दछ जस्ले पाठकलाई अब के होला, अब कहा जाने होला भन्दै अमेरिका घुमाईदिन्छ । कृतिभित्र रंगीन र श्यामश्वेत तस्बिरहरू समेत रहेका छन जहाँ क्याप्सनहरू सहित तस्बिर आफै बोलेका छन् । यात्राको क्रममा हरेक ठाउँमा, सन्दर्भ प्रसंगमा नेपाल र नेपालीपन खोजेका छन् र नेपालसंग जोडेरनै यात्रा वर्णन गरेका छन् । सबै कुरा थाहा पाउन कृतिनै पढनु पर्दछ ।

लेखकले जम्मा ५३ दिनको सन्दर्भ जोडेर छोरी ज्वाइँ र नाति सर्वमलाई उपहारस्वरूप कृति तयार पारेता पनि हामी नेपालीका लागि यो कृति ‘अमेरिकी पाउर ‘ भएको छ । प्रा. गोपीकृष्ण शर्माको भूमिका, डा. कृष्ण खनालको भावोद्गार, डा. संध्या बस्यालको अभिव्यक्ति र लेखकीय नम्र निवेदन रहेको कृति पाठकहरूका लागि जानकारीमुलक, लेखक साहित्यकारहरूका लागि बौद्धिक खुराक, अमेरिकामा बसेका नेपालीका लागि सम्झना, अमेरिका जान चाहनेहरूका लागि पर्यटकीय गाइडको रूपमा रहेको छ । उहाँबाट अझै मननीय, महनीय, पठनीय, अवलोकनीय, उदाहरणीय एवं संग्रहणीय कृतिहरू प्रकाशित हुँदै जाउन । अन्तमा लेखक कृष्णप्रसाद बस्याललाई नेपाली सलाम सहित सुदीर्घजीवनको कामना गर्दछु ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...