Wednesday 3rd June 2026

मौसमी कौसी खेतीमा अब्बल हुँदै राजधानीबासी


आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन्।

छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट न विषादीको डर, न महंगीको मार भन्ने नारा लिएर महिलाहरू आकर्षित भएका छन् ।

स्थानीय सरकारले पनि कौसी खेती गर्नेलाई अनुदान र बिउबिजनको व्यवस्था गर्न थालेको छ । कौसी खेती गमला, प्लास्टिकको बाकेट, थोत्रा बट्टा, बाल्टी, माछाको कार्टुन, पोलिथिन ब्याग र एग्रो ब्याग (रेडिमेड कालो प्लास्टिक थैलो) मा तरकारी वा फलफूल रोपेर गरिने खेती हो ।

पछिल्लो समय कौसी खेतीमा माटो, मल र सिँचाइमा नयाँ–नयाँ प्रविधि भित्रिएको छ । कौसीलाई भार नहोस् भनेर कोकोपिड र प्राङ्गरिक मल प्रयोग गर्न थालिएको छ । सिँचाइका लागि थोपा सिँचाइको प्रविधि शुरू भएको छ ।

झण्डै ७०० स्क्वाएर फिटको कौसी छ भने एक परिवारलाई मनग्यै तरकारी पुग्ने विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकामा रहेका छतहरूमा खेती गरिएमा तरकारी आयात ५० कम हुनसक्ने कृषि विज्ञहरू बताउँछन् ।

लामो समय लकडाउन हुँदा फुर्सदको समय सदुपयोग गर्दै धेरै गृहणीले सिकेको कौसी खेती सीपलाई सरकारले पनि प्रोत्साहन स्वरूप उचित तालिमको व्यवस्था गर्दै अनुदान दिन शुरू गरेको छ । समूह–समूह मिलाएर आफ्नो समुदायबाट कौसी खेती कार्य शुरू गरिएको छ । एकले गरेपछि अर्कोले पनि गर्ने हुँदा कौसी खेती फस्टाउँदै गएको देखिन्छ ।

आफ्नो घरको छत, कौसी र बरण्डामा लेटुस, रोजमेरी, लिक, सेलरी, थाइम, तुलसी, लेमन ग्रास, कुरिलो, पिपिनो, मेलन, भ्यान्टा, खुर्सानी, गोलभेडा, सागल, लसुन, प्याज, काउली, धनियाँ, सिमी, ब्रोकाउली, बन्दा, ड्रागन फ्रूट, सल्गम, मुला, कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरी, स्वीसचार्ड, भेडे खुर्सानी, घिरौल, भिन्डी, बोडी, काक्रो, गाजर, चुकन्दर लगायतका तरकारी रोपेर करेसाबारीका रूपमा उपयोग गर्न थालिएको छ । कतिले त आफूले खाएर पनि आफन्तलाई कोसेलीका रूपमा आफ्नो कौसीमा फलेको फलफूल तथा तरकारी बाँड्ने गरेका छन् ।

पानी अपुग हुने स्थानमा आकाशबाट परेको पानीलाई एकमुष्ट संकलन गरेर पाइपका माध्यमद्वारा स्वचालित रूपमा बिरुवा–बिरुवामा पानी लगाउने थोपा सिँचाइको प्रविधि पनि कौसी खेतीका लागि उपयुक्त सावित भएको छ । कौसी खेतीकै लागि भनेर विभिन्न परामर्श दिने र तयार गरिदिने विभिन्न निजी स्तरका संघसंस्था पनि राजधानीमा खुलेका छन् ।

कौसी खेतीमा गड्यौली मल पनि निकै राम्रो मानिएको छ । कैसी खेतीमा पर्याप्त घाम पुग्ने हुँदा कुनै सेब्जिलो होला भन्ने पनि डर हुन्न । भेटेसम्म गाईभैंसीको पिसाबमा पानी मिसाएर बिरुवा हाल्दा झन् छिटो सप्रने कौसी खेती गर्ने अनुभव भएका गृहिणीहरू बताउँछन् । दैनिक भान्सामा प्रयोग हुने मौसमी तरकारी र फलफूल अग्र्यानिक रूपमा आफ्नै घरको कौसीमा फलाउन पाउँदा स्वास्थ्यका हिसाबले पनि ढुक्क हुन सकिने बताइन्छ ।

राजधानीमा फस्टाउँदै गएको कौसी खेती अब बाहिरी जिल्लामा पनि शुरू गर्न थालिएको छ । ताजा र स्वस्थकर तरकारी तथा फलफूल आफ्नै कौसीमा उत्पादन गर्नकै लागि भनेर उचित सल्लाह र तालिमका लागि राजधानी आउने गृहिणीहरू बढेका छन्।

 

 


सम्बन्धित शीर्षकहरु

काठमाडौंको चक्रपथ विस्तार परियोजनाले नयाँ गति लिने भएको छ। चीन सरकारले चक्रपथ निर्माण तथा विस्तारको दोस्रो चरणका लागि नेपाललाई करिब…

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

प्रतिकृयाहरू
...