Monday 7th September 2026

लघुकथाः भोक -पुष्पा नेपाल (सुवेदी)


कक्षा ३ मा पढ्ने अनिता हरेक दिन जसो विद्यालय छोडेर भागीरहन्थी। औसत विद्यार्थीहरु सरह उस्को पढाइ पनि ठिकै थियो तर विद्यालय आएर भागीहाल्नु पर्ने कारण शिक्षिकालाई बुझ्न गाह्रो भइरहेको थियो । पढ्न मन नलागेर भनौ भने पनि ऊ विद्यालयमा दिनहुँ हाजिर हुन्थी र १\घण्टी पछाडि गायब हुन्थी ।
आइतबारको दिन थियो । शिक्षिका कक्षामा पस्ने बित्तिकै सबै विद्यार्थीहरुले एकै स्वरमा भने, मिस आज पनि अनिता कक्षा छोडेर भागी र एक कक्षामा पढ्ने उस्को भाइलाई पनि लगी । एकछिन टोलाएर शिक्षिकाले कक्षा शुरु गरिन् ।
भोलिपल्ट अनिता विद्यालयमा आउने बित्तिकै शिक्षिकाले कार्यालयमा बोलाइन् । अनिता डराइ डराइ शिक्षिकाको छेउमा पुगी मानौ उस्ले ठूलै गल्ती गरेकी छ ।
तर यसपटक शिक्षिकाले गाली नगरी मायालु वातावरणमा सोधिन्, अनिता तिमी हिँजो किन भाइलाई समेत लिएर भागेको? शिक्षिकाको प्रश्नले अनिताको शरीरमा १२० भोल्टको करेन्ट दौडीसकेको थियो र हडबडाउँदै भनिन्, मिस, मिस, मिस !
शिक्षिकाले वातावरण सामान्य बनाउँदै सोधिन्,भनन म केही पनि गर्दिन बरु साँचो कुरा भन चक्लेट दिन्छु भनेर चकलेट दिइन् । चक्लेटको सम्मोहनमा परेर अनिताले साँचो कुरा भनी । मिस हामीलाई भोक लागेको थियो अनि भागेको नि ।
केही पनि नखाइ स्कुल आएको हो र? शिक्षिकाको प्रश्न थियो ।
हाम्रो घरमा खाने केही पनि छैन मिस । सँधै हजुरआमाले निगुरो बेचेर हामीलाई खान ल्याइदिनु हुन्थ्यो तर उहाँ बिरामी हुनुभएपछि हामीले कति दिनदेखि खानै पाएका छैनौ । हिजो पनि हामी स्कूलबाट भागेर निगुरो टिप्न गयौ र नब्बे रुपैयाँमा बेचेर दुई किलो चामल किनेको नि ।
शिक्षिकाको आँखामा मेचीकोशी बगीसकेका थिए । कुरैकुरामा शिक्षिकाले थाहा पाइन्,अनिताको बाबुले दोस्रो घरजम गरिसकेका थिए भने,आमा पैसा कमाउन विदेश गएको ३ वर्ष भैसकेको थियो तर यतिका दिनसम्म न पैसा आएको थियो, नत उस्की आमा नै ।
शिक्षिकाले बेलुका समाचारमा प्रधानमन्त्रीको भाषण सुनेको सम्झिइन् । अब नेपालमा कोही पनि गरिब छैन र कसैले भोकै मर्नु पर्ने छैन । देश बनाउन सरकारमा गएका नेताहरु कुर्सीको लागि लुछाचुडी गरिरहँदा, कति अनिताहरु भोकको ज्वाला मेटाउन विद्यालय छोडेर संघर्ष गरिरहेका छन् । कहिले बुझ्लान्,यो देशलाई,जनतालाई र अबोध यि अनिताहरुलाई ।

पुष्पा नेपाल (सुवेदी)
इलाम


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...