Wednesday 28th October 2026

संसद विघटन मुद्दामा सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश जारी गर्यो


तीतोपाटी – प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि परेका मुद्दाहरूको पहिलो दिनको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्रधानमन्त्री ओलीको शिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् भने यसका विरूद्ध १३ वटा निवेदन परेका थिए ।

सर्वोच्च अदालतले विपक्षीहरूको नाममा कारण देखाऊ आदेशका साथसाथै इजलासले विभिन्न निकायहरूलाई सक्कल कागपत्र बुझाउन पनि भनेको छ।जसअनुसार प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णयको सक्कल प्रति प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयबाट झिकाउने तथा संसद्‌मा अविश्वासको प्रस्ताव पेस गरिएको भन्ने सन्दर्भमा उक्त निवेदनको मिति र समय उल्लेखित सक्कल प्रस्ताव संसद् सचिवालयबाट झिकाउने आदेश रहेको छ।

साथै इजलासले मुद्दामा सहयोगका निम्ति नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बारको तर्फबाट ‘एमिकस क्युरी’ को सहयोग लिने भएको छ । महत्त्वपूर्ण मुद्दाहरूमा मुद्दाका पक्ष विपक्ष कतै नभएतापनि त्यसको सरोकारवाला रहेका, सामान्यता कानुनविद्हरूको समूह गठन गर्ने गरिन्छ जसले अदालतलाई उक्त मुद्दामा आफ्ना रायसल्लाह दिन सक्छ त्यसलाई नै एमिकस क्युरी भनिन्छ । सर्वोच्चले विगतमा संसद विघटन हुँदा पनि एमिकस क्युरी गठन गरेको थियो ।

यसका अतिरिक्त इजलासले प्रतिनिधिसभा विघटन हुनुभन्दा तत्काल अगाडि त्यहाँ रहेका सदस्यहरूको दलीय प्रतिनिधित्व खुल्नेगरी नाम र संख्याको विवरण संसद् सचिवालयबाट झिकाउने आदेश पनि दिएको छ।

यस मुद्दाका विपक्षी अर्थात् सरकारका विभिन्न निकायहरूलाई आदेशअनुसारको लिखित जबाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत् पुस १९ गतेभित्र आइपुग्नेगरी आदेशमा तोकिएको छ। भने पुस २२ गतेदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा अन्य चारजना न्यायाधीश तोकेका थिए। उनले शुक्रवारदेखि सुनुवाइ सुरु गर्न न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई रोजेका थिए।

प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट सोही इजलासमा प्रस्तुत गरिएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...