Monday 14th September 2026

यस पालिको सोह्रश्राद्ध -सरिता कोइराला


यस पालिको सोह्रश्राद्ध
हामीलाई सम्झेर जमघट नगर्नु छोरा
हाम्रो श्रद्धा भावमा तिम्रो घरमा
कोरोना भाईरस नभित्र्याउ छोरा
हामी त तिम्रो हृदयमा छौ,
तिम्रो शरीरमा बग्ने रगतका थाेपाथोपामा छौ,
तिम्रो घरको कण कणमा छौ,
तिम्रो सन्तानको खुसीमा छौ,
हामी तिमीबाट टाढा छौ तर
हाम्रो अस्तित्व तिमीसँगै जोडिएको छ ।

तिम्रा सारा खुसीमा
पूर्वजको शुभ आशिष् अपूर्व छ,
संस्कार र संस्कृतिलाई आत्मसात गर्ने
ठूलो हृदय तिमीसँग छ
हामीलाई सम्झेर शुद्ध भावले जल अर्पण गर
त्यसै तृप्त हुनेछौ
त्यसैले यो असहजतामा आफू र आफ्नाप्रति सचेत बन,
तर छोरा,
पूर्वजको आदर सम्मानमा
आफ्नो घरमा काल नभित्र्याउ
त्यो तिम्रो खुसीमा अन्धकाररूपी ग्रहण लागेको
कसरी देखौ ?
वरपर तिम्रै छरछिमेक
पराई भई व्यवहार गरेको कसरी हेरौ ?
अस्पतालको शैय्यामा मृत्यूसँग पौठेजोरी खेलिरहेको
तिम्रो शरीर कसरी हेरौ ?

तिमी रोगसँग लडिरहँदा
तिमीलाई अंगालो हालेर हामी छौ है भनी
सान्त्वना दिन कोही आउने छैन,
किनकि रोग नै त्यस्तै छ,
आफूलाई आफ्नो ज्यानको माया हुन्छ
अरूको होइन छोरा,
देखेकै छौ नि, संक्रमितलाई
आफन्त साथीभाईले भेट्न पाएका छैनन्,
मर्दा अन्तिम पटक
आफ्नैले अनुहार हेर्दै स्पर्श गर्न पाएका छैनन्
मृत्यूको अन्तिम संस्कार मात्र होइन,
आफ्नै घरको तुलसीको मोठ र
एक आच्पानी जल पाएका छैनन् ।।।

आफ्नै परिवारबाट
अन्तिम बिदाई मात्र होइन
दागबत्ती समेत पाएका छैनन्,
झोलामा बेरिएर खाल्डोमा पुरिनु पर्दा
के आत्माले शान्ति पाउला ?
भो छोडी देउ यस पालि
हाम्रो नाममा पायस पकाई पिण्ड सेलाउन,
आफन्त छरछिमेक भेला गराई प्रसाद ग्रहण गराउन ।
सक्छौ भने यो असहजतामा
भोकभोकै रात बिताउनेको पेटमा अन्नदाना भरिदेउ
प्यासमा छट्पटाईरहेका पशुपंक्षीको प्यास मेटाईदेउ,
पितृहरुलाई सम्झेर गरेको पूण्यको कामबाट
उनीहरुको मुहारमा छाएको खुसीले
मनग्य आशिष तिमी र तिम्रो परिवारमा मिल्नेछ ।
त्यसैले
यस पालिको सोह्रश्राद्धमा
हामीलाई सम्झेर जमघट नगर छोरा
पितृप्रतिको श्रद्धा भावमा
कोरोना भाईरस आफ्नै घरमा नभित्र्याउ छोरा ।।।।

-सरिता कोइराला
पाँचखाल – २, अनैकोट
हालः बानेश्वर काठमाण्डु ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...