Monday 29th April 2024

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यविधि


तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो ।

विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् । वैदेशिक रोजगारीमा हुने ठगी तथा गैरकानुनी कार्यको प्रभावकारी नियन्त्रण गर्न विभागले कार्यविधि निर्माण गरेको हो । कार्य विधिअनुसार बिदाका दिनमा पनि विभागले एजेन्सीको आकस्मिक अनुगमन गर्न सकिनेछ । एजेन्सीले बिदाका दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्तर्वार्ता लिनेजस्ता कार्य गर्न थालेको गुनासो आएपछि विभागले अनुगमन कार्यविधि बनाएको हो ।

वैदेशिक रोजगार विभागले विश्वस्त सूचनाका आधारमा मात्रै अनुगमन टोली परिचालन गर्नुपर्नेछ । विभागले जारी गरेको कार्यविधिअनुसार अनुगमन र पूर्वसूचना अध्ययन स्पष्ट भएपछि मात्रै अनुमगन टोली परिचालन गर्नुपर्ने व्यवस्था गरकोे छ । जोखिमको आकलन गरी सुरक्षाको आवश्यक प्रबन्ध मिलाउनुपर्नेछ । कारोबारस्थल सिलछाप गर्नुपर्ने भए मुचुल्का तयार गर्नुपर्नेछ । अनुगमनबाट फर्किसकेपछि २४ घन्टाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदन नबुझाउँदासम्म गोपनीयता कायम गर्नुपर्नेछ ।

अनुगमन टोलीमा खटिएका कर्मचारीले निष्पक्ष कार्यसम्पादन गर्नुपर्नेछ । अनुसन्धानका क्रममा सम्बन्धित व्यक्ति वा पक्षलाई सम्मानजनक व्यवहार गर्नुपर्नेछ । त्यस्तै, वैदेशिक रोजगार व्यवसायी वा वैदेशिक रोजगारमा अप्रत्यक्ष रूपले संलग्न शैक्षिक परामर्श दाताको प्रतिनिधि वा एजेन्ट भई काम गर्नुहुँदैन । अनुगमन गर्दा सम्बन्धित संस्थाले वैदेशिक रोजगारीका लागि विभागबाट पूर्वस्वीकृति लिए–नलिएको हेर्नुपर्नेछ । रोजगारीमा जान इच्छुक व्यक्तिबाट असुलको रकमको आधार, श्रम करारको कागजात, शुल्क, भिसामा उल्लिखित विवरणलगायतको चेकजाँच गर्नुपर्नेछ ।

प्याराडाइजमा आकस्मिक अनुगमन
वैदेशिक रोजगार विभागले आइतबार ललितपुरस्थित प्याराडाइज इन्टरनेसनलको आकस्मिक अनुगमन गरेको छ । अनुगमनमा कामदारबाट तोकिएको भन्दा १२ गुणा बढी सेवाशुल्क लिइरहेको अवस्थामा विभागले फेला पारेको हो ।

विभागले तोकिएभन्दा बढी रकम लिई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीमाथिको कारबाही तीव्र पारेको छ । बिदाको दिनमा समेत अवैधानिक तरिकाले कामदार छनोट गर्ने तथा झुटो सूचना फैलाई वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई अन्तर्वार्ताका लागि बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक अनुगमन सुरु गरेको हो ।

अनुगमनमा वैदेशिक रोजगारीका लागि उक्त प्रालिबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ, कुमार गुरुङ, सुमन सार्की र गंगा परियारलाई बुझाउन लगाइएको रकममध्ये कुमार गुरुङ र देवेन्द्र गुरुङबाट बुझ्दै गरेको क्रमशः १ लाख १५ हजार र १ लाख १० हजार रकम जफत गरेको छ । गंगा परियारले आइएमईबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले युएईमा क्लिनर पदका लागि जान पोखरामै सबिना गुरुङलाई १ लाख ३० हजार रकम बुझाएको विभागले बताएको छ ।

साभार नया पत्रिका


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...