Monday 27th July 2026

सरकारको शैक्षिक कर्जा भाषणमा मात्रै, युवा भन्छन् बैंकले कर्जा दिएन


तितोपाटी – सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको शैक्षिक कर्जा कार्यक्रम एक वर्षमै असफल भएको छ । कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाण-पत्र धितो राखेर कर्जा प्राप्त गर्न सकिनेमा यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । युवाहरू भने बैंकहरूले शैक्षिक कर्जा उपलब्ध नगराएको पीडा पोखिरहेका छन् । सिराहाका एक युवाले आफूले सबै प्रक्रिया र दस्तावेज पूरा गरेर अनवरत प्रयास गर्दा पनि शैक्षिक कर्जा पाउन नसकेको गुनासो सम्रमाण सार्वजनिक गरेका छन् । सरकारले सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकबाट कर्जा लिन सकिने बताइरहे पनि आफूले कर्जा प्राप्त गर्न नसकेको उनी बताउँछन् ।

राजविराज नगरपालिका -७, हटिया स्थायी घर भएका रवीन्द्र साहको भनाइ यस्तो छ:

मैले स्नातकसम्मको अध्ययन गरेको छु । बुवा कृषिसम्बन्धी सामग्रीहरुको पसल चलाउनुहुन्छ । मैले शिक्षित बेरोजगारका लागि सरकारले उपलब्ध गराउने भनेको कर्जा लिएर बुवाको जस्तै ब्यापार गर्ने योजना बनाएको थिएँ । सहुलियत कर्जासम्बन्धी सूचना सञ्चारमाध्यमबाट थाहा पाएपछि म गत कार्तिक महिनामा नजिकै शाखा रहेको राष्ट्रिय वाणिज्य बैंकमा पुगेँ । राजविराजस्थित सो बैंकका शाखा प्रवन्धक उमेश नेपालसँग प्रारम्भिक कुरा गरेँ । उहाँले आफ्नो बैंकबाट उक्त ऋण लिन समय लाग्ने भन्दै अरु बैंकमा जान भन्नुभयो । उहाँसित गरेको कुराकानीको अडियो रेकर्ड मसित छ ।

कर्जाका लागि चाहिने व्यवसायिक योजना, फर्म दर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्र लगायतका आवश्यक सबै कागजात मसित थिएँ । तर, जतिपटक जाँदा पनि ब्रान्च मेनेजर सापको जवाफ पुरानै आउँथ्यो, ‘अहिले हाम्रोबाट कर्जा दिन सक्दैनौं ।’ म धेरैपटक धाएँ, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय राजविराजमा । माघ महिनामा पनि मैले फलोअप गरेँ, तर पुरानै जवाफ आयो । समाचारमा जताततै सुन्छु, रकम बैंकले दिन्छ भन्छन्, तर मैले पाइन । केही नलागेपछि मैले नियामक निकायमा उजुरी गरेँ ।

उनले राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय माताहतको हेल्लो सरकार र अर्थ मन्त्रालयमा समेत उजुरी गरे । राष्ट्र बैंकलाइ पठाएको इमेलको जवाफ नअाएको हेल्लो सरकारमा दर्ता गराएको उजुरीको अहिलेसम्म रिपोर्ट नपाएको तर अर्थ मन्त्रालयबाट भने लामो समय पश्चात उजुरीमाथि कारबाही भएको एक कर्मचारीले जानकारी दिए । अब सोही बैंकमा गए कर्जा पाउने आश्वासन प्राप्त भयो ।

 उनले आफ्नो लामो फलोअप सफल भएको ठानेर दंग परेको बताउँदै आफू बाहिर भएकाले तत्कालै बैंकमा बुझ्न साथी बिवेक शाहलाई पठाउँदा पनि बैंकका शाखा प्रमुखले पुरानै जवाफ दिएर कर्जा दिन नसक्ने भन्दै साथीलाई फर्काइदिएछन् भने । पटक पटक फलोअप गर्दा पनि कर्जा नपाएर वाक्क भएका उनी केही दिनअघि अर्थमन्त्रीको भाषण सुन्दा त झनै छक्क परेको बताउँछन् । अर्थमन्त्रीले युवाहरु सहुलियत ऋण लिन आएनन् भनेर हावादारी कुरा गरे भन्दै अर्थमन्त्रीलाई स्थलगत अवलोकन तथा अनुगमनका लागि आग्रह समेत गरेका छन् ।

वाणिज्य बैंकको स्वीकारोक्ति

राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाले यतिबेला कर्जा उपलब्ध गराउनै नसकिने अवस्था रहेको बताएको छ । रवीन्द्रले कर्जाका लागि फलोअप गरिरहेको स्वीकार्दै राजविराज शाखा प्रवन्धक उमेश नेपालले आफ्नो शाखाबाट कर्जा वितरण गर्न नसकिने बताए ।

‘सहुलियत कर्जा मात्रै नभएर कुनै किसिमको कर्जा पनि अहिले उपलब्ध गराउन सक्ने अवस्थामा छैनौं,’ उनले भने ‘अपरेसन टाइट छ, असार मसान्त पनि नजिकिँदै छ ।’ पहिले चाहिँ किन नदिनुभएको त भन्ने प्रश्नमा उनले भने, ‘शुरु–शुरुमा आउनुभएकाहरुले आवश्यक प्रक्रिया पुर्‍याउनुभएको थिएन ।’

-अनलाइनखबरको लागि रोयल अाचार्यको लेख


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...