Thursday 20th August 2026

मानब तस्करको आरोप लागेकी राजदूतलाई परराष्ट्रले नेपाल झिकाई स्पष्टीकरण लियो


तितोपाटी – मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार, आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता रामबाबु ढकालले राजदूत शेर्पाले मन्त्रालयमा आएर आफ्ना कुरा राखेको बताए । ‘उहाँ (राजदूत लक्की शेर्पा) हिजो मन्त्रालय आउनु भएको थियो । सचिवसँग र प्रशासनका कर्मचारीहरुलाई भेटेर आफ्ना कुरा राख्नुभयो । तर के भन्नुभयो भन्ने जानकारी मलाई छैन,’ ढकालले भने । उनले राजदूत शेर्पामाथि छानबिन भइरहेको र आरोप पुष्टि भए कानुन बमोजिम कारबाही हुने प्रष्ट पारे । ढकालले भने, ‘उहाँलाई लागेका आरोप भेरिफाई हुन बाँकी छ । यदि भेरिफाई भयो भने, कानुन बमोजिम हुन्छ ।’

परराष्ट्र स्रोतका अनुसार, शेर्पासँगको वयान पूरा भएपछि यसबारे समितिले सुझाव दिनेछ । त्यही सुझावका आधारमा शेर्पालाई निरन्तरता दिने या फिर्ता बोलाउने भन्नेबारे निर्णय हुने परराष्ट्रका अधिकारीहरु बताउँछन् ।

निजी चालक वाङ्छु शेर्पासँग लेनदेनलगायतको विवाद चुलिएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । राजदूत शेर्पाका श्रीमानले आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारी चालक वाङ्छुले लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...