Tuesday 27th October 2026

मानब तस्करको आरोप लागेकी राजदूतलाई परराष्ट्रले नेपाल झिकाई स्पष्टीकरण लियो


तितोपाटी – मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले काठमाडौं झिकाएको छ । नेपाल आइपुगेकी उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् । उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको थियो । परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार, आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी एवम् सहप्रवक्ता रामबाबु ढकालले राजदूत शेर्पाले मन्त्रालयमा आएर आफ्ना कुरा राखेको बताए । ‘उहाँ (राजदूत लक्की शेर्पा) हिजो मन्त्रालय आउनु भएको थियो । सचिवसँग र प्रशासनका कर्मचारीहरुलाई भेटेर आफ्ना कुरा राख्नुभयो । तर के भन्नुभयो भन्ने जानकारी मलाई छैन,’ ढकालले भने । उनले राजदूत शेर्पामाथि छानबिन भइरहेको र आरोप पुष्टि भए कानुन बमोजिम कारबाही हुने प्रष्ट पारे । ढकालले भने, ‘उहाँलाई लागेका आरोप भेरिफाई हुन बाँकी छ । यदि भेरिफाई भयो भने, कानुन बमोजिम हुन्छ ।’

परराष्ट्र स्रोतका अनुसार, शेर्पासँगको वयान पूरा भएपछि यसबारे समितिले सुझाव दिनेछ । त्यही सुझावका आधारमा शेर्पालाई निरन्तरता दिने या फिर्ता बोलाउने भन्नेबारे निर्णय हुने परराष्ट्रका अधिकारीहरु बताउँछन् ।

निजी चालक वाङ्छु शेर्पासँग लेनदेनलगायतको विवाद चुलिएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । राजदूत शेर्पाका श्रीमानले आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारी चालक वाङ्छुले लगाएका छन् ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...