Tuesday 14th April 2026

युएइमा भिजिट भिसाका नाममा ठगी धन्दा बढ्यो


तितोपाटी – बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे। सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी मागेर राम्रो जागिर लगाइदिन भन्दै गणेश गिरीलाई २ हजार दिर्हाम्स (६४ हजार रूपैयाँ) दिएका थिए।

गिरीले न सुवासलाई काम लगाइदिए, न पैसा फिर्ता गरे। उनी शारजाहमा बस्छन्। भिजिट भिसामा यूएई आएका सोझासाझा नेपालीलाई यसरी नै झुक्याउँछन्। सुनसरी पकलीका निरजले पनि नेपाली दलाल हुँदै फारुक नाम गरेका पाकिस्तानी नागरिकलाई बरदुबईमा भेटेर ३ हजार ५ सय दिर्हाम्स कमिसन दिए। ‘मासिक २ हजार ५ सय तलबको कम्प्युटर अपरेटरको काम छ, भोलिदेखि नै काम सुरु गर्ने भन्दै दलालले पैसा माग्यो, होला भनियो’, उनले भने, ‘अहिले फोन पनि उठाउँदैन, कलब्याक पनि गर्दैन।’

सुवासलाई ठगी गर्ने गिरीलाई हामीले सम्पर्क गर्ने प्रयास गर्‍यौं। कयौं पटक फोन गर्दा पनि उठाएनन्। इमोमा काम चाहियो भनेर सम्पर्क गरेपछि बल्ल उनले उत्तर दिए। आफूसँग १०० जनालाई पुग्ने ‘जब’ भएको दाबी गर्दै ‘सर्भिस चार्ज’ लाग्ने बताए। उनका अनुसार उनी शारजाहको रोलामा बस्छन्।

भिजिट भिसामा दुबई आएर ठगिने नेपाली धेरै छन्। प्राय: नेपालीले नै नेपालीलाई ठग्ने गरेको पाइन्छ। उनीहरू हरबखत भिजिट भिसामा काम खोज्न यूएई आउने नेपालीको खोजीमा दुबई, अबुधाबी र शारजाहमा भेटिन्छन्। कतिपय नेपाली ट्राभल्सहरू पनि यस कार्यमा संलग्न भएको पाइएको छ। दुबईका एकजना ट्राभल्स व्यवसायी भन्छन्, ‘भिजिट भिसामा आउने नेपाली र उनीहरूलाई ल्याउने दलाल भेट्ने भए एयरपोर्ट जानु, भेट्नु हुनेछ।’

जानकारहरूका अनुसार दुबईमा यस्ता धेरै दलाल भेटिन्छन्, जसले भिजिट भिसामा काम खोज्न आएका नेपालीलाई प्रलोभनमा पारेर ठगी गर्छन्। उनीहरू राम्रो काम लगाइदिने भन्दै कमिसन लिन्छन् र पैसा पाएपछि फरार हुन्छन्।

भिजिट भिसामा आउने नेपालीहरू दुबई आएपछि मात्र ठगिने हैनन्। उनीहरू नेपालदेखि नै ठगिएका हुन्छन्। नेपालका केही म्यान पावर कम्पनी र ट्राभल्स व्यवसायीसमेत भिजिट भिसाकै कारोबारमा संलग्न छन्। बुटवलको मिलन चोकमा रहेको सादिक इन्टरनेसनल ओभरसिजले नै अर्याललाई भिजिट भिसामा दुबई पठाएको थियो।

सादिकका गोविन्दबहादुर थापाले दुबईमा राम्रो काम लगाइदिने शर्तमा २ लाख रूपैयाँमा अर्यालसहित अन्य नेपालीलार्ई यहाँ ल्याएका थिए। उनको मुख्य व्यवसाय नै भिजिट भिसाको कारोबार हो। उनी हालै पनि केही नेपालीलाई भिजिट भिसामा लिएर दुबई आएका छन्।

मौलायो भिजिट भिसाको व्यापार

नेपाल सरकारले टुरिस्ट भिसामा खाडी मुलुक जान कडाइ गरेको छ। खाडी मुलुक हुँदै विभिन्न मुलुकमा मानव तस्करी हुने भएकाले सरकारले यस्तो नीति लिएको हो। तर यो काम रोकिएको छैन। दलालहरूले राम्रो कामको प्रलोभनमा पारेर मोटो रकम लिएर भिजिट भिसामा सेटिङमा लगेर ठग्ने कार्य जारी राखेका छन्। यस कार्यमा दूतावास, श्रम र अध्यागमनका कर्मचारीको समेत मिलेमतो रहेको भेटिएको छ। सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अँगाल्ने बताउँदै आए पनि भिजिट भिसाको अवैध कार्य रोक्न सकेको छैन। दलाल र कर्मचारीको सेटिङमा दैनिक सयौं नेपाली भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेका छन्।

दूतावासकै कर्मचारीको मिलेमतोमा तस्करी

भिजिट भिसामा संलग्न भएको भनिएका धनुषाका इशाराफुल शाह (अस्रफ) लाई नेपाल सरकारले कारबाहीको दायारामा ल्याउन सकेको छैन। शाहले कर्मचारीलाई प्रलोभनमा पारेर सयौं भिजिट भिसालाई इम्प्लोइमेन्ट भिसा भन्दै दूतावासबाट प्रमाणीकरण गरेका थिए। सोही भिसालाई श्रम स्टिकर लगाई नेपालीलाई दुबई लैजाने कार्यमा उनी संलग्न थिए। शाहले नक्कली डिमान्ड र भिसा देखाएर नेपालका म्यानपावर कम्पनीलाई समेत ठगी गरेका थिए।

लगमागाठा गुठी ३ धनुषाका स्थायी बासिन्दा शाह लामो समयदेखि दुबई बस्छन्। यस धन्दामा नेपाली दूतावास अबुधाबी समेतको संस्थागत संलग्नता देखिए पनि सरकारले कारबाही गर्न चासो देखाएको छैन।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

रुसले इरानको समृद्ध (enriched) युरेनियम आफ्नो नियन्त्रणमा लिन प्रस्ताव अझै खुला रहेको जनाएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति…

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

प्रतिकृयाहरू
...