Saturday 15th August 2026

‘ब्लडमनी’को अभावमा युएईमा मृत्यु कुर्दै जोगी


तितोपाटी – तेह्रथुम फेदाप गाउँपालिका – २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी नागरिकको हत्याको आरोपमा उनले ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) जरिवाना भोग्नुप-यो। अहिले आबुधावी जेलमा उनको ४ वर्ष ७ महिना पुग्यो। अब उनी रिहा हुन ५ महिना बाँकी छ। तर उनले ब्लडमनी स्वरूप ६२ लाख मृतक फिलिपिनी नागरिकको परिवारलाई बुझाउन नसके मृत्युदण्ड भोग्नुपर्नेछ।

फिलिपिनी बचाउन खोज्दा जेलमा

२०१४ अगस्ट २० मा खड्गबहादुर कम्पनीका सहकर्मी (एक फिलिपिनाे, दुई पाकिस्तानी)सँग कार्यस्थलतिर गइरहेका थिए। त्यसक्रममा पाकिस्तानीले प्रार्थना गर्ने भन्दै बीच बाटोमा गाडी रोक्न लगाए र उनीहरु (चालकसहित) प्रार्थना गर्न निस्किए। गाडीमा फिलिपिनाे र खड्गबहादुर थिए। खड्गबहादुर अगाडि सीटमा थिए भने फिलिपिनो पछाडि थिए। केही समयपछि लुकिङ ग्लास (छेउको ऐना)मा खड्गबहादुरको नजर प-यो। त्यहाँ उनले फिलिपिनो गाडीको पछाडि सडकमा छट्पटाइरहेको दृश्य देखे। तत्कालै उनी ओर्लिएर आफ्नो कम्पनीमा फोन गरेर फिलिपिनोको अवस्थाबारे जानकारी गराए। कम्पनीले अस्पताल लैजान निर्देशन दियो। उनले आफै गाडी हाँकेर अस्पताल पु-याए। उपचारको क्रममा राति १२ बजे फिलिपिनाेकाे निधन भयो। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेर हिरासतमा लियो। मुद्दा अदालतसम्म पुग्यो। उच्च अदालतले उनलाई हत्या गरेको आरोपमा दोषी ठह-याई ५ वर्ष कैद र २ लाख दिराम जरिवानाको फैसला सुनायो। सडकमा छट्पटाइरहेका आफ्नै सहकर्मी फिलिपिनोलाई बचाउन खोज्दा खड्गबहादुर आफै फसे।

ब्लडमनी जुटाउँदै ‘खड्गबहादुर जोगी बचाउ’ अभियान 

उनी अहिले आबुधावीको एक जेलमा ५ वर्षे सजाय काटिरहेका छन्। उनी अब जेलमा बस्नुपर्ने अवधि धेरै छैन्। अदालतको फैसलाअनुसार उनी ६ मार्च २०१९ मा रिहा हुनुपर्छ। तर, त्यसका लागि समयमै ब्लडमनी बुझाउनुपर्ने हुन्छ। परिवारको आर्थिक अवस्था कमजोर भएका कारण केही पैसा कमाउन विदेशिएका जोगीले ब्लडमनी वाफतको ६२ लाख रुपैयाँ जुटाउन सक्ने अवस्था छैन्।

उनलाई बचाउन तेह्रथुमका समाजसेवी, बुद्धिजिवी, परिवारका सदस्य, सामाजिक संघसंस्था लगायत सहयोग संकलनमा जुटेका छन्। उनीहरुले दुर्गाप्रसाद गिरीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरी ‘खड्गबहादुर जोगी बचाउ’ अभियान नै सञ्चालन गरेका छन्।

यो अभियान अन्तर्गत ५ लाख रुपैयाँ संकलन गरिसकेका छन्। यो पैसा नेपाल बैंकको खातामा राखिएको छ। जोगीका छिमेकी छत्र रिमालका अनुसार फेदाप गाउँपालिकाबाट ३ लाख रुपैयाँ, जिल्लाका बाँकी ५ स्थानीय तहबाट २/२ लाख गरी १० लाख संकलनको प्रक्रियाको अघि बढाइएको छ।

त्यस्तै, तेह्रथुमसँग जोडिएका विभिन्न व्यक्ति र सामाजिक संस्थाबाट २० लाख, काठमाडौं र तराईका जिल्लाबाट १० लाख, कतार, दुबई, कुवेत, इजरायल लगायत प्रवासी नेपालीबाट १० लाख संकलन गर्ने ‘खड्गबहादुर जोगी बचाउ’ अभियानको योजना छ।

छिमेकी रिमालका अनुसार कोरियामा बस्दै आएको प्रवासी नेपाली हेम थापाले २ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कानुनी सहायताका लागि सहयोग गर्न माग गर्दै निवेदन दिइएको रिमालले बताए। ‘बोर्डबाट कानुनी सहायताका लागि १५ लाख जति पाइँदो रहेछ, हामीले निवेदन दिएका छौं’, उनले भने, ‘सहयोग पाइने सकारात्मक जवाफ पाएका छौं। देशविदेशमा आर्थिक सहयोग जुटाउन लागिपरेका छौं। जोगीलाई ब्लडमनी तिरेर भए पनि बचाई छाड्छौं।’

यस्तै तेह्रथुम समाज युएईले पनि जोगी बचाउ अभियान सञ्चालन गरेर आर्थिक सहयोग संकलन गरिरहेको छ। समाजका अध्यक्ष पीएस निङ्गलेकुका अनुसार आबुधावीस्थित नेपाली राजदूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र अन्य संघसंस्थासँग समन्वय गरेर आर्थिक संकलन जुटाउने कार्य भइरहेको छ। तेह्रथुम सरोकार समाजका अध्यक्ष मोहन डाँगीले पनि जोगीलाई बचाउन अर्थ संकलन कार्य भइरहेको बताए।

५ वर्षअघि धन कमाउन युएई गएका जोगीको परिवारमा आमा बुवा, श्रीमती र दुईटा छोरी छन्। घरको एक मात्र कमाउने खड्गबहादुर जेल परेपछि उनको परिवार आर्थिक संकटमा छ।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...