Sunday 26th January 2025

किर्ते कागज गरि युएइ जाने लागेकी एक नेपाली महिला भारतको बैंगलोरबाट पक्राउ


तितोपाटी – कीर्ते कागजात प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) उड्न लागेकी एक नेपाली महिला भारतको अध्यागमन विभागको फन्दामा परेकी छन् । बैङ्लोरको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यूएई जाँदै गरेकी ३४ वर्षीया सीता सिंगालीलाई शनिबार त्यहाँको अध्यागमन अधिकारीले पक्रेका हुन् । नेपाली दूतावासका नाममा जारी पत्र नक्कली पुष्टि भएपछि सिंगाली पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार फर्जी पत्रमा दूतावासको अंग्रेजी रुप गलत देखिएपछि ती महिलामाथि अध्यागमन अधिकारीले केरकार गरेका थिए । ‘Embassy’ लेख्नुपर्नेमा ‘Emnassy’ लेखिएको समाचारमा उल्लेख छ ।

काठमाडौंबाट शनिबार इमिरेट्स उडानमार्फत् आएकी सिंगाली त्यही दिन रातिको फ्लाइटमार्फत् सारजहा उड्न अध्यागमनको जाँच लाइनमा उभिएकी थिइन् । समाचार अनुसार यूएईको ३ महिनाको भिसा लगाइएको पासपोर्ट बोकेकी सिंगालीले नयाँदिल्लीको नेपाली दूतावासले अनुमति दिएको पत्रसमेत बोकेकी थिइन् ।

तर, अध्यागमन कर्मचारीले कागजात परीक्षणपछि उनलाई नियन्त्रणमा लिए । दूतावासको अंग्रेजी रुप गलत भेटिएसँगै थप अनुसन्धान अघि बढाए पनि शुरुमा उनले भारतमा रहेको नेपाली दूतावासबाटै पत्र लिएको जिकिर गरिन्  तर अध्ययनको क्रममा पत्र नक्कली रहेको खुल्यो र अध्यागमन अधिकारीले विमानस्थल प्रहरीलाई जिम्मा लगाइदिए ।

इन्डियन एक्सप्रेसले त्यहाँको प्रहरी अधिकारीलाई उद्धृत उनीमाथि भारतीय दण्ड संहिताअनुसार तीन किसिमको मुद्दा चलाएर न्यायिक हिरासतमा राखिएको जनाएको छ ।

सोधपुछका क्रममा सिंगालीले ५ कक्षासम्म मात्रै अध्ययन गरेको र फूलको बजारमा काम गर्ने गरेको खुलेको छ । बैंग्लोरको विमानस्थल प्रहरीले सिंगालीको दाबीबारे परीक्षण गर्न नेपाली दूतावासलाई पत्राचारको तयारी गरेको छ ।

नेपाल सरकारले महिलालाई घरेलु कामदारमा विदेश पठाउन रोक लगाएपछि पछिल्लो समय भारतीय बाटो प्रयोग गर्ने क्रम बढेको छ । केही समयअघि मात्रै पनि यसरी विदेश जान लागेका महिलालाई भारतबाट उद्धार गरिएको थियो तर कागजात नै नक्कली प्रयोग गरेर जाँदै गरेको अवस्थामा महिला पक्राउ परेको भने यो पहिलो घटना हो ।


सम्बन्धित शीर्षकहरु

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

प्रतिकृयाहरू
...