पूर्वेली टाइगर फुटबल क्लबद्वारा आयोजित प्रथम पूर्वेली टाइगर गोल्डकप २०२६ को उपाधि NDR ले जितेको छ। फाहाहिलस्थित सुक सबाह खेल मैदानमा हिजो सम्पन्न एकदिने पुरुष फुटबल प्रतियोगिताको फाइनलमा दुई गोलले पछाडि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै NDR ले आयोजक पूर्वेली टाइगर फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको हो।
खेलको सुरुवाती चरणमा दुई गोल गरेको आयोजक टोलीविरुद्ध NDR ले लगातार तीन गोल फर्काउँदै रोमाञ्चक जित दर्ता गर्यो। यससँगै NDR पहिलो संस्करणको च्याम्पियन बन्न सफल भयो।
प्रतियोगितामा नेपाली राजदूतावास कुवेतको टोलीले पनि सहभागिता जनाएको थियो। दूतावासको टोली फरवानिया एफसीसँग ३–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी आयोजक टोलीका विष्णु गुरुङ घोषित भए। त्यस्तै, उत्कृष्ट फरवार्ड NDR का रेन्जे मगर, उत्कृष्ट डिफेन्स युवराज राई, सर्वाधिक गोलकर्ता आयोजक टोलीका बिनोद गुरुङ, उत्कृष्ट गोलरक्षक अभिजित मगर र उत्कृष्ट मिडफिल्डर रविन माझी घोषित भए।
उपाधि विजेता NDR ले नगद ४०० कुवेती दिनारसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता पूर्वेली टाइगरले नगद २०० कुवेती दिनारसहित ट्रफी र मेडल हात पार्यो।
कुवेतमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।