Friday 13th November 2026

माइक्रोसफ्टको सर्भरमा अवरोध हुँदा टिम्स, आउटलुक र कोपाइलटमा समस्या, एआई कम्पनी पनि प्रभावित


माइक्रोसफ्टका विभिन्न सेवा विश्वव्यापी रूपमा अवरुद्ध हुँदा दशौँ हजार प्रयोगकर्ता प्रभावित भएका छन् । कम्पनीका टिम्स, आउटलुक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल कोपाइलटमा कनेक्सनसम्बन्धी समस्या देखिएको हो ।

माइक्रोसफ्टले समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ । कम्पनीले सामाजिक सञ्जाल एक्समा लेख्दै समस्याको प्रभाव कम गर्न सम्भावित सबै उपाय तीव्र रूपमा अपनाइरहेको बताएको छ । साथै, प्रभावित पूर्वाधार पुनः सञ्चालनमा ल्याउने र सर्भरहरूलाई छुट्टाछुट्टै रूपमा उपलब्ध गराउने प्रयासमा सकारात्मक नतिजा देखिएको कम्पनीले जनाएको छ ।

सेवा अवरुद्ध भएको विषय अनुगमन गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार बिहीबार राति आउटलुकमा समस्या भएको रिपोर्ट गर्ने प्रयोगकर्ताको सङ्ख्या विश्वभर करिब एक लाख ४० हजार पुगेको थियो ।

बीबीसीका अनुसार यो समस्या साइबर आक्रमणका कारण भएको कुनै सङ्केत देखिएको छैन ।

यस अवरोधले माइक्रोसफ्ट ३६५ अन्तर्गतका सेवाहरू प्रभावित पारेको छ । माइक्रोसफ्ट ३६५ व्यवसाय तथा संस्थाहरूले कार्यालयका विभिन्न कामका लागि प्रयोग गर्ने लोकप्रिय अनलाइन सेवा हो । यसमार्फत प्रयोगकर्ताले आउटलुक, टिम्स र वानड्राइभजस्ता टुल प्रयोग गर्न सक्छन् ।

विशेषगरी विभिन्न देशमा कार्यालय रहेका अन्तर्राष्ट्रिय संस्थाहरूका लागि सहकर्मीसँग सम्पर्क र सहकार्य गर्न माइक्रोसफ्ट ३६५ महत्त्वपूर्ण माध्यम बनेको छ ।

माइक्रोसफ्टका अनुसार सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताले केही फाइल तथा क्यालेन्डर एपमा रहेका विवरण हेर्न नसक्ने समस्या भोग्न सक्छन् ।

माइक्रोसफ्टको एआई प्लेटफर्म कोपाइलटले पनि अपेक्षाअनुसार काम नगर्न सक्ने कम्पनीले जनाएको छ । माइक्रोसफ्टले एक्समार्फत दिएको जानकारीअनुसार केही सर्भर अप्रत्याशित रूपमा अनुपलब्ध भएपछि बाँकी सर्भरमा अत्यधिक दबाब परेको थियो । यही कारण कम्पनीका विभिन्न सेवामा समस्या देखिएको हो ।

एआई कम्पनीहरू पनि प्रभावित

माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा त्यसको प्रणाली प्रयोग गर्ने अन्य कम्पनीसमेत प्रभावित भएका छन् । यसबाट एआई क्षेत्रका प्रमुख कम्पनीहरू एन्थ्रोपिक र ओपनएआई पनि प्रभावित भएको समाचारमा उल्लेख छ ।

च्याटजीपीटी निर्माता ओपनएआईले पनि माइक्रोसफ्टका सेवासँगको आफ्नो कनेक्सनमा समस्या देखिएको जनाएको छ । कम्पनीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ । उक्त समस्याका कारण ओपनएआईका केही टुलले अपेक्षाअनुसार काम नगरेको जनाइएको छ ।

माइक्रोसफ्टले गत महिना पनि आफ्नो क्लाउड प्लेटफर्ममा सेवा अवरोध भएको जानकारी दिएको थियो । त्यसबेला कम्पनीका विभिन्न उत्पादकत्वसम्बन्धी टुलसँगै विश्वभरका अन्य कम्पनीका सेवा प्रभावित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम…

७५३ वटै पालिकाबाट जग्गा प्रशासन सेवा : नागरिकलाई सहजता, तर सम्पत्तिको कानुनी सुरक्षामा प्रश्न काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र…

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

प्रतिकृयाहरू
...