Friday 3rd July 2026

रोजगारदाताले सम्पुर्ण खर्च व्यहोर्ने गरी नेपाल र मलेसियाबिच श्रम सम्झाैता


तितोपाटी – नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो सम्बोधन गर्न मलेसिया तयार भएको छ।

नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्न मलेसियाली पक्ष सहमत भएको वार्तामा सहभागी क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए। ‘नेपाल र मलेसियाका अधिकारीबीच भएको वार्ता सकारात्मक रुपमा सम्पन्न भयो’, उनले भने ‘नेपालले व्यक्त गरेको चासो सम्बोधन गर्न मलेसिया तयार भएको छ।’ दुवै पक्षलाई अनुकूल समयमा श्रम सम्झौतमा हस्ताक्षर हुने उल्लेख गर्दै कावा राजदूत खरेलले त्यसका लागि कूटनीतिक माध्यमबाट मिति तय गरिने बताए।

वार्तामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया मामिला महाशाखाका प्रमुख तापस अधिकारी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल र क्वालालम्पुरस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत खरेल सहभागी थिए। त्यस्तै मलेसियाका तर्फबाट गृह तथा मानव संशाधन मन्त्रालयका सहसचिव तथा नीति योजना महाशाखाका प्रमुख सहभागी रहेका थिए।

वार्तामा नेपाली पक्षले नेपाली कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी/मुलुकले व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई प्रमुखताका साथ उठान गरेको थियो। त्यस्तै कामदारको सामाजिक सुरक्षा, न्यूनतम सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचार लगायतका मुद्दा समेत नेपालले राखेको थियो।

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतमा नेपाली कामदार रोजगारीका लागि मलेसिया लैजाने सहमति स्वागतयोग्य भएको जनाएको छ। सङ्घका अध्यक्ष रोहन गुरुङले नेपाली श्रमिकको हकहित सुनिश्चित हुने गरी दुई देशबीच भएको सहमति सकारात्मक भएको बताए।

नेपाल र मलेसियाबीच १७ वर्षदेखि श्रम सम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता हुन सकेको छैन। दुई मुलुकबीच पटकपटक श्रम सम्झौताको प्रयास भए पनि अहिलेसम्म त्यसले मूर्तरुप पाउन सकेको छैन। पचासको दशकदेखि नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन्। हालसम्म करीब ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्। नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ। वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। रासस


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...