Thursday 20th August 2026

नेटवर्कको जाल: छिटो धनी बन्ने सपनाको मूल्य


रोजिना ढुंगाना – रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले बारम्बार एउटै सन्देश पढिरहेकी थिई, “दिदी, मेरो पैसा कहिले फिर्ता आउँछ?” त्यो प्रश्नको जवाफ उसँग थिएन। केही महिनाअघि उसैले विश्वास दिलाएकी थिई, “मैले आफैँ सुरु गरेकी छु, केही हुँदैन।” आज त्यही वाक्य उसको मनमा काँडाजस्तै बिझिरहेको थियो।

सविता विदेशमा काम गर्ने एक साधारण महिला थिई। महिनाभरि पसिना बगाएर कमाएको तलबबाट केही बचत गर्थी, केही घर पठाउँथी र बाँकी आफ्नो आवश्यकतामा खर्च गर्थी। उसको सपना धेरै ठूलो थिएन, तर मूल्यवान् थियो। आफ्नै घर बनाउने, छोराछोरीको पढाइ सुनिश्चित गर्ने र बुढेसकालमा आमाबुबालाई सहज जीवन दिने चाहना उसको मनमा थियो।

एक दिन सामाजिक सञ्जालमा उसले एउटा पोस्ट देखी, “घरमै बसेर राम्रो आम्दानी गर्ने अवसर। सीमित व्यक्तिका लागि मात्र।” सुरुमा उसले त्यसलाई बेवास्ता गरिन्। तर केही दिनपछि पोस्ट गर्ने एक महिलाले उसलाई सन्देश पठाइन्। आत्मीय शैलीमा कुरा गर्दै उनले सवितालाई एउटा “विशेष अवसर” को बारेमा जानकारी दिइन्।

भिडियो कलमा महँगा गाडी, आकर्षक घर, विदेश भ्रमणका तस्वीर र सफलताको कथा देखाइयो। उनलाई भनियो, “तपाईंले मात्र होइन, अरूलाई पनि जोड्नुपर्छ। नेटवर्क बढ्यो भने आम्दानी पनि बढ्छ।”

सुरुमा सविताले सानो रकम लगानी गरिन्। केही दिनमै अकाउन्टमा रकम बढेको देखियो। नाफा धेरै थिएन, तर विश्वास बढाउन पर्याप्त थियो। त्यसपछि उसलाई आफ्ना साथीभाइ र आफन्तलाई पनि जोड्न प्रेरित गरियो। उसले आफ्नी मिल्ने साथीलाई फोन गरी, “मैले आफैँ सुरु गरेकी छु, राम्रो लागिरहेको छ।” साथी पनि जोडिइन्। त्यसपछि अरू साथी, आफन्त र चिनजानका मानिसहरू थपिँदै गए।

सवितालाई आफूले कुनै गलत काम गरिरहेको जस्तो लागेको थिएन। बरु उसलाई लाग्थ्यो, “मैले अरूलाई पनि अवसर दिइरहेकी छु।” सामाजिक सञ्जालमा सफलताको पोस्ट राख्न थाली। अरूको सफलता हेरेर प्रभावित हुने सविता आफैँ सफलताको उदाहरण बन्ने भ्रममा थिई।

समय बित्दै जाँदा उसलाई ठूलो प्याकेजमा लगानी गर्ने प्रस्ताव आयो। भनियो, “सानो लगानीमा ठूलो सफलता सम्भव छैन। अवसर अहिले छ, पछि पछुताउनुपर्ला।” सविताले धेरै सोचिन्। त्यो पैसा उसले वर्षौँको मेहनतबाट बचाएकी थिई। तर ठूलो सपनाले अन्ततः शंकामाथि विजय पायो। उसले आफ्नो बचतको ठूलो हिस्सा लगानी गरिन्।

केही दिनपछि जब उसले पैसा निकाल्न खोजी, स्क्रिनमा एउटा सन्देश देखा पर्यो, “Withdrawal Failed.” सम्पर्क गर्दा उत्तर आयो, “प्राविधिक समस्या हो, केही दिन पर्खिनुस्।” त्यसपछि भनियो, “Verification बाँकी छ।” त्यसका लागि थप रकम मागियो। फेरि “कर तिर्नुपर्छ”, “सुरक्षा शुल्क चाहिन्छ”, “अकाउन्ट अपग्रेड गर्नुपर्छ” जस्ता बहानाहरू आउन थाले।

हरेक पटक भनिन्थ्यो, “यो अन्तिम रकम हो।” तर त्यो अन्तिम कहिल्यै आएन।

एक दिन अचानक फोन उठ्न छोड्यो। म्यासेजको जवाफ आउन बन्द भयो। कमाइ र सफलताका पोस्टहरू गायब भए। समूह नै हरायो। तब मात्र सविताले वास्तविकता बुझी।

उसको पैसा मात्र गुमेको थिएन। उसलाई विश्वास गरेर पैसा लगानी गर्ने साथी, आफन्त र चिनजानका मानिसहरूको पैसा पनि डुबेको थियो।

फोनहरू आउन थाले।

“दिदी, तपाईंले नै सुरक्षित छ भन्नुभएको थिएन?”

“मैले ऋण लिएर पैसा हालेको छु, अब के गर्ने?”

यी प्रश्नहरूले उसको मन भताभुंग बनायो। उसले पुराना भिडियोहरू हेरी, जहाँ उसले अरूलाई “जीवन बदल्ने अवसर” बारे प्रेरित गरिरहेकी थिई। आज ती शब्दहरू उसलाई आफ्नै कानमा व्यंग्य जस्ता लागिरहेका थिए।

समयसँगै सविताले एउटा महत्वपूर्ण सत्य बुझी। ठगीमा पर्ने मानिस सधैँ अज्ञानी वा मूर्ख हुँदैन। कहिलेकाहीँ अनुभवी, शिक्षित र जिम्मेवार मानिसहरू पनि फस्छन्। ठगहरूले मानिसको अज्ञानताको मात्र होइन, उसको आवश्यकता, सपना, आशा र विश्वासको प्रयोग गर्छन्।

कसैलाई घर बनाउने सपना देखाइन्छ। कसैलाई ऋणमुक्त हुने आशा। कसैलाई आर्थिक स्वतन्त्रताको लोभ। अनि जब यस्तो प्रस्ताव आफ्नै चिनजानको मानिसबाट आउँछ, शंका गर्ने ठाउँ झन् कम हुन्छ।

सविताले अन्ततः आफ्ना साथीभाइसँग खुलेर आफ्नो गल्ती स्वीकार गरिन्। कसैले गाली गरे, कसैले सम्बन्ध तोडे, कसैले माफी दिए। उसले सबै प्रतिक्रिया स्वीकार गरिन्। किनकि अब उसलाई थाहा थियो, पैसा गुमेपछि फेरि कमाउन सकिन्छ, तर विश्वास गुमेपछि त्यसलाई फर्काउन धेरै समय लाग्छ।

त्यसपछि उसको सोच परिवर्तित भयो। अब उसले कुनै अवसरबारे सुन्दा केही आधारभूत प्रश्न सोध्न थाली:

कम्पनीको वास्तविक व्यवसाय के हो?
कमाइ उत्पादन वा सेवाबाट हुन्छ कि नयाँ मानिस जोडिएपछि मात्र?
पैसा निकाल्न थप पैसा किन तिर्नुपर्छ?
नयाँ सदस्य नजोडिए पनि व्यवसाय टिक्छ कि टिक्दैन?

यी प्रश्नहरूको स्पष्ट उत्तर नपाएसम्म उसले आफ्नो पैसा मात्र होइन, अरूको विश्वास पनि त्यहाँ जोड्न छोडी।

आज सविता फेरि मेहनत गरेर बचत गरिरहेकी छ। उसको सपना उही छ, तर त्यो सपना पूरा गर्ने बाटो बदलिएको छ। अब ऊ चम्किला फोटोभन्दा वास्तविक मेहनतमा विश्वास गर्छे। ठूलो कमाइको वाचाभन्दा सानो तर सुनिश्चित आम्दानीलाई सुरक्षित मान्छे।


सम्बन्धित शीर्षकहरु

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।…

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...