आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ। नवदुर्गाको प्रसादका रूपमा लगाइने टीका र जमरा समृद्धि, सुख तथा विजयको प्रतीक मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको जनाएको छ। यद्यपि विजयादशमी आफैं शुभ दिन भएकाले सर्वसाधारणले साइत नखोजी पनि टीका लगाउन सक्ने बताइएको छ।
धार्मिक मान्यताअनुसार आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरण गरिन्छ। परिवारका ज्येष्ठ सदस्य, गुरु तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद थापेर दीर्घायु, यश, ऐश्वर्य र समृद्धिको कामना गरिन्छ।
आज टीका लगाउन नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्नेछन्।