काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५ गते तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।
महानगरपालिकाका अनुसार फेस्टिभलको शुभारम्भ कात्तिक १३ गते ऐतिहासिक वसन्तपुर क्षेत्रमा आयोजना हुने सम्पदा यात्राबाट गरिनेछ। फेस्टिभल अवधिभर राष्ट्रिय सभागृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा घर तथा तारागाउँलगायत विभिन्न स्थानमा चलचित्र प्रदर्शन, अन्तरक्रिया, सम्मान कार्यक्रम तथा अन्य सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछन्।
फेस्टिभल सफल बनाउन विभिन्न सरकारी, निजी तथा अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरिएको महानगरपालिकाले जनाएको छ। चलचित्र प्रदर्शन साझेदारका रूपमा जय नेपाल सिनेमा जोडिएको छ भने यातायात व्यवस्थापनका लागि अग्नि ग्रुप र इनड्राइभसँग सहकार्य गरिएको छ। अन्तरराष्ट्रिय चलचित्र क्षेत्रसँग सम्बन्ध विस्तार गर्न काठमाडौंस्थित अमेरिकी र अष्ट्रेलियन दूतावास, युनेस्को तथा अलाइन्स फ्रेन्चिजको सहभागिता रहनेछ।
दर्शकको सहजताका लागि विद्युतीय टिकट व्यवस्थापनमा ‘हिमालय पे’सँग सम्झौता गरिएको छ। फेस्टिभलका सबै चलचित्र निःशुल्क रूपमा प्रदर्शन गरिने भए पनि दर्शकले सिट सुनिश्चित गर्न निःशुल्क टिकट रिजर्भ गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यक्रम आयोजना हुने स्थान व्यवस्थापनका लागि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको महानगरपालिकाले जनाएको छ। यसैगरी सम्पदा दौड (हेरिटेज रन) सञ्चालनका लागि एनएसआर स्पोर्ट्स फाउन्डेसन (काठमाडौं म्याराथन), आतिथ्य व्यवस्थापनका लागि होटल एसोसिएसन अफ नेपाल (हान) तथा नेपाल पर्वतारोहण संघसँग सहकार्य भएको छ। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी माब्रिक्स र आइएसएसले सम्हाल्नेछन्।
फेस्टिभल उद्घाटनको अवसरमा ‘भिडियो च्यालेञ्ज’बाट छनोट भएको एक लघु चलचित्र र नेपाली चलचित्रको इतिहासमा महत्वपूर्ण मानिएको पुरानो फिल्म ‘सिन्दूर’ को खुला प्रदर्शन गरिनेछ। नयाँसडकको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रमा हुने उक्त विशेष प्रदर्शन सर्वसाधारणका लागि खुला हुनेछ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा ‘सर्ट फिल्म भिडियो च्यालेञ्ज’, ‘नेपाल पानोरमा’ र ‘इन्टरनेसनल पानोरमा’ शीर्षकअन्तर्गत करिब ४० वटा चलचित्र प्रदर्शन गरिनेछन्। साथै, महानगरपालिकाले आयोजना गरेको ‘युथ भिडियो च्यालेञ्ज’का विजेतालाई पुरस्कार वितरण गरिनेछ भने ‘नेपाल पानोरमा’ अन्तर्गत छनोट भएका चलचित्रलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।
नेपाल पर्यटन बोर्डमा चलचित्रसम्बन्धी ‘मास्टर क्लास’ तथा अन्तरक्रियात्मक संवाद कार्यक्रम सञ्चालन हुनेछन्। त्यस्तै, कात्तिक ८ गते वसन्तपुरबाट सुरु भई नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्र हुँदै पुनः वसन्तपुरमै पुगेर सम्पन्न हुने ‘हेरिटेज रन’ पनि आयोजना गरिनेछ।
फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभागृहमा नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक र चलचित्रकर्मीको सम्मानार्थ ‘रेड कार्पेट’ कार्यक्रम आयोजना गरिने भएको छ।
महानगरपालिकाले चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी समुदाय, शिक्षा र रचनात्मक उद्योगसँग जोड्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। स्थानीय मौलिकता, संस्कृति र पहिचानलाई संरक्षण गर्दै चलचित्र क्षेत्रका पेसाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँग सहकार्य बढाउने प्रयास जारी रहेको महानगरपालिकाको भनाइ छ।