Saturday 25th July 2026

मुलुक परिवर्तनको क्रममा घटने घटनाको बिरोध गर्नुपर्ने कुनै आवश्यक छैन


किशोर पन्थी,अमेरिका / बाले सधै भन्नुहुन्थ्यो ‘नेपाली काँगे्रेस पार्टी सबैभन्दा राम्रो पार्टी हो ।’ जीवनको अधिकांश कालखण्डमा उहाँ नेपाली काँग्रेस नै रहनुभयो । नेपाली काँग्रेसका नेताहरुपनि हाम्रो घरमा खुबै आवतजावत गर्थे । बा काँग्रेस भएकै कारण कम्युनिष्ट विचार भएका हाम्रै दाजुभाईहरु हाम्रो घरमा झगडा गर्न आउँथें । कहिलेकाँही त बोलचालसमेत बन्द हुन्थ्यो ।

तर एकरात खाना खाएर बाआमा सुतिसक्नुभएका हाम्रो घरमा सेना र प्रहरीको संयुक्त गस्ती छिर्यो । घरभित्र घिउ, दहीका भाँडा फुटाइदिनेदेखि लुटपाटसम्म गर्यो । चिसो रातमा सुतिसक्नुभएका बाआमा दुबैलाई घरबाहिर राखेर घरभित्र झण्डै चारघण्टा ताण्डव नृत्य चल्यो । त्यसपछि बालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै उनीहरुले लगेर गए । बालाई मार्ने भए भनेर आमा रुदै घरमा बस्नुभयो । भोलिपल्ट उनीहरुले बालाई तारेखमा छोडिदिए । त्यतीबेला अहिलेका काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

समाजमा सधै सम्मानित स्थानमा रहनुभएका बामाथि भएको यो दुब्र्यबहारले उहाँको मनमा ठूलो चोट परेको थियो । त्यसपछि उहाँले कहिल्यै दाह्री काट्नुभएन, मुलुकमा गणतन्त्र आएपछिमात्र उहाँले दाह्री काट्नुभयो । तत्कालिन काँग्रेस सरकारको नजरमा मेरो पत्रकारिता नै बाको गल्ती थियो ।

यो एउटा युद्धको बेलाको परिघटना थियो । हामीले कहिले पनि यो घटनाका कारण नेपाली काँग्रेससँगको सद्भाव बिगारेनौं । हाम्रो घर लुट्ने शेरबहादुर देउवा भन्दै उहाँको अपमान पनि गरेनौं । हामीले यसलाई परिवर्तनको क्रममा भएको एउटा परिघटनाका रुपमा लियौं । यद्यपी गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बखत हाम्रो घरमा सेना र प्रहरीबाट पटकपटक तोडफोड र लुटपाट भएको थियो ।

तर यस्ता घटनाहरु हामीले बिर्सनुपर्छ । बिर्सेका पनि छौं । मुलुकमा धेरै परिवर्तन भइसकेको छ । बा त यो संसारमा हुनुहुन्न । तर सबै परिघटनाका साक्षी आमाले पनि कहिले यी पूराना कुराहरु हामीसँग गर्नुहुन्न । शायद मुलुकमा आइसकेको परिवर्तनको सन्दर्भमा आमाले यी कुराहरु सम्झन चाहनुहुन्न ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्को का जिजान र यान्बु क्षेत्रमा रहेका सुविधामाथि क्षेप्यास्त्र तथा…

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना हुँदा यसले यो क्षेत्रलाई शान्ति, समृद्धि र साझा विकासतर्फ लैजाने ठूलो आशा जगाएको…

प्रतिकृयाहरू
...