गुलाम नवी मन्सुर – गैरआवासीय नेपाली संघ (NRNA) को मूल उद्देश्य थियो – विदेशमा रहेका नेपालीहरूलाई संगठित गर्दै जन्मभूमिप्रति उत्तरदायी बनाउने, र कर्मभूमिमा नेपाली पहिचान र हकको संरक्षण गर्ने। सन् २००३ मा स्थापना भएको यस संस्थाले धेरै उपलब्धि हासिल गरेको भए पनि पछिल्ला वर्षहरूमा यो संस्था गम्भिर विवाद, गुटबन्दी र अव्यवस्थाको चपेटामा फसेको छ।
१०औं महाधिवेशनको नाममा भएको गुटीय झगडाले एनआरएनएको छवि मात्र होईन, हामी लाखौं परदेशी नेपालीहरूको भावना र भरोसामाथि पनि चोट पुर्यायो। एउटै संस्थाभित्र दुई-दुई कार्यसमितिहरू, समानान्तर अध्यक्षहरूको दाबी, स्वघोषित मान्यता र अदालतको नाममा झुटो प्रचार – यी सबैले आज एनआरएनए संस्थालाई संस्थाजस्तो महसुस हुन नदिने अवस्थामा ल्याएको छ।
यसबीच, एक व्यक्तित्व फेरि अगाडि आएका छन। जसको नामले अझै धेरै नेपालीहरूमा भरोसा बाँकी छ। उनी हुन डा. शेष घले।
अष्ट्रेलियामा बसेर संघर्षबाट उठेका डा. घले केवल एक व्यवसायिक सफलताको प्रतीक होइनन्, उनी संस्थागत नेतृत्व, पारदर्शिता, समावेशी सोच र दिगो भविष्यप्रतिको प्रतिवद्धता लिएर आएको नाम हो। सन् २०१३ देखि २०१५ सम्म अध्यक्ष रहँदा उनले एनआरएनएको आधार बलियो बनाएका थिए – ‘घले गाउँ’ देखि ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार’सम्मको कार्ययोजना ल्याएर।
आज फेरि त्यही नेतृत्व आवश्यक परेको छ। गुट र स्वार्थको भिडन्तले लथालिङ्ग एनआरएनएलाई पुनः एउटै धागोमा गाँस्न सक्ने, विश्वासको पुनःनिर्माण गर्न सक्ने नेतृत्व आज पनि घलेकै कन्धामा देखिन्छ।
तर यो यात्रा सजिलो छैन। पछिल्लो समयमा डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले मान्यता दिएको भनेर व्यापक प्रचार भयो। कतिपयले त यसलाई अन्तिम निर्णयजस्तै प्रस्तुत गरे। तर जब सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्ने हो भने, त्यो प्रचारको वास्तविकता बाहिर आउँछ – अदालतले केसी पक्षलाई कुनै स्पष्ट वैधानिक मान्यता दिएको छैन।
फैसालामा कतै पनि “केसी कार्यसमिति नै आधिकारिक हो” भन्ने खालको भाषा छैन। बरु, अदालतले संस्थाभित्रको झगडालाई संस्थागत प्रक्रियाबाट समाधान गर्न सुझाव दिएको देखिन्छ – जुन प्रक्रिया अझै सम्पन्न भइसकेको छैन। यति हुँदा हुँदै पनि केसी पक्षबाट अदालतको निर्णयलाई आंशिक रूपमा उद्धृत गर्दै प्रचारबाजी गरिएको छ। त्यसको परिणामस्वरूप, संस्थाभित्र भ्रम झनै बढेको छ।
तर यो सबै अन्योलका बीच एउटा उम्मेदवारको होइन, नेतृत्वको प्रतिबद्धताको संकेत देखिएको छ – जुन हो, अन्तर्राष्ट्रिय एकता महाधिवेशन। आगामी २०२५ मे ३ – ५ मा आयोजना हुन गइरहेको यो महाधिवेशन केवल एक महाधिवेशन होइन, यो संस्था पुनर्जीवित गर्ने अभियान हो। र यसको संयोजन जिम्मा कसको काँधमा परेको छ भने – डा. शेष घलेकै।
अष्ट्रेलिया, अमेरिका, युरोप, खाडी मुलुक, जापानदेखि कोरिया – जहाँ जहाँ नेपालीहरू छन्, उनीहरूमा आज एउटा चासो, जिज्ञासा र आशा जगिएको छ। यो महाधिवेशनले के नयाँ बाटो देखाउनेछ?
म स्वयं एक श्रमिक युवा हुँ, कुवेतमा पसिना बेच्दै जीवन चलाइरहेको, हामी जस्ता हजारौं परदेशी श्रमिकहरूका लागि एनआरएनए एउटा संस्थाभन्दा बढी – पहिचान, न्याय र आत्मसम्मानको आश्रय हो। तर जब संस्था गुटमा विभाजित हुन्छ, हाम्रो आवाज हराउँछ। हामी श्रमिकहरूको आवाज सुनाउने नेतृत्व हामीलाई चाहिएको छ, जसले चिल्ला गाडीको ढोका खोलेर मात्र होइन, पसिनाको सम्मान गरेर नेतृत्व गरोस्।
डा. शेष घले यस्तो नेतृत्वका प्रतीक हुन्। उनले सधैं हामी श्रमिकहरूको अवस्था बुझ्न खोजेका छन्। कार्यक्रमहरूमा, राहत अभियानमा, नीतिगत बहसमा, उनले सबै वर्गको प्रतिनिधित्व हुने वातावरण बनाएका छन्। त्यसैले आज, जब अदालतको फैसलालाई हतियार बनाएर केही पक्षले नेतृत्व कब्जा गर्न खोजिरहेका छन्, त्यही बेला घले नेतृत्वमा अन्तर्राष्ट्रिय एकता महाधिवेशन सबैको साझा सुरक्षाकवच बन्ने तयारीमा छ।
यो महाधिवेशनले केवल अध्यक्ष चुन्ने होइन, संस्थाको आत्मा बचाउने काम गर्नेछ।यो महाधिवेशनले केवल घोषणापत्र बनाउने होइन, समावेशी नेतृत्वको संस्कार सुरु गर्नेछ। शेष घलेको आगमन यो महाधिवेशनमा केवल व्यक्तिको उपस्थिति होइन, यो भरोसा फर्काउने यात्रा हो। यो संस्था बचाउने अभियान हो। र, हामी सबै गैरआवासीय नेपालीहरूको साझा आवाजलाई पुनर्जीवित गर्ने ऐतिहासिक मौका हो।
अब गुट होइन, एकता चाहिएको छ।दाबी होइन, संवाद चाहिएको छ। आफ्नो-आफ्नो होइन, सबैको एनआरएनए चाहिएको छ। र, यो सम्भव छ – शेष घलेको संयोजनमा, ३–५ मे २०२५ को अन्तर्राष्ट्रिय एकता महाधिवेशनबाट।