Saturday 21st March 2026

‘रेडपाण्डा’ संरक्षणका लागि ताप्लेजुङमा अन्तर्राष्ट्रिय म्याराथन हुँदै


रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमाली संरक्षण मञ्चको संयोजनमा आगामी असोज ५ गते रेडपाण्डा दिवसका अवसरमा आयोजना हुने सो प्रतियोगिताका सहभागीले ४८ किलोमिटर दूरी पूरा गर्नुपर्नेछ ।

म्याराथनले रेडपाण्डा संरक्षणमा विशेष योगदान पुर्याउने अपेक्षा गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । म्याराथनको मार्ग पाथीभरा क्षेत्रमा तय गरिएको छ । यो रेडपाण्डाको मुख्य बासस्थान हो । फुङ्लिङ बजारबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा पूजाधामसम्मको २४ किलोमिटर उकालो र त्यहाँबाट पुनः फुङ्लिङ बजारसम्म २४ किलोमिटर ओर्लेर ४८ किमीको दूरी पूरा हुनेछ । म्याराथनको तयारी सुरु भइसकेको जानकारी दिँदै संयोजक राईले यस कार्यक्रमले ताप्लेजुङलाई पर्यटकीय र जैविक विविधतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

उक्त प्रतियोगिता रेडपाण्डा नेटवर्क र फुङ्लिङ नगरपालिकाको सहयोग रहने जनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २१ मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ । म्याराथनले रेडपाण्डा संरक्षणको महत्त्वबारे स्थानीय समुदायलाई थप जनचेतना गर्ने लक्ष्य राखेको छ ।

मञ्चका फिल्ड संयोजक सुष्मा डाँगीका अनुसार म्याराथनको उत्कृष्ट एकजना विजेताले रु एक लाख प्राप्त गर्नेछन् भने पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो विजेताले क्रमशः रु ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नेछन् । महिलातर्फका विजेतालाई पनि त्रमशः रु ५०, ३० र २० हजार पुरस्कार प्रदान गरिनेछ ।

साथै, विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने धावकले क्रमशः रु १५, १० र पाँच हजार प्राप्त गर्नेछन् । विदेशी धावकका लागि एक सय डलर दर्ता शुल्क राखिएको छभने नेपाली धावकका लागि रु तीन हजार शुल्क निर्धारण गरिएको छ । ताप्लेजुङ, पाँथर र इलामबाट सहभागी हुने धावकका लागि दर्ता शुल्क रु एक हजार राखिएको छ ।

म्याराथन कार्यक्रमलाई सफल बनाउन रेडपाण्डा नेटवर्कले यस वर्ष रु १० लाख सहयोग गर्ने छभने फुङ्लिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ । आयोजकका अनुसार यो म्याराथनले ताप्लेजुङलाई विश्वव्यापी संरक्षण र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेमा विश्वास रहेको ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए। रेडपाण्डाको प्राकृतिक बासस्थान संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्न यो अभियानकै रूपमा म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । रासस


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...