भगवती जात्रा हेरेर आएपछि नातीले हजुर बुबालाई प्रश्न गरे, “हजुरबुवा । यो भगवती जात्रा निकाल्ने चलन कहिले कसरी भयो ?” हजूर बुबाले खुशी हुँदै भन्नु भयो, “त्यस बारेमा एउटा सत्य कथा छ ।”
“भन्नुस् न हजुर बुबा । कथा भन्नुस न् ।” नातीले जिद्दि गर्यो ।
“मैले भनेको कथा ध्यानपूर्वक सुनेर स्कूलका सबै साथीहरूलाई सुनाउँछौ भने भन्छु नत्र भन्दिन ।” हजूर बुबाले नातीलाई फुर्काउँदै भन्नुभयो ।
“भन्छु, हजुरबुबा भन्छु। यी मैले कापीमा लेख्छु र सबै साथीहरूलाई सुनाउँछु । भन्दै नाती कापी र कलम लिएर हजूर बुबाको नजिक आए । हजुरबुबाले कथा भन्दै जानुभयो र नातीले लेख्दै गए । आज भन्दा दुईसय वर्ष अघिदेखि पाल्पाको तानसेनमा भगवती जात्रा मनाउने प्रचलन चलि आएको हो । त्यतिवेला नेपाल अंग्रेज युद्ध चलेको थियो । नेपालमा प्रधानमन्त्री भिमसेन थापा थिए । उनले पाल्पा गौंडाको सुरक्षा गर्न भनि आफ्ना भतिजा कर्णेल उजिर सिंह थापालाई पठाए । उन्नीस वर्षका युवा उजिर सिंह थापा जोशिला, नीडर, चलाख, शूरो र बहादुर थिए । त्यतिबेला पाल्पाको तानसेनमा महिषासुर मर्दिनी भगवतीको प्रस्तर (ढुङ्गा) मूर्ति थियो । उनले लडाइँमा जाने बेलामा भाकल गरे –
“हे महिषासुर मर्दिनी, भगवती माते ! लडाइमा अंग्रेजलाई जित्न सक्ने शक्ति प्रदान गर्नुहोस् । लडाइँ जितेपछि आएर गुहेश्वरीमाताको जस्तै ठूला मन्दिर बनाउने छु र इन्द्रजात्रासरिनै हरेक साल सिन्दूरे जात्रा चलाउने छु ।”
उजिर सिंह थापाले माथागढी, नुढाकोटगढी, काठेगढी, बुटोलगढी आदिमा युद्धका लागि मोर्चा कसे । “युद्ध हतियारले होइन, विचारले लड्ने हो” भन्ने मान्यताका साथ उनले गढी, कोट, किल्ला, थुम्को बांधहरूमा छलियुद्ध गर्न थुप्रै नक्कली रणनीतिहरू तयार गरे । उजिर सिहसँग नेपाली, गोर्खाली र पाल्पाली गरी बाह्न पल्टन फौज थिए भने अंग्रेजहरूसँग हातहतियारले सुसज्जित, बन्दूक, बारुद, मोर्टार गन सहितका चारहजार सैनिकहरू थिए । बुटोलगढी भन्ने ठाउँमा घोर घमासान लडाइ भयो । दुईदुई पटक नेपाली सेनाले अंग्रेजहरूलाई लज्जाजनक रुपमा हराएर पठायो । संसार जित्ने अंग्रेजलाई उजिरसिंहले लडाइमा हराएकोले त्यस ठाउँलाई खुशीयालीमा जितगढी भनियो । नेपाल अंग्रेज युद्धमा धेरै ठाउँमा नेपालको हार भयो । नेपालले अंग्रेजलाई जितेको एकमात्र लडाइ यही जितगढीको हो ।
जितगढी अहिले बुटबलमा पर्दछ । लडाइमा वीर नेपाली सपूतहरू पनि मारिए । नेपालीहरु भन्दा अंग्रेजहरू धेरै मारिए र उनीहरूको धेरै क्षति भयो । अंग्रेजहरूका लडाइ नायक जनरत सुलेमान उड नालायक र कातर सावित भए ।
लडाइँ सकिएपछि भाकल अनुसार उजिरसिंहले भगवतीको विशाल मन्दिर बनाए । काठमाडौँबाट कालिगढहरू आए । प्रस्तर शिलाको मूतिलाई गर्भ मै राखेर अष्टधातुमा अठार बाहुकी भगवतीको मूर्ति स्थापना गरी नेपाली तले प्यागोडा शैलीमा मन्दिर बनाइयो । यो मन्दिर बनाउन छ वर्ष लाग्यो । सुनको गजूर राखियो । मन्दिरको नाम रणउजिरेश्वरी भगवती भनेर राखियो । आमा रण कुमारीको नाममा मूलघण्ट चढाए । आफ्नो तरवार भगवती मातामा अर्पण गरे ।
पूजा गर्न पाटनबाट पूजारी र जात्रा चलाउनको लागि भादगाउँबाट जात्रा व्यवस्थापक फिकाए । मन्दिरमा नित्य पूजा र जात्रा चलाउनको लागि गुठीको बन्दोबस्त गरिदिए । त्यसपछि वि.स. १८७७ देखि राष्ट्रिय अदवका साथ जात्रा चलाउन शुरु गरे । जुन जात्रा अहिले पनि राष्ट्रिय स्वाभिमान र विजयोत्सवको रुपमा मनाइन्छ । भगवती जात्रा पछि उनले तानसेनमा नारायण जात्रा, गणेश जात्रा, भिमसेन जात्रा निकाल्ने चलन चलाए ।
दश वर्षसम्म उनी पाल्पामा तैनाथवाला भएर रहँदा आर्थिक, सामाजिक, सांस्कृतिक, जङ्गी तथा निजामति क्षेत्रमा थुप्रैनै सुधारहरू गरे । अन्तमा पाल्पा गौंडाको रखवाली गर्दागर्दै बढी धपडी हुन गई औलो रोग लागेर उनी थलिए। उपचार गर्न उनलाई काठमाण्डौ लगियो तर निको भएन् । उन्तीस वर्षे कलिलो उमेरमै वीर कर्णेल उजिर सिंह थापा परमधाम गए। उनको दाहसंस्कार काठमाण्डौ आर्यघाटमा भयो । वीर उजिर सिंहको भाकल अनुसार, अंग्रेजलाई जितेको विजयोत्सवको सम्झना गर्दै महिषासुर मर्दिनी भगवतीको आशिर्वाद सहितको अपूर्वशक्ति प्राप्त गर्नका लागि हरेक वर्ष भााद्र कृष्ण नवमीको दिन भगवतीमातालाई खटमा विराजमान गराइ बजार परिक्रमा गराइन्छ । यसरी दैवी शक्तिको आशिर्वाद लिदै, वीर उजिर सिंहलाई सम्झदै, इतिहास, संस्कृति र परम्पराको जगेर्ना गर्दै स्वाभिमान र गौरवमा साथ चन्द्रसूर्य अंकित झन्डा पहराउँदै राष्ट्रिय पर्वको रुपमा भगवती जात्रा मनाइन्छ ।
“छोटकरीमा उजिरसिंहको कथा यतिनै हो नाति” हजुरबुवा ले यसो भनिरहँदा नातीले भनिहाल्यो,” हजुरबुवा हजुरले भनेको सबै कथा मैले कापीमा लेखिसकें । भोलि स्कुल गएर साथीहरूलाई पनि सुनाउँछु मैले ।”
” स्याबास नाती स्याबास ! यस्तो सत्यकथा सुनाउँदा हाम्रो इतिहास र संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रवद्धन हुन्छ ।”
हजुरबुवाले नातीलाई धाप मार्दै भन्नुभयो ।
साभार :अपूर्व दर्शन ( २०७८), लेखक : पुष्कर अथक रेग्मी