Sunday 22nd March 2026

रोल्पाका दिल बहादुरलार्इ साउदी जेलबाट छुटाउन ६७ लाख ब्लडमनी हस्तान्तरण


तितोपाटी –  दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि अावश्यक पर्ने रकम ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले तोकेको ६७ लाख रूपैयाँ ब्लडमनी बुधबार  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको छ । अब उनको रिहाइको लागि प्रक्रिया सुरू भएको छ । दिलबहादुर बचाउन ब्लडमनी संकलन भएपछि रिहाइका लागि प्रक्रिया सुरू गरिएको हो ।

अभियानका संयोजक दिपेश पुन, सचिव जीवन रोकामगर, दिलबहादुरकी पत्नी मनिका बुढाले मन्त्रीमार्फत हस्तान्तरण गरेका ब्लडमनी साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत मृतक साउदी नागरिकका परिवारलाई हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ ।

अभियानले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

‘एक जना नेपालीको दुःखमा सारा नेपालीले सहयोग गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘म दिलबहादुरको जीवन रक्षाका लागि अभियान सञ्चालन गर्ने र आर्थिक सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिन्छु ।’ उनले ब्लडमनी रकम साउदी अरब पुर्‍याएर दिलबहादुरलाई जति सक्यो चाँडो नेपाल ल्याउने बताए ।

सहयोग संकलन अभियान अन्त्य भएको घोषणा

यसैबीच दिलबहादुर बचाउन ब्लडमनी संलन अभियान मूल समितिले दिलबहादुरका लागि चालिएको सहयोग अभियान अन्त्य गरिएको घोषणा गरेको छ ।

बुधबार प्रेस वक्तव्य जारी गरेर सहयोगी सबैलाई धन्यवाद दिंदै अभियान अन्त्य गरिएको घोषणा गरेको हो । अभियानको क्रममा एक करोड चार लाख २६ हजार २२३ रुपैयाँ संकलन भएको अभियानले जानकारी गराएको छ ।

विदेश तथा स्वदेशका विभिन्न संघसंस्थाहरुबाट ५५ लाख ६० हजार २४१, विभिन्न व्यक्तिगत अभियान्ताहरुबाट ३३ लाख ७६ हजार ५९५, व्यक्तिगत सहयोगबाट नौ लाख २२ र गत वर्षको संकलित रकम पाँच लाख ८९ हजार ३६५ रकम संकलित भएको अभियानले सार्वजनिक गरेको छ ।
‘सहयोग अभियानको क्रममा विभिन्न देशमा सहयोग अभियान चलाउनुहुने महानुभावहरु, स्वदेशमा अभियान चलाउनुहुने महानुभावहरु र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ, ‘विशेष गरी वैदेशिक रोजगारीको क्रममा आफ्नो गास कटाएर सहयोग गर्नुहुने आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरुलाई धन्यवाद दिन चाहन्छौँ । यहाँहरुकै साथ र सहयोगले रोजगारीको क्रममा यहाँहरुसँग विदेशमा रहनुभएका दिलबहादुर घर्तीको जीवन रक्षा निश्चित भएको छ ।’

अभियानले संकलित मध्य बचेको रकम विशेष कोष बनाएर राख्ने घोषणा गरेको छ । अभियानले ब्लडमनी अभावमा विदेशका विभिन्न जेलमा रहेको नेपालीहरुको जीवन रक्षाका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...