“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
पञ्चाङ्ग-१
जब गयौ छोडेर जीवन नास भयो
अझै फर्कि आउँछौ भनेर आस भायो
कुर्दै आखाँ योछ्याइ बाटोमा राख्दै यहाँ
उता अर्को फेरेर आन्दको बास भयो
मरो आज शरीर जिउँदो लास भयो।
पञ्चाङ्ग-२
परेछु कसरी म हेर शिकारीको जालमा आज
खेलाडी रहेछ नि मनसँग खेल्ने खालम आज
बचाउँछु भन्ठानेको मैले ब्याधाबाट आफूलाई
सकिएन के गर्औं म परिसकेछु कालमा आज
नाच्न तयार हुनुपर्ने रे म उस्कै तालमा आज ।
पञ्चाङ्ग-३
नरोइकनै बस्नु हजुर साथ छोड्दैछु आज
खाएका सबै कसम अनि बाचा तोड्दैछु आज
दिन सकिन साथ जीवन भरि हजुरलाई मैले
पराइ मन पर्यो, उ सँगै नाता जोड्दैछु आज
धनैले जित्यो मन पाहिला उतै मोड्दैछु आज।
पञ्चाङ्ग-४
थियो देब्रे पाटो नै मेरो यहाँ टोकेकोे तिमीले
त्यतिले चित्त नबुझेर किला ठोकेको तिमीले
रित्तयाएर आफूलाई नि सुम्पेको सबै कुरा
अन्तै जानलाई पो हो ? म प्रति रोकेको तिमीले
खुसी हुनलाई रैञछ बिकल्प बोकेको तिमीले ।
पञ्चाङ्ग-५
रामापिथेकसदेखि उत्पति रहेको मान्छे
आजको अत्याधुनिक सम्म भएको मान्छे
नरवानर भएरै पनि होला आज यस्तो
फेरि नि जंगली युग तर्फ नै गएको मान्छे
विवेकहिन भएसि वानर कहेको मान्छे ।
पञ्चाङ्ग-६
मस्त हुँदा गफमा तिमी उता, म यता रुन्छु आज
तिम्रो याद पखाल्न आफूलाई आँसुले धुन्छु आज
लुटेर लगेको मन मस्तिष्क उपहार तिमीलाई
केही छैन अरु मसँग, तिम्रो तस्बिर छुन्छु आज
बियोगमा बाँच्नु भन्दा बरू मैले मृत्यु चुन्छु आज।
पञ्चाङ्ग-७
सृष्टि धान्ने संसारको आज सम्म नारी हो
सहनसिलताको प्रतिक फूलबारी हो
आमा,दिदी र श्रीमती आखिर जो भएनि
लोग्ने मान्छेको सबै कष्टको भागेदारी हो
आपत र अप्ठ्यारो बिसाउने चौतारी हो ।
पञ्चाङ्ग- ८
यादले मेरो हरेक पल सताउनेछ तिमीलाई
रहेछ कति महत्त्व हेर बताउनेछ तिमीलाई
तुच्छ लाग्यो समीप रहँदा तिम्रो हरेक क्षणै भरि
अब कसले अगाध माया जताउनेछ तिमीलाई ??
पश्चातापको ओगोले सधैँ तताउनेछ तिमीलाई ।
पञ्चाङ्ग-९
नौ डाँडा पारी गएको मान्छे फर्कन्छ फर्कन्न होला
फर्केर यता आएछ भने तर्कन्छ तर्कन्न होला
सम्झिए त माया दुबैको थियो नि अजर अमर
बिर्सेर फेरि लगाको माया झर्कन्छ झर्कन्न होला
यो छाति जस्तो उनको पनि चर्कन्छ चर्कन्न होला।
पञ्चाङ्ग-१०
थिएँ कपास कुनैबेला आज भाला बनायौ मलाई
अन्त्म श्रद्धाञ्जलीमा चढाउने माला बनायौ मलाई
परिवर्तन हुने रहेछ समय जस्तै मन पनि
उज्यालो दिदांदिदै फुटाएको पाला बनायौ मलाई
जुत्ता बनाउन उदारिएको छाला बनायौ मलाई ।
पञ्चाङ्ग-११
पैसा र समय सबैभन्दा छिटो चल्ने कुरा
मैन र मन हो सबैभन्दा छिटो जल्ने कुरा
जलाउनेलाई के थाहा हुन्छ होला र त्यहाँ
प्लास्टिक झै याहाँ मेरो जीउ छिटो गल्ने कुरा
पीडामा त आफ्नै छायाँले नि छिटो छल्ने कुरा।
पञ्चाङ्ग-१२
राम्रै थिए रावण पनि कुरा गुनका गर्ने भए
सुगन्ध थप्न यदि नै हो, सुनका कुरा गर्ने भए
मारिय निर्दोष चर्किँदा युद्ध रणसंङ्ग्राम भरी
अनि आफन्तै बैरी बन्दै छेक थुनका गर्ने भए
आज कुरा गर्ने बाटो राबण खुनका गर्ने भए।
पञ्चाङ्ग- १३
रङ्गीन यो चाडमा मिलेर खेलौं होली अब
फेरि यस्तै दिनहरू नआउला भोली अब
सधैँ यो मिलन नहुन पनि सक्छ नि हैन
नदुखाउँ चित्त कसैको नराम्रो बोली अब
जिन्दगी बिताउँ राम्रो सातै रङ्ग घोली अब ।
पञ्चाङ्ग-१४
शिशिरमा आकाश रुँदा हिउँ झर्ने रहेछ
ओभाउन चर्को त्यो घाम लाग्नु पर्ने रहेछ
सम्झनु नि सधैँ एकनास हुँदैन समय
गर्मि सहने पनि त्यो चिसोमा मर्ने रहेछ
सुख र दुःखले त पालोफेरो गर्ने रहेछ।
पञ्चाङ्ग-१५
यो माया त चुलेसीको धार हो, दिनहँ रेटि रहेछ
त्यो धारको रेटाइले मुटु भित्र सम्मै भेटि रहेछ
हुँदैमा टाढा नहुने गाढा होइन भन्ठानेको मैले
खै कुन शक्तिले मेरो याद उनलाई मेटि रहेछ
साँचो र चोखो माया बिर्सन सक्ने कस्तो केटी रहेछ।
पञ्चाङ्ग-१६
जोडि जस्तै परेवाको हुने रहर जिन्दगीमा
घोलिदियो नि मेरो कसैले जहर जिन्दगीमा
डाह लाग्छ अरू खुसी र आनन्द भएको देख्दा
आफ्नो त सधैँ पीडाको मात्र लहर जिन्दगीमा
आफै जन्मेको विरानो लाग्छ शहर जिन्दगीमा ।
पञ्चाङ्ग- १७
खोजेर पनि पाउन नसक्ने गरि हरायौ तिमी
नुन छर्किए झैँ त्यो आलो घाउमा नि चर्यायौ तिमी
सम्हालेर राखेको थिएँ मनको कुना भित्रै मैले
बस्न खोज्दै थियौ तर किन नि फेरि डरायौ तिमी ?
पाएसि अर्को अधर्मी छु रे म भन्दै करायौ तिमी।
पञ्चाङ्ग-१८
फाल्नुपर्ने कुहिएको फोहोरको डंगुर हेर
नालिमा मात्र पौडने यो जमात बंगुर हेर
के भन्नु खै, यस्ता नरपशुलाई नेता भनेर
मातृभूमि नि बेच्ने धनको लागि लंगुर हेर
के भाञका कार्यकर्ता फेरि मान्दछन् अंगुर हेर ।
पञ्चाङ्ग- १९
एक्लो बनाएर मलाई तिमीले किन छोड्यौ प्रिय??
दिनरात डुबाई आँसुमा अन्तै नाता जोड्यौ प्रिय
सकेको छैन हाँस्न , कुनै पल बाँच्न म यहाँ हेर
आँखा बन्द गर्दै किन सबै हाम्रा बाचा तोड्यौ प्रिय?
साँचो माया नचिनि तिमीले आज बाटो मोड्यौ प्रिय।
पञ्चाङ्ग-२०
असफलता चिरेर सफलता सजाउन पाउँ
आफ्नो यो नाम सदा दुनियाँलाई भजाउन पाउँ
वितेका बर्षहरू दुःख र कष्टले घेरेर सके
अबका दिनमा त कष्टलाई नै कजाउन पाउँ
सुख र सम्बृद्धिको बिगुल बाजा बजाउन पाउँ ।
✍️रामराजा के.सी. काठमाडौं ।