Monday 22nd December 2025

राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको भन्दै तीन सदस्यीय जाँचबुझ समितिसमेत गठन गरिएको हो ।

जाँचबुझ समिति गठन भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ५ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरुको पदमुक्त सम्बन्धि व्यवस्था राखिएको छ ।

मन्त्रिपरिषदले गभर्नरलाई पदमुक्त गर्दा जाँचबुझ समिति गठन गर्ने व्यवस्था ऐनमा छ । ‘राष्ट्र बैंकको उद्देश्य हासिल गर्नका लागि बैंकले गर्नुपर्ने काम नगरेको, कार्यक्षमता अभाव भएमा, मुलुकको बैंकिङ तथा वित्तीय व्यवस्थामा हानी नोक्सानी पुग्ने कार्य गरेमा, बैंकको काम कारबाहीमा बेइमानी र बदनियत गरेको देखिएमा, वा खराब आचरण भएमा पदमुक्त गर्न सक्ने’ व्यवस्था ऐन रहेको छ ।

जाँचबुझ समितिको गठन गर्दा सर्वोच्च अदालतका अवकासप्राप्त न्यायाधीशलाई अध्यक्ष र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुबाट २ जना सदस्य रहनेछन् ।

२०७६ चैत २४ गते केपी ओली नेतृत्वको सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । डा.चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल पूरा गरेर विदा भएसँगै रिक्त रहेको पदमा तत्कालिन ओली नेतृत्वको मन्त्रिपरिषद्ले अधिकारीलाई गभर्नरमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...