Friday 25th September 2026

२८ करोड विगोको राजष्व छली मुद्दामा सर्वोच्चको आदेशपछि उमाशंकर राय भर २५ हजार धराैटीमा रिहा


२८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । राजस्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर ११ महिनादेखि बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि सर्वोच्चको आदेशमा उनी आज धरौटी तिरेर रिहा भएका हुन् । कर छलीमा संलग्न समूहले उनको नाममा कम्पनी खडा गरी करोडौँ रुपैयाँ राजस्व छली गरेको थियो ।

बारामा ऐलानी जग्गामा कच्ची घरमा बस्दै आएका रायभरले आफ्ना कागजात र हस्ताक्षर दुरुपयोग भएको बताए पनि गत वर्ष फागुन १९ मा उच्च अदालत पाटनले उनीसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका उनलाई शुक्रबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार रुपैयाँ मात्र धरौटी स्वरूप माग गर्ने आदेश गरेको थियो । रायभरका तर्फबाट अधिवक्ताहरू राधिका खतिवडा, टीकाराम भट्टराई, सुनील पोखरेल, जनार्दन बन्जाडे र अन्जना अर्यालले निःशुल्क बहस–पैरवी गरिदिएका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले उनीहरूसँग ७५ लाख धरौटी माग गर्न आदेश गरेका थिए तर सर्वोच्चले भने आरोपितहरूबाट वास्तविक कारोबार नभएको भन्दै धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

विभागले रायसहित केही मजदुर तथा निम्न वर्गका व्यक्तिमाथि करोडौँको राजस्व चुहावट गरेको आरोपमा उच्चमा मुद्दा दायर गरेको थियो । १ पुस ०७७ मा उच्चमा दायर यो मुद्दा विचाराधीन छ। रायसहित यस मुद्दामा ११ जना विपक्षी छन्। उनीहरूको नागरिकतालगायत कागजात दुरुपयोग गरी नक्कली कम्पनी खडा गरेर करोडौँको राजस्व छली भएको देखिएपछि विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

-नया पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...