Wednesday 20th May 2026

परदेशबाट घर फर्किनेहरुको दसैं कोसेलीः टिभी, मोबाइल र ब्ल्यांकेट


तितोपाटी- दसैं घरआँगनमा प्रवेश गरिसकेको छ। परिवारजन र आफन्तसँगै बसेर वर्षभरीका दुःखपीडा बिर्सिँदै दसैं मनाउन परदेश गएकाहरू फर्कन थालिसकेका छन्।

यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा परदेशी र आफन्तहरूको मिलनको दृश्य देखिन थालेको छ। त्यही दृश्यभित्र भेटिए गुल्मीका दीपक पौडेल। कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) गएका उनी चार वर्षपछि फर्किएका हुन्। तीन वर्षको दसैं युएईमै मनाएको उनले बताए।  ‘त्यहाँ पनि दसैं मनाइयो। नेपालको जस्तो त के हुन्थ्यो। तर पनि साथीभाइसँग खाइयो, बसियो। नेपालमा टीकाको दिन बिदा लिएर रमाइलो गरियो त्यही नै हो,’ उनले भने।  यो पटक परिवारसँगै दसैं मनाउन आइपुग्दा उनी निकै हर्षित छन्। उनी कोसेलीको भारी पनि बोकेर आएका छन्। उनले घरका लागि ब्ल्यांकेट र आमाका लागि मोबाइल ल्याएको बताए।  ‘आमाले भिडिओ कल गर्ने मोबाइल ल्याइदे भन्नुभएको थियो। अरू त त्यस्तै खत्र्याकखुत्रुक सामान छ,’ उनले आफ्नो कोसेलीको पोकोबारे हाँस्दै सुनाए। कतारबाट धरानका जितबहादुर गुरुङ पनि दसैं मनाउन फर्किएका छन्। उनलाई कम्पनीले दुई महिनाको बिदा दिएको छ।

‘अब तिहार र छठपछि मात्रै फर्किने हो। जे होस् कम्पनीले चाडवाडको समयमा बिदा मिलाइदियो। निकै खुसी लागेको छ,’ उनले भने।रोजगारीका लागि पहिलोपटक कतार पुगेका उनले यसअघि पनि परिवारसँगै बसेर दसैं मनाउँदै आएका थिए। ‘परदेशमा त दसैं पनि कति खल्लो हुँदो हो भनेर तनाव लागिरहेको थियो। ठ्याक्कै बिदा पनि मिल्यो,’ उनले सुनाए।  जितबहादुरले कतारबाट एलइडी टिभी र ब्ल्यांकेट ल्याएका छन्। ‘श्रीमतीका लागि आइफोन पनि ल्याइदिएको छु,’ उनले भने, ‘परिवारको खुसीकै लागि भनेर त परदे। श गएको। भनेको कुरा सबै ल्याउन त सकिँदैन, सकेजति त ल्याउनै पर्‍यो।’
उनी कतारमा सुपरमार्केटमा सेल्स ब्वाइका रूपमा कार्यरत छन्। दुई महिनाको बिदापछि फेरि सोही कम्पनीमा फर्कने उनले बताए।
पाल्पाका बटुक ज्ञवालीले पनि दसैंमा परिवारका लागि टन्न कोसेली लिएर फर्किएका छन्। उनी कतारबाट करार अवधि सकाएर फर्किएका हुन्।
अब भने आफ्नै देशमा केही गर्ने सोच लिएर फर्किएको उनले बताए।
‘सोचेजस्तो हुने भयो भने अब यतै केही गरौं भन्ने छ। हेरौं के हुन्छ,’ उनले भने।उनी विगत आठ वर्षदेखि कतारमा मजदुरी काम गर्दै आएका थिए।

‘कमाइ पनि त्यति साह्रो राम्रो होइन,’ उनी भन्छन्, ‘तर यहाँ त्यति कमाउने काम पनि नपाइने, अनि के गर्नु? जानै पर्‍यो।’
अब भने गाउँमै बाख्रापालन गर्ने उनको सोच छ। सरकारबाट सहुलियत पाए दसैंलगत्तै काम सुरू गर्ने उनी बताउँछन्।
उनले दसैंमा कतारको कोसेली केटाकेटीलाई चकलेट र ब्ल्यांकेट नै ल्याएको बताए। ‘त्यहाँको ब्ल्यांकेट चिनो पनि हुने, त्यही छ। यसो केटाकेटीलाई चकलेट छ। यस्तै हो हजुर। धेरै खर्च गर्न सकिँदैन। थोरै बचाउन पनि पर्‍यो,’ उनले भने। नेपाल राष्ट्र बैंकको एक अध्ययनले पनि नेपालीहरूले विदेशमा कमाएको रकमको २५ प्रतिशत हिस्सा ऋण तिर्न र अरू दैनिक उपभोग्य तथा विलासिताका वस्तुमा खर्च हुने देखाएको छ। अध्ययनअनुसार बचत भने निकै कम हुने देखिएको छ।
उक्त अध्ययनअनुसार नेपालीहरूले जम्मा रेमिट्यान्सको २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा खर्च गर्छन्।
९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत सामाजिक कार्य र ३ प्रतिशत घरायसी सम्पत्ति किन्नमा खर्च गर्ने देखिएको अध्ययनले देखाएको छ। विदेशबाट ल्याएको रेमिट्यान्सको जम्मा १.१ प्रतिशत मात्रै उत्पादनमूलक क्षेत्रमा खर्च भएको पनि अध्ययनले देखाएको छ।
तर श्रम तथा आप्रवासन विज्ञहरूले भने नेपालीहरू जीविकोपार्जनकै लागि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेकाले यसलाई सामान्य मान्दै आएका छन्। यो समचार निर्मला घिमिरेले सेतोपाटीमा लेखेकीछिन।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...