Thursday 2nd May 2024

नारायण कोइरालाको लघुकथा ‘बा र म’ को शल्यक्रिया


खेमराज पोखरेल – पाल्पा तानसेनका लघुकथाकार नारायण कोइराला हाल युएईमा वैदेशिक रोजगारीमा छन् । उदियमान लघुकथाकार कोइरालाको यो ‘बा र म’ शीर्षकको लघुकथा सेतो मसी अनलाईनमा भदौ २२, २०७८ मा प्रकाशित भएको थियो । सोही लघुकथामा केही शल्यक्रियात्मक प्रतिक्रिया लेख्दैछु ।

लघुकथाको उठान ः
‘आज बाको मुख हेर्ने दिन। धेरै वर्षदेखि म बाबाको मुख खाली हात हेर्दै थिएँ। हामी सन्तुष्ट थियौँ । न त बाले मलाई उपहार नदिएकोमा गुनासो गर्नुहुन्थ्यो। म पनि मुखसम्म हेर्न पाएकोमा खुसी थिएँ ।’ भन्ने वाक्यबाट लघुकथाको उठान भएको छ । खाली हात बाबाको मुख हेर्दै गरेको कथानकले कौतूहल जन्माएको छ । त्यसपछिको अर्को वाक्यले बाबाछोराका बीचमा कुनै गुनासा नभएको र खुसी भएको प्रसङ्गले उठान दर्बिलो भएको छ ।

लघुकथाको विकासः
‘यसपाली बालाई राम्रै उपहारको बेबस्था गरँे। बा भने मेरो उपहारसँग अनविज्ञ हुनुहुन्थ्यो । मुख हेर्ने दिनकै लागि उपहार सस्पेन्स राखें।’ भन्ने वाक्यले लघुकथाको कथानकलाई अगाडि बढाएको छ । यो पल्ट छोरो बाबुलाई मुख हेर्न उपहारको व्यवस्था गरेको छ । उपहार पनि सस्पेन्समा राखेको छ । त्यसैले यो वाक्यले लघुकथाको कथानक विकासका लागि महत्त्पूर्ण भूमिका खेलेको छ ।
तर यो खण्डमा माथि उल्लेखित गरिएका दुई वाक्यमा दोस्रो वाक्यले लघुकथालाई विस्तार गर्न खोजेको छ, जुन लघुकथा लेखनको बाधा हो । बुबा उपहारसँग अनभिज्ञ हुनुहुन्थ्यो भनेपछि पछिल्लो वाक्य उपहार सस्पेन्समा राखेँ भन्नु पर्दैनथ्यो । किनकि यी दुवै वाक्यले एउटै अर्थ दिन्छन् ।

लघुकथाको उत्कर्ष ः
‘बिहानै विदेशबाट फोन गर्दा ,“उपहार लिएर साथी घरमा पुगिसकेको थियो। फोन गर्दा बाले मेरो उपहार र आफ्नो अनुहार देखाउनु भयो। धेरैबेर हाँस्यौ , बोल्यौ। अनि भन्नुभयो – “अर्को वर्ष जसरी पनि घर आउनु पर्छ हैं।“ मैले हुन्छ बा! भनेको थिएँ।’ भन्ने वाक्यले कथानकलाई उत्कर्षमा पुर्याएको छ । यसरी कथानकलाई उत्कर्षमा पुर्याउँदा मूल रूपमा दुई महत्त्वपूर्ण सन्देश कथानकले दिएको छ । प्रथम त उपहार देखेर बुबा निकै खुसी हुनुभएको छ । छोरा पात्र पनि निकै खुसी भएको छ । खुसीको कारण पहिलो पल्टको उपहार हो । तर तत्क्षण नै कथानकले आफ्नो उत्कर्षलाई उचाईमा पुर्याउँदै बाबाले “अर्को वर्ष जसरी पनि घर आउनु पर्छ हैं।“ भनेको भनाइबाट महत्त्वपूर्ण उपहार त त्यो सामान होइन नि तँ परदेश लागेको छोरो घर आउनु पो हो भन्ने कुरा बुझिन्छ । जसले उपहार गौण र छोरो आउने कुरा प्रधान भएको उत्कर्ष बनाउँछ । यो उत्कर्ष एकदम चातुर्यले भरपूर छ ।

लघुकथाको ह्रासः
‘तर अहिले म घरमै भएपनि फोटोमै बाबाको मुख हेर्ने दिन मनाउँछु।’ भन्ने वाक्यले कथानकलाई ह्रास गरेर समापनतिरको कौतूहलको बाटो निर्माण गरेको छ । यो कुरा पनि लघुकथा लेखनको ज्यादै महत्त्वपूर्ण पक्ष हो । सामान्यतया लघुकथाकारहरू यो बुँदामा आएर विस्तार गर्न पुग्छन् । जसले लघुकथालाई बोझिलो बनाउँछ । तर यो लघुकथामा लघुकथाको ह्रास नियम मजाले अबलम्बन गरिएको छ ।
लघुकथाको अन्त्य ः
‘किनकि म विदेश छोडीसकेको छु भने बाबाले संसार ।’ भन्ने वाक्य लघुकथाको अन्त्य वाक्य हो । यो वाक्यले बाबाले महत्तवपूर्ण उपहार छोरो फिर्ता आउने आसलाई त्यागेर परमधामको यात्रा गरेको कुरा उल्लेख भएको छ । अन्त्यमा जति पैसा कमाए पनि बाबुले चाहेको छोरो घर फर्किने उपहार नपाएको विपर्यास परिवेश देखाएर वैदेशिक रोजगारीका पीडा, सन्तानमोह तथा विपरीत परिवेशको सिर्जना गरिएको छ ।

इम्प्रेसन ः उपरोक्त लघुकथा लघुकथाको सिद्धान्तअनुरूप लघु छ । जम्मा १२४ शब्द छन् । शब्दअनुशासनलाई गज्जबले स्वीकार गरिएको छ । कथानकमा संक्षिप्तता छ । याने कि आयाम पनि लघु छ । लघुकथामा हुनुपर्ने पात्रको संक्षिप्तता पनि छ । मूल रूपमा प्रमुख दुई पात्र छन् । थोरै पात्रको कथावस्तु लघुकथाको सौन्दर्य हो । लघुकथाको उठान मीठोसँग भएको छ । कथानकलाई चातुर्यले एकै घटनाका रूपमा मिलाइएको छ । लघुकथाका कथानकमा कम्तिमा दुई तादात्म्य भएका घटना हुनु जरुरी हुन्छ । यो लघुकथामा यस्तै तादात्म्य भएका दुई घटना छन् । पहिलो घटना म पात्रले आफ्नो बाबुलाई बिनाउपहार मुख हेर्ने गरेको र कुनै समस्या नरहेको देखाइएको छ भने अर्को घटनामा धनसम्पत्तिको पछाडि लाग्दा भौतिक उपहार त भएको तर बाबु गुमाएको वैदेशिक रोजगारीका पीडा देखाइएको छ । समापनमा देखिएको बाबुको मृत्युको कथानकले कथानकलाई कौतूहल बनाइदिएको छ । जुन लघुकथाको सबैभन्दा महत्त्वपूर्ण गुण हो । यो सुन्दर समापन हो । कौतूहल पनि छ । विपरीत भावमा समापन पनि छ । हठात अन्त्य पनि भएको छ । समग्रमा सुन्दर लघुकथाको निर्माण भएको छ ।


सम्बन्धित शीर्षकहरु

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

चीनको गुआङडोङ प्रान्तमा बुधबार राजमार्ग भत्किँदा १९ जनाको मृत्यु भएको देशको राज्य प्रसारक सीसीटीभीले जनाएको छ । गुआङडोङ प्रान्तको मेइझाउ…

प्रतिकृयाहरू
...