देशकै महत्त्वपूर्ण ओैद्याेगिक क्षेत्रकाे रुपमा रहेकाे प्रदेश नम्बर २काे बारा जिल्ला, निजगढ स्थायी ठेगाना भई हाल ललितपुर, नख्खुमा बसाेबास गर्नुहुने आदरणीय साहित्यकार समीर पाख्रिनले हाम्राे लघुकथा पाठशालामा आज मिति २०७८/५/३१ गते प्रेषित गर्नुभएको लघुकथा “रगतकाे मुल्य” पढेपछि मेराे मनमा आएका भावनाहरुलाई यहाँ पाेख्ने काेशिस गरेकी छु ।
साहित्यकार समीर पाख्रिनकाे एकाङ्की संग्रह “अनुगमन” २०७५ प्रकाशित भईसकेकाे छ भने पुर्णाङ्की नाटक “परिणति”प्रकाशाेन्मुख रहेकाे छ ।
विभिन्न पत्रपत्रिकामा कथा, कविता, मुक्तक, गजल,लेख,समिक्षा, एकाङ्की र पुर्णाङ्की नाटकहरु फुटकर रुपमा प्रकाशित भईरहेकाे मैले पाएकी छु ।बिरगंजबाट प्रकाशित हुने ” प्रतीक” दैनिकमा ” लभ इन बिरगंज ” नाटक साप्ताहिक रुपमा मैले पढदै आएकी छु भने हाम्राे लघुकथा पाठशालामा पनि मे २८,२०२०देखि जोडिनुभई नियमित लघुकथा प्रेषित गरिरहनु भएको छ । उहाँका कथाहरु यथार्थपरक र मौलिक हुन्छन् ।
उहाँले आज प्रेषित गर्नु भएको लघुकथा “रगतको मूल्य” आन्दोलनको बिषयमा लेखिएको कथा हाे । यस कथामा पात्रकोरुपमा हरिशरण लगायत आन्दोलनकारीहरु, बिशेष व्यक्ति, एक बिवाहित महिला र चिकित्सक रहेका छन् भने स्थान काठमाडौंका आन्दोलन गरिने स्थल र वीर अस्पताल रहेको छ ।
उग्रभिँड नियन्त्रण गर्न बिशेष व्यक्तिको लाठी चार्जकाे आदेश पछि धेरैको टाउकोमा प्रहरीको लाठो बर्सियाे र हरिशरणकाे टाउकोमा पनि नराम्ररी दुईपटक । सडकभरि रगतको आहाल भयाे । आन्दोलनकारी युवाहरूले उनलाई वीर अस्पताल पुर्याए । बेहाेस अबस्थाका उनलाई आकस्मिक कक्षमा अक्सिजन दिएर राखियो । रगतको आवश्यकता परेकाले चिकित्सकले आफन्त खाेजे । युवाहरूले हेराहेर गरे । आफन्त त के काेहि परिचित समेत थिएनन् । उनीहरू नुवाकोटबाट आन्दोलनमा भाग लिन आएका थिए ।उनका दौतरीहरु लाठीचार्ज र अश्रुग्यासले गर्दा तितरवितर भएर कता पुगे ।
साँझ परिसकेको थियाे । रगतदिन चारै युवाहरु तयार थिएँ । रगत दिइयाे । टाउकाको शल्यक्रिया गर्नुपर्ने भएकोले अस्पताल प्रशासनले आफन्त खाेज्याे । त्यहीं समयमा हरिशरणकाे माेवाईलमा घण्टी बज्याे ।
नजिकै उभिएका डाक्टरले फाेन उठाए र हालखबर सुनाए । केही क्षणमा साईरन बजाउदै प्रहरीको भ्यान आएर अस्पतालकाे गेटमा राेकियाे । एक बिवाहित महिला र विशेष व्यक्ति आकस्मिक कक्षमा प्रवेश गरे। डाक्टरबाट सबै घटना विवरण सुनेपछि ज्वाँईसाबलाई रगत दिएर ज्यान बचाउने व्यक्तिको खाेजी गरे ।डाक्टरले रक्तदातातिर इंगित गरे । महिलाले युवकतिर हात जाेडेर, रगत दिएर श्रीमान् काे ज्यान बचाईदिनु भएकोमा आभार प्रकट गरिन । बिशेष व्यक्तिले युवकहरुतिर नियाल्दै भने “रगतको मूल्य सडकमा हाेईन, अस्पतालमा थाह हुने रहेछ । थ्याङ्क यु भेरी मच ” यसरी कथाकाे अन्त्य भएको छ ।
प्रस्तुत कथामा कथाकारले हाम्राे देशमा आफ्ना मागहरु पूरा गर्न आन्दोलननै गर्नुपर्ने बाध्यता र शान्तिपूर्ण आन्दोलनमा पनि ठुला मान्छेहरुकाे आदेशमा प्रहरीको दमनहुने गरेकाे यथार्थलाई प्रस्ट पार्नुभएकाे छ । आन्दोलनमा जिल्ला जिल्लाबाट मानिसहरुलाई ओसार्ने, लाठीचार्ज र अश्रुग्यास प्रहारबाट घाइते हुँदा आफ्नासाथीहरू छुटेपनि अरुले भएपनि अस्पताल पुर्याउने गरेकाे घटनालाई मार्मिक ढंगबाट प्रस्तुत गर्दै नेपालीको मानवीय स्वभावकाे चित्रण गर्नुभएको छ । अर्कोतर्फ बिशेष व्यक्तिको ज्वाँईसाहेब भएकोले खबर पुग्नासाथ घाइतेको श्रीमती र बिशेष व्यक्ति उनै प्रहरीको गाडीमा चढेर अस्पताल पुगेका छन् जसबाट आफ्नोमान्छे ठुलाे ओहाेदामा हुँदा जतासुकै सुबिधा पाईने र सर्वसाधारणको लागि केही नपाईने तर्फ कथाले इंगित गरेकाे छ । कथाकारले आन्दोलनको यथार्थपरक विश्लेषण गर्दै सडकमा भन्दा अस्पतालमा रगतको मूल्य थाह हुने सत्यलाई मार्मिक ढंगले प्रस्तुत गर्नु भएको छ ।
बिशेष व्यक्तिले आफ्नै निर्देशनमा गरिएको लाठीचार्ज र अश्रुग्यास प्रयाेगमा घाइते भएका आफ्नु ज्वाँईलाई बचाउने आन्दोलनकारीहरुलाई “थ्याङ्क यु भेरी मच ” भनेका छन् । मानौं उनी नेपाली नभएर बिदेशी हुन् ।यसबाट हाम्राे देशमा टाउकेहरु पदमा पुगेपछि नेपाली हुँ भन्ने पनि बिर्सन्छन् भन्ने व्यंग्य गर्न सफल हुनुभएको छ कथाकार ।
कथा सरल, सुबाेध्य र मार्मिक छ । नेपालीको नियति प्रस्ट पारेकाे छ । बिषयभाव राम्रो र समापन कारुणिक छ ।
३४५ शब्दमा लेखिएको कथा पढदै जाँदा अत्यन्तै अनावश्यक रुपमा तन्किएकाे महसुस हुन्छ । अनावश्यक रहेका वाक्य र शब्दहरुलाई छाेट्याउदा कथा अति राम्रो हुनेछ भन्ने मलाई लाग्छ ।
अन्त्यमा, साहित्यकार समीर पाख्रिनकाे साहित्यिक यात्रा अनवरत चलिरहाेस् । विभिन्न बिधाका पुस्तकहरु प्रकाशित भईरहुँन । सधैंभरि लेखरचनाहरु पढन पाइयाेस भन्दै उहाँको सुस्वास्थ, दिर्घायु तथा अटल श्रीबृध्दिकाे शुभकामना व्यक्त गर्दछु ।
-बन्दना घिमिरे
लघुकथा : रगतको मूल्य
समीर पाख्रीन
उग्र भीड नियन्त्रण गर्न विशेष व्यक्तिको लाठी चार्जको आदेशपछि धेरैको टाउकोमा लाठी बर्सियो । हरिशरणको टाउकोमा पनि नराम्ररी दुई डण्डा बज्रियो । टाउको फुटेर रगत सडकमा ह्वालह्वाल्ती बग्यो । नजिकैका आन्दोलनकारी युवाहरूले उसलाई हतार हतार बाइकमा बसाएर अस्पताल पुर्याए । रगत निकै गएकोले हरिशरण वेहोश अवस्थामा थियो । आकस्मिक कक्षमा हरिशरणलाई अक्सिजन दिएर राख्ने काम भयो । उपचारको क्रममा चिकित्सकले भने ” रगत दिनु पर्ने भो । बिरामीको आफन्त को हुनुहुन्छ ? ”
युवाहरू परस्पर हेराहेर गरे । उनीहरू हरिशरणका परिचित थिएनन् । उनीहरू नुवाकोटबाट आन्दोलनमा भाग लिन आएका थिए । हरिशरणका दौँतरीहरू लाठी चार्ज र अश्रुग्यासको पिरो धुँवामा तितरवितर भएकाले उनीहरूले थाहा पाएनन् सायद ।
०००
साँझ झमक्क परिसकेको थियो ।
रगत दिन चारै जना युवाहरू तयार भए । भाग्यवश, एक जनाको त ब्लडग्रुप मिल्यो पनि । रगत दिने काम भयो ।
टाउकोको सामान्य शैल्यक्रिया गर्न पर्ने भएकोले अस्पताल प्रशासनले आफन्त खोजीरहेको थियो ।
यत्ति नै बेला हरिशरणको खल्तीको मोबाइलमा घण्टी बज्यो । नजिकै उभिएका डाक्टरले हरिशरणको खल्तीबाट फोन झिक्यो र उठायो ” हेलो ! ”
” हरि तिमी यतिञ्जेलसम्म घर किन नआएको भन त ? ” उताबाट महिलाको सुरिलो स्वर सुनियो । सायद हरिशरणकी पत्नी हुनुपर्छ ।
” क्षमा गर्नु होला, मोबाइल हरिशरणजी कै भए पनि म हरिशरण परिनँ । कुरा के भने ……..” डाक्टरले संक्षेपमा सबै घटना विवरण सुनाए पछि फोन काटियो ।
केहीक्षण मै सायरन बजाउँदै एउटा प्रहरी भ्यान अस्पतालको गेट अगाडि आएर घ्याच्च रोकियो । एकजना विवाहित महिला उहीँ विशेष व्यक्तिसित भ्यानबाट ओर्लि अनि आकस्मिक कक्षमा प्रवेश गरी । ड्युटीमा खटिएका डाक्टर नर्सहरू उनीहरूलाई देख्न साथै सतर्क भए । डाक्टरबाट घटना विवरण सुनेपछि त्यस विशेष व्यक्तिले ज्वाइँसापलाई रगत दिएर ज्यान बचाउने को रहेछ भनी यताउता खोज्दा डाक्टरले रक्तदातातिर इंगित गर्दै भने ” उहाँ, भाइ हुनुहुन्छ रक्तदाता । ”
युवाहरू सबैले टाउकोमा कालो रूमाल बाँधेका थिए । महिलाले युवकतिर हात जोडिन् अनि भनीन् ” रगत दिएर मेरो श्रीमानको ज्यान बचाईदिनु भयो । यो गुण हामी कहिल्यै विर्सने छैनौ । ” विशेष व्यक्तिले युवकहरूतिर राम्ररी नियाले अनि थपे ” रगतको मूल्य सडकमा होइन अस्पतालमा थाहा हुने रहेछ । थैक्यू वेरी मच् । ”
०००